
भद्रपुर । भद्रपुर ३ स्थित सूर्यनगरमा रहेको अरनिको माध्यमिक विद्यालयको ५६औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर लिम्बूको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कृत, विविध साँस्कृतिक कार्यक्रम र दाता सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वार्षिक गतिविधि प्रस्तुत गर्दै प्रधानाध्यापक पुरूषोत्तम खरेलले दुई दशकयता निर्माण अलपत्र परेर रहेको अधुरो भवनमा पठनपाठन भइरहेको विद्यालयमा जोखिम मोलेर विद्यार्थीले पढिरहेको जानकारी दिए । प्रअ खरेलले कक्षा १ देखि कक्षा १२ सम्म ३५० विद्यार्थी अध्ययनरत रहेको विद्यालय भवन निर्माण सम्पन्न गराउन स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार सबैतिर हार गुहार गरिरहेको भए पनि सुनवाई नभएको गुनासो पोखे ।
कार्यक्रममा विद्यालयका विद्यार्थीलाई लक्षित गरेर भद्रपुरका शिक्षासेवी घनेन्द्र-धरणी शर्माले बेलायतमा रहेका विनोद शर्मा न्यौपानेको समन्वयमा ७० हजार मूल्य बराबरको विज्ञान सामग्री सेभ द चिल्ड्रेनबाट ल्याएर सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा लक्ष्मी-ललिता खरेल छात्रबृत्तिबाट कक्षा ८ र १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने ३ जनालाई जनही ३ हजार ५५५ रुपैयाँ नगद प्रदान गरिएको थियो । यस्तै हंशधर-लक्ष्मीमाया इदिङ्गो लिम्बू छात्रबृत्ति कक्षा १-५, ६-९ र कक्षा १० उत्तीर्ण उत्कृष्ट ४ जना विद्यार्थीलाई जनही ३ हजार ५५५ रूपैया प्रदान गरिएको थियो ।
कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, दाता घनेन्द्र शर्मा न्यौपाने लगायतले शुभकामना राख्दै सरकारी विद्यालयमा विश्वास घट्दै जानुमा राजनीतिक हस्तक्षेप प्रमुख कारक रहेकोले सुधारको आवश्यकता औंल्याएका थिए ।
विद्यालयका शिक्षक शान्तिराम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा दाता दम्पत्ती घनेन्द्र-धरणी शर्मा न्यौपानेलाई सम्मानसमेत गरिएको थियो ।