२०८१ पौष २७, शनिवार , ०६:०४:०२ बजे

Sajhamanch
'

अनेम संघको इतिहास, उद्देश्य, लक्ष्य र समसामयिक राजनीतिका विषयमा झापाली महिलालाई प्रशिक्षण

बिहिवार, फागुन १७, २०८०

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापा जिल्ला कमिटीले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज बिर्तामोडमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेकपा एमाले झापा जिल्ला कार्यालयमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अनेम संघको इतिहास, उद्देश्य, लक्ष्य र समसामयिक राजनीतिलाई समेटर प्रशिक्षण दिइएको थियो ।

अनेम संघ केन्द्रीय सचिवालय सदस्य तथा झापा इन्चार्ज सुमित्रा भण्डारीको प्रमुख आतिथ्यमा आयोजित प्रशिक्षण कार्यक्रमममा मन्तब्य राख्दै उनले नेपाली आन्दोलनमा अनेम संघको भूमिका, संगठनभित्रको अनुशासन र तीनै तहको निर्वाचनमा महिलाको सहभागिताको बारेमा जानकारी गराइन् ।

आन्दोलनका क्रममा सुरुका दिनदेखि नै महिलाहरु संघर्षमा सक्रिय रुपमा अग्रपंक्तिमा पाइए तापनि पछिल्लो समय हरेक तह र पक्षबाट अपहेलित मात्र नभएर राज्यका निर्णायक तहमा नगण्यरुपमा मात्र महिलाको सहभागिता रहेको उनको कथन थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मिना पोखरेल उप्रेतीले प्रशिक्षण प्रदान गर्नका लागि जिल्लामा पुरुष बराबरकै योग्यता र क्षमता भएका शिक्षा र अनुभवले खारिएका महिला रहेको दाबी गरिन् । उनले महिलाहरुको दक्षता र क्षमतालाई अवमूल्यन गर्दा पार्टीका प्रशिक्षण कार्यक्रममा पुरुषहरु नै हाबी हुने गरेको आरोप पनि लगाएकी थिइन् ।

यस्तै, पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेरले संगठनमा मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन र सुझाव दिइन् । अनेम संघले विगतमा गरेका र वर्तमानमा गरिरहेको कार्यको चर्चा गर्दै पार्टीका भातृ संगठनमध्ये अनेम संघ उत्कृष्ट रहेको दाबी पनि गरिन् ।

संगठनको इतिहास लेख्दा पूर्व जिम्मेवारहरुसँग परामर्श गर्न सुझाउँदै उनले अनेम संघ झापाको जिल्ला कमिटीबारे पूर्वप्रस्तुत धारणा सच्याउन पूर्वअध्यक्षको नाताले सुझाव पनि दिइन् । यसअघि सोही कार्यक्रममा अनेम संघ झापाको इतिहासबारे भ्रामक कुरा बाहिरिएकोमा उनले सो कुराको प्रतिवाद गर्दै सत्य कुरा लेखेमा सही दस्तावेज बन्ने र पछि यथार्थ इतिहास बन्ने बताइन् ।

कार्यक्रमको मुख्य विषयमा अनेम संघ कोशी प्रदेशका सचिव हेमकला कट्टेलले संगठनले उपलब्धी गरेका कार्य र विश्व महिला आन्दोलनका बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुवात र नेपाली महिलाको राजनीतिक योगदानको चर्चासहितको प्रशिक्षण दिएकी थिइन् ।

नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीले साम्राज्यवादी शक्तिहरु सल्बाइरहेका बेला भातृसंगठनहरु चयामान हुनुपर्ने औंल्याएका थिए ।

अनेम संघ जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उनले नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका रहेको स्मरण गरेकी थिइन् । उनले महिलाहरुको क्षमता नभएर होइन नेतृत्वले विश्वास नगरकै कारण अहिले पनि कार्यकारी पदमा महिलाहरु पुग्न नसकेको जिकिर गरेकी थिइन् ।

उनले अनेमसंघले इतिहासको विभिन्न कालखण्डमा जिल्लामा योगदान गरेका महिलाहरुको बारे कृति प्रकाशन गर्ने तयारी गरिरहेको पनि जानकारी दिइन् ।
जिल्लाका नेतृत्व तहको महिलाहरु उपस्थित रहेको कार्यक्रमको स्वागत मन्तव्य अनेम संघका उपाध्यक्ष रेणुका डाँगीले र सञ्चालन सचिव लीला दाहालले गरेकी थिइन् ।

सम्बन्धित खबर