२०८२ जेठ ७, मङ्गलवार , १२:३०:५५ बजे

Sajhamanch
'

बिर्तामोडका विद्यार्थीमाझ खेलकुद विकास समितिको रचनात्मक उपस्थिति

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा आगामी फागुन महिनामा ‘खेलकूद महोत्सव’ गरिने भएको छ ।

खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको समितिले महोत्सवको आयोजना गर्ने भएको हो ।

महोत्सवमा खेलकूदसँग सम्बन्धित वादविवाद तथा निबन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, व्याडमिन्टन, स्नुकर लगायतका खेलहरु हुने संयोजक विकास गिरीले जानकारी दिए ।

प्रतियोगितामा बिर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने समितिका सचिव विसन लिम्बूले जनाए । ‘कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने पाउने छन्’ सचिव लिम्बूले बताए ।

महोत्सवमा शिक्षक, अभिभावक र कर्मचारीहरुका बीच केही मैत्रीपूर्ण खेलहरु खेलाउने योजना रहेको समितिका सदस्य तथा महोत्सवका सहसंयोजक विशाल अग्रवालले जानकारी दिएका छन् ।

प्रतियोगिता व्यवस्थित बनाउन विषयगत विज्ञहरुसँग छलफल र तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सवलाई अझै व्यवस्थित बनाउन विद्यालय तथा केही नीजि क्षेत्रको पनि सहयोग रहने जनाइएको छ ।

महोत्सव अन्तर्गतकै प्रश्न उत्तर कार्यक्रम भने सबै विद्यालयमा पुगेर यही महिनाको अन्तिमदेखि सुरु गर्ने आयोजकले जनाएको छ ।