२०८१ माघ १२, शनिवार , ०३:५०:०४ बजे

Sajhamanch
'

एनएमसी कुपसपमा कार्यरत बिक्री कर्मचारीहरुलाई उत्प्रेरणात्मक तालिम

आइतवार, माघ २८, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई आज बिक्री प्रवद्र्धनका लागि उत्प्रेरणात्मक तालिम दिइएको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सञ्चालन गरिएको ‘सहकारी पसलमा कार्यरत बिक्री कर्मचारीहरुलाई उत्प्रेरणात्मक तालिम’को सहजीकरण उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले गरेका थिए ।

सहजीकरणका क्रममा प्रशिक्षक थपलियाले बजारमा सरसामान किन्न आउने ग्राहकको स्वभाव र रुचि फरक फरक हुने कुरालाई मनन गर्दै बिक्रेताहरुले सधैंभरि लोयल भएर प्रस्तुत हुनुपर्ने सुझाए ।

काम गर्ने मानिसले सदैव उत्सुक हुनुपर्ने आवश्यकता औंल्याउँदै सहजकर्ता थपलियाले भने, ‘विगत बित्यो, भोलि आउनै छ, अहिले जे छ त्यसैमा रमाउन आफूमा सकारात्मक उर्जा चाहिन्छ, त्यही उर्जा यास्तो उत्प्रेरणात्मक तालिमबाट लिन सकिन्छ ।’

सो कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले संस्थाका कर्मचारीहरुको जिम्मेवारी र भूमिकाका बारेमा प्रकाश पारेका थिए । उनले सहकारी पसलमा संस्थाका सदस्यहरु मात्र आउने नभई जो कोही पनि क्रेताको रुपमा वा अवलोकनकर्ताको रुपमा आउने भएकाले उनीहरुलाई संस्थातर्फ आकर्षित गर्न कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने सुझाए ।

पसलका बिक्रेता कर्मचारीहरुले संस्थाको पहिचानलाई उँचो राख्ने किसिमको व्यवहार प्रस्तुत गर्न निर्देशन गर्दै अध्यक्ष सिवाकोटीले कुनै वस्तु खरिद गर्न आएको ग्राहकले सो वस्तु त्यहाँ उपलब्ध नहुँदा रित्तोहात फर्कनबाट रोक्दै केही न केही बिक्री गर्न सकेमा मात्र सफल बिक्रेता बनिने सुझाएका थिए ।

सो तालिममा विशेष मन्तब्य व्यक्त गर्दै संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीको मूल नारा ‘असल संस्कार र समृद्धि’का विषयमा चर्चा गरेका थिए ।

उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेको सो तालिममा सहभागीहरुलाई शाब्दिक स्वागतसहित उपसमितिका सदस्य गोपाल काफ्लेले तालिमको औचित्य प्रष्ट पारेका थिए ।

सम्बन्धित खबर