
कपिलबस्तु । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा गएको मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको हो ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ ।
सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प– प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको छ ।
चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा यात्रुबाहक बस दुर्घटना भएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिएका हुन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ ।
घाइतेको उद्धारका लागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटनास्थल पुगेका थिए । घाइतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
३३ जनाको उद्धार गरिएकोमा नौ जनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । मृतक र घाइतेको अझै सनाखत भएको छैन ।
बसमा तीन जना स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए ।