२०८१ पौष १२, शुक्रवार , ०४:४३:४० बजे

Sajhamanch
'

मुख्यसचिव अर्याल अख्तियारको उच्च निगरानीमा

आइतवार, फागुन २०, २०८०

काठमाडौं । चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ ।

निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आइतबारसम्ममा आफ्नो भूमिकाबारे सोच्न अख्तियारले मुख्यसचिव अर्याललाई सुझाव दिएको उच्च स्रोतले बतायो ।

‘बहालवाला मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दामा लैजाँदा गलत सन्देश प्रवाह हुने भयो, समग्र निजामती सेवाप्रति नै नकारात्मक धारणा बन्ने भएकाले हामीले सकेसम्म आफ्नो भूमिकाबारे विचार गर्नुहोस् भनेको हो’ अख्तियार स्रोतले भन्यो, ‘आइतबारसम्म पर्खन्छौं । नभए कुनै निर्णय गरेर अघि बढ्नुपर्ला ।’

मुख्यसचिव अर्यालमाथि नियमित निगरानी गरिरहेको अख्तियारले उनी माथिको अरु उजुरीमा पक्राउ गर्नुपर्ने अवस्था आउन सक्नेसम्मको सन्देश दिएको छ ।

मुख्यसचिव अर्याल लगायतका मन्त्रीहरु संलग्न भएको टेरामक्स खरिद प्रकरणको अनुसन्धानसमेत अख्तियारले अन्तिम चरणमा पुर्याएको छ ।

उच्च स्रोतका अनुसार, गतसाता मात्रै मुख्यसचिव अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए । त्यतिबेला नै ‘एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएको मुख्यसचिव पदमा रहदा गलत सन्देश जाने’ भन्दै अख्तियारका पदाधिकारीहरुले उनलाई निकास दिन सुझाव दिएका थिए । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीमार्फत समेत उहाँलाई त्यो सन्देश प्रवाह भइसकेको छ ।’

टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिद सम्बन्धी अनियमिततामा मुख्यसचिव अर्यालसहित तीन पूर्वमन्त्रीहरु जोडिएका छन् ।

सम्बन्धित खबर