काठमाडौं । देशकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ।
क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र बैंकमा आवेदन दिंदा उक्त कोर्सलाई मान्यता नदिएपछि यसको सच्चाइ बाहिर आएको हो। २०७४ सालदेखि सुरु भएको उक्त कोर्सको नाम ब्याचलर इन कम्प्युटर एप्लिकेसन रहे पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी तथा सामाजिक शास्त्र संकाय भित्र राखेको हुँदा देश तथा विदेशमा आईटीको मान्यता नपाएको जानकारहरु बताउँछन।
विश्वविद्यालय आफैंले बनाएको परीक्षा क्यालेण्डर फलो नगर्दा ४ वर्षे भनिने उक्त कोर्स सकिन ६ वर्षसम्म लाग्ने गरेको छ। यो सुरु भएको धेरै वर्ष नभएको र २०७४ सालमा भर्ना भएकाहरुको नतिजा आएको पनि धेरै नभएको कारण यसको कमी कमजोरीहरु भरखरमात्र बाहिरिएको हो । पहिलो ब्याचको विद्यार्थीले बैंकको जागिरको लागि आवेदन दिँदा यो कोर्सलाई मान्यता नदिए पछि यस्तो तथ्य बाहिरिएको हो।
अन्य विश्वविद्यालयहरुले विज्ञान वा इन्जिनियरिङ संकायमा राखेको बिसीएलाई त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायभित्र राखेको छ (हेर्नुस् सिलेवसको माथि उल्लेखित संकाय) । नेपालका विभिन्न सरकारी संस्थाले जागिर खोल्दा कम्प्युटर इन्जिनियर वा सो सरहको कम्प्युटर विषय लिई उत्तीर्ण गरेको हुनुपर्ने भनेर विज्ञापन खुलाउँदा अन्य विश्वविद्यालयका बिसीए उत्तीर्ण विद्यार्थीहरुले आवेदन दिन पाउछन् भने त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पाउने गरेका छैनन् । लाखौ रुपैयाँ खर्च गरेर पनि जागिर खानको लागि आवेदन दिनै नपाउँदा धेरै विद्यार्थीहरु चिन्तित रहेको पाइएको छ ।
सो विषयको पाठ्यक्रमलाई समसामयिक एवम् राम्रो बनाउन कसैको ध्यान नगएको पनि विद्यार्थीहरुको बुझाई छ । आईटी कोर्ष भने पनि पाठ्यक्रम भने ९० को दशकको रहेको विद्यार्थीहरु आरोप लगाउँछन् ।
विश्वविद्यालयले पाठ्यक्रम राम्रो बनाएर विद्यार्थी बढाएउनु भन्दा प्रश्नपत्र गाह्रो बनाएर बढी विद्यार्थी फेल गराएर पुनः परीक्षा गराएर आम्दानी बढाउन तिर लागेको भुक्तभोगीहरु बताउँछन् । नेपालकै सबैभन्दा ठूलो विश्वविद्यालयले लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको उनीहरुको बुझाई छ।
सबै विषय आईटीसंग सम्बन्धित रहेको हुँदा उक्त कोर्सलाई विज्ञान तथा प्रविधि संकायमा सार्नु पर्ने आवश्यकता छ तर सो कामका लागि कुनै विद्यार्थी संगठनले पनि पहल नगरेको विद्यार्थीको आरोप छ ।
जागिर खान नमिल्ने कोर्सलाई कि त विश्वविद्यालयले खारेज नै गर्नुपर्छ हैोइन भने संकाय परिवर्तन गरिनु पर्छ भन्ने सरोकारवालाहरुको माग छ ।