
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कूलडाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ ।
बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा राखेर विद्यालय परिसर घुमाउँदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
वडा अध्यक्ष फेउदिन, वडा सदस्य टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु लुइँटेल र वडासचिव पुष्पलाल पाण्डेले विद्यालयका प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् ।
विद्यालयलाई वडाले अटो रिक्सा दिएपछि आउने शैक्षिक सत्रमा विद्यार्थीको चाप बढ्ने वडा कार्यालय र विद्यालय प्रशसनको ठम्याई छ ।
सम्झना चोक, डाँडागाउँ, मुसहर बस्ती, बिहानी चोक, कञ्चन टोल, बुद्धचोक, पगरी टोल, गुराँस चोक लगायत टाढा टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा आउन र गन्तव्यसम्म पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक तारा लावतीले बताइन् ।
विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उनको भनाई छ ।
विद्यालयले विद्युतीय अटो रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक अभिभावकलाई जिम्मा दिने भएको छ । उनले विद्यालयमा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई विद्यालय सम्म ल्याउने र छुट्टी भएपछि घरसम्म पुर्याउने जिम्मेवारी पाएका हुन् ।
विद्यार्थी ओसारे बापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताइन् । ‘बिहान बेलुका विद्यार्थी बोक्नुहुन्छ, दिउँसो यात्रु बोक्नु हुन्छ’ प्रधानाध्यापक लावतीले भनिन्, दिउँसो यात्रु बोके बापत उनले विद्यालयलाई दिनहुँ ३०० भुक्तानी गने सहमति छ ।’
विद्युतीय अटो रिक्सा चालकले दिएको दैनिक ३०० रुपैयाँबाट हुने बचतले विद्यालयमा एक जना निजी शिक्षक नियुक्ति गर्ने विद्यालय प्रशासनले योजना बनाएको छ । नर्सरीदेखी कक्षा १ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङग्रेजी माध्यमबाट अध्यापन हुने भएको छ ।
आदिवासी, जनजाति, सन्थाल र दलित समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यार्थी संख्या वृद्धि हुने वडा अध्यक्ष फेउदिनले बताए । उनका अनुसार टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको हो ।
उनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारी साधनले सहयोग पुग्ने जनाए । वडाले विद्युतीय अटो रिक्सा विद्यालयलाई उपहार दिएपछि स्थानीय अभिभावक पनि मक्ख परेका छन् ।
उनीहरूले अब, बोर्डिङ स्कूलबाट आफ्ना नानी निकालेर अरुणोदयमा भर्ना गर्ने बताए । स्थानीय भीमा राईले भनिन्, ’अघि नानीलाई बोक्ने गाडी थिएन र बोर्डिङमा पठाए । अब विद्यालयमा विद्युतीय अटो रिक्सा आएपछि आफ्नै गाउँको विद्यालयमा मेरी छोरी पढाउँछु ।’
सो विद्यालयमा ५ महिना अघिमात्र तारा लावती प्रधानाध्यापक पदमा नियुक्त भएकी हुन् । उनी प्रधानाध्यापकमा नियुक्त भएपछि विद्यालयको स्वरूप परिवर्तन हुन थालेको छ । शिक्षक शिक्षिकाको टिमवर्क मिल्यो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने उनले बताउन् ।
‘म एक्लै केही होइन । अभिभावक, शिक्षक र दाताको सकारात्मक सोचले विद्यालयको गुणस्तर सुधार गर्न सकिने रहेछ । उनको नियुक्ति पछि १० जना विद्यार्थी थपिएका छन् ।
लावतीले विद्यालयका अक्षयकोष पनि स्थापना गरेकी छन् । गएको तिहारमा देउसी खेलेर अक्षयकोषको स्थापना गरेको उनले बताइन । देउसीको अलावा केही दाताले पनि विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।