२०८१ पौष २७, शनिवार , ०६:०४:२० बजे

Sajhamanch
'

प्रविधिमैत्री पत्रकारिता तालिमप्रति सहभागी उत्सुक, छिट्टै लामो तालिमको अपेक्षा

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडबाट सञ्चालनमा रहेको साझामञ्च डटकमको मातृसंस्था साझा मञ्च मिडिया प्रालिको आयोजनामा आज बिर्तामोडमा प्रविधिमैत्री पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ।

प्रविधिमैत्री शिक्षक समाज नेपालका सदस्य घनश्याम अधिकारीको सहजीकरणमा बिर्तामोडमा उक्त तालिम सञ्चालन गरिएको हो। एन्ड्रोइड भर्सनको मोवाइल हुने जो कोही पत्रकारलाई प्रविधिमा जोडिएर पत्रकारिता गर्न सहज हुने विषयमा अधिकारीले सहजीकरण गरेका थिए ।

मोवाइल जर्नालिजम (मोजो)को तालिममा सिकाइने सीपभन्दा थप धेरै विधाहरु समेटेर सहजकर्ता अधिकारीले सहभागीहरुलाई प्रविधिमैत्री बन्न सक्ने मानिसमात्र आजको पत्रकारितामा टिक्नसक्ने भन्दै एक दर्जन जति सीप प्रवाह गरेका छन् ।

बिर्तामोडस्थित शिक्षा बहुउद्देश्य सहकारी संस्थाको सभाहलमा आयोजित उक्त निःशुल्क तालिममा सहभागी पत्रकारहरुले आजको दिनलाई एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको बताए ।

तालिममा सीप ग्रहण पछि अग्रज पत्रकार मोहनकाजीले उमेरले आधा शताब्दी टेके पनि यो तालिमबाट ३० वर्षभन्दा कम कै जस्तो महसुस गराएको बताए । निर्धारित समय छोटो भएकोले सिक्ने चाहना हुँदाहुँदै आज रोकिनु पर्यो, अब केही दिनभित्रै दिनभरको समय छुट्याएर सीप ग्रहण गर्ने चाहना बढेर आएको छ ।

यस्तै अर्का सहभागी सुब्रत न्यौपानेले कतिपय एप्सहरु आफूले पनि प्रयोग गरिरहेकोमा त्यसलाई अझै सहज तरिकाले उपयोग गर्ने, प्रविधिमा आएका नयाँ नयाँ सुरुआतलाई अवलम्बन गर्ने कुरा तालिमबाट सिकेको बताए । आज हामीले जे सिक्यौं, दुईजना साथीहरुलाई सिकाउन सकियो भने हाम्रो पत्रकारिताले फड्को मार्ने रहेछ भन्ने उनको धारणा थियो ।

यसैगरी पत्रकार अम्बिका भण्डारीले आजको बसाईले प्रविधि सिक्ने भोक जगाएको बताइन् । उनले समय मिलाएर लामो तालिम लिन पाए हाम्रा मोवाइलले पनि ल्यापटपलाई विदा गर्ने रहेछन् भन्ने लागेको सुनाइन् ।

तालिममा सहभागी हुन ढिलो गरेकोमा पछुतो मान्दै अर्का पत्रकार पुष्प खड्काले छोटो समयको सिकाइ अभूतपूर्व रहेको जनाए । पत्रकारितासँग सम्बन्धित धेरैवटा तालिम लिए पनि आजको छोटो तर महत्वपूर्ण तालिम रह्यो । फेरि पनि समय मिलाएर दिनभरको कार्यक्रम राख्नु उपयुक्त हुने उनको सुझाव थियो ।

सम्बन्धित खबर