२०८१ असोज ४, शुक्रवार , ०९:४२:०० बजे

Sajhamanch
'

अबुधाबीमा स्वास्थ्य शिविर, नेपालीसहित दक्षिण एशियाका मजदूरहरुले लिए निःशुल्क सेवा

बुधवार, माघ ३, २०८०

अबुधाबी (युएई) । युएईको अबुधाबीस्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट कम्पनीको आयोजनामा १६ जनवरी मंगलबारका दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अबुधाबीको अल अहालिया हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १४५ जना बिरामीहरुले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । अहालिया हस्पिटलमा कार्यरत नेपाली चिकित्सक यासिर श्रेष्ठको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त शिविरमा मधुमेह, बिएमआई, रक्तचाप, आँखा लगायत विभिन्न रोगको परीक्षण गरिएको थियो ।

रिदिम फेसिलिटी म्यानेजमेन्टको कार्यालय परिसरमा सम्पन्न उक्त निःशुल्क स्वास्थ शिविरमा नेपाली श्रमिकहरुको साथमा भारतीय, बंगलादेशी, पाकिस्तानी श्रमिकहरुले समेत स्वास्थ सेवा लिएको स्वास्थ्य शिविरको समन्वयकर्ता रामप्रसाद ढुंगेलले जानकारी दिए ।

शिविरमा उपस्थित अधिक सहभागीको स्वास्थ्य अवस्था सामान्य पाइए पनि उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या पनि उल्लेख्य रहेको कार्यक्रम हस्पिटलतर्फका संयोजक प्रज्ञा घिमिरे शर्माले जानकारी दिइन् ।

शिविरको सफलताको लागि एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल, कोषाध्यक्ष सुमन पराजुली, झापाली समाज युएईका महासचिव लोकेश कोइराला, सह–कोषाध्यक्ष काशीनाथ ढकाल, अबुधाबी क्षेत्रीय अध्यक्ष सूर्यबहादुर खवास उपस्थित भएर स्वास्थ्य परीक्षण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएईका सदस्य उमाकान्त पाण्डे, झापाली समाज युएई, प्रवासी नेपाली मञ्च युएईका सुन्दर पाठक तथा तथा अन्तराष्ट्रिय नेपाली समाजका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आफ्नो कम्पनी परिसरमै हस्पिटलको टोली आएर अति आवश्यक सेवा निःशुल्क उपलब्ध गराएकोमा बिबिटी रेस्टुरेन्ट, ब्लेजिङ स्टार कम्पनी, रिदिम फेसिलिटी म्यानेजमेन्ट, रिदिम बिल्डिङ मेटिरियल कम्पनीका प्रवन्ध निर्देशक केशव कार्कीले उपस्थित सबैलाई आभार व्यक्त गरेका छन् ।

शिविर सम्पन्न पश्चात् आयोजित रात्रीभोज कार्यक्रममा बोल्दै बिबिटी रेस्टुरेन्टका व्यवस्थापक बिष्णुप्रसाद लामिछानेले अल अहालिया हस्पिटललाई धन्यवाद प्रकट गर्दै हस्पिटल र आफू आवद्ध ५ वटै कम्पनी बीच सुमधुर सम्बन्ध रहेको र अल अहालिया हस्पिटलको सेवा गुणस्तरीय रहेको धारणा व्यक्त गरेका थिए ।

शिविर संचालन्मा नेपाल पत्रकार महासंघ युएई शाखा, अन्तराष्ट्रिय नेपाली समाज र झापाली समाज युएईले सहकार्य गरेका थिए ।

सम्बन्धित खबर