२०८१ माघ १३, आइतवार , ०३:१८:४९ बजे

Sajhamanch
'

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा हुने

मङ्गलवार, फागुन १, २०८०

झापा । झापा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जूुनधाराकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता सम्पन्न भइसकेको र ती प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तहहरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले यसवर्षको प्रतियोगिता अर्जुनधारा नगरपालिकामा गर्न लागिएको अध्यक्ष भण्डारीको भनाई छ । खेलकुद गतिविधिमा सधैं अग्रपंक्तिमा रहँदै आएको अर्जुनधारा नगरपालिका १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन पालिका पनि हो ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उुसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्दै सफल तुल्याउनका लागि हालै सम्पन्न समितिको बैठकलले समितिका पदाधिकारी तथा समिति मातहतका प्राविधिक–प्रशिक्षकहरुलाई जिम्मेवारी बाँडफाँड गरेको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

प्रतियोगिताका लागि प्राविधिक प्रमुख वरिष्ठ प्रशिक्षक कालु मेचेको नेतृत्वमा १०० बढी प्रशिक्षक तथा अफिसियल प्राविधिक परिचालन हुने जिल्ला खेलकुद विकास समितिका सदस्य चेतामणि खनालले जानकारी दिए ।

जिल्लामा छनोट हुने खेलाडीले कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर