२०८१ पौष २८, आइतवार , १२:०२:२६ बजे

Sajhamanch
'

एनएमसीमा आन्तरिक तालिमका लागि प्रशिक्षकहरु उत्पादन हुँदै

बुधवार, माघ ३, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आन्तरिक रुपमा सञ्चालन गर्ने सहकारी शिक्षा कार्यक्रमका लागि जनशक्ति तयार गर्न मंगलबार एक दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न प्रशिक्षक प्रशिक्षण तालिममा एक सय हाराहारी विभिन्न तहका नेतृत्वको सहभागिता थियो ।

‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने संस्थाको मूल नारा प्रतिविम्वित हुने गरी सदस्य शिक्षाको विषय छनोट गरिएको र प्रशिक्षकहरुले तालिममा आफ्नो प्रस्तुति गर्दा एकरुपता कायम गर्न यस्तो तालिम आयोजना गरिएको जनाइएको छ ।

प्रशिक्षक प्रशिक्षण तालिममा संस्थाले यसै वर्षदेखि अवलम्बन गरेको ‘उद्यमशिलता’ सम्बन्धी विषयलाई विशेष महत्व दिइएको थियो । संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीका सबै उमेर समूहका सदस्यहरु उद्यमशील बनुन् र आत्मनिर्भर रहुन् भन्ने लक्ष्य र उद्देश्यसहित यो वर्षदेखि यस्तो कार्यक्रम ल्याइएको बताए ।

आफ्नो सहजीकरणमा उप्रेतीले उद्यम के हो ? कसले गर्ने ? कसरी उद्यमी बन्ने ? उद्यमशीलता विरासतबाट प्राप्त भएको हो वा आफैंबाट सुरु गर्ने हो ? जस्ता सन्दर्भहरु केलाउँदै उदाहरण सहित ब्याख्या गरेका थिए ।

उद्यम गर्न आवश्यक सिप, श्रम र स्थलको व्यवस्थापन गरेर पुँजीका लागि एनएमसीमा सम्पर्क राख्न सकिने तथा त्यहाँबाट उत्पादन गरिने वस्तु एनएमसीले बजारीकरण गरिदिने विषयमा पनि संस्थापक अध्यक्ष उप्रेतीले प्रष्ट्याएका थिए ।

सो प्रशिक्षक प्रशिक्षण तालिममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सहकारी संस्थामा सदस्यहरुको भूमिका विषयमा प्रकाश पारेका थिए ।

सहकारीका हरेक सदस्यहरुले नियमित बचत गर्ने बानीको विकास गर्नुपर्ने, संस्थाले अवलम्बन गरेका नीति र कार्यक्रमलाई अनुसरण गर्नुपर्ने, संस्थाको आयोजनामा हुने आन्तरिक तथा बाह्य क्रियाकलापमा निरन्तर सहभागी बन्नुपर्नेजस्ता भूमिका निर्वाह गर्न उनको सुझाव थियो ।

यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले आम सदस्यहरुमाझ प्रशिक्षक बनेर जाने सहजकर्ताहरुले संस्थाको समग्र परिचय, एनएमसीले अंगालेका व्यवसायहरु, यस अन्तरगतका सेवा र सुविधाहरु एवम् संस्थाका मौलिक अभियानहरुबारे मसिनो गरी प्रकाश पार्नुपर्ने औंल्याए ।

सो कार्यक्रममा कुनै पनि तालिममा सहजकर्ताहरुले कसरी आफ्नो प्रस्तुति दिने भन्ने सम्बन्धमा सीप र शैलीहरु माथि प्रकाश पार्दै शिक्षा तथा तालिम उपसमितिका सहसंयोजक घनश्याम अधिकारीले प्रशिक्षण कला सम्बन्धी रोचक प्रस्तुति गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेले सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्नुको औचित्य प्रष्ट्याएका थिए ।

उनले प्रशिक्षक प्रशिक्षण तालिम सीप प्रवाह गर्ने शैलीसँग सम्बन्धित रहेको बताउँदै उपसमितिले तयार गरेको प्रशिक्षण सामग्री प्रस्तुत गर्दा सहजकर्ताहरुबाट एकरुपता दिन यो तालिम महत्वपूर्ण हुने बताए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेको सो औपचारिक कार्यक्रममा उपसमितिका सदस्य अर्जुन थपलियाले ‘सोचमा सकारात्मकता र चेहरामा मुस्कान असल संस्कार र समृद्धि नै एनएमसीको पहिचान’ भन्दै मोटिभेसनल प्रस्तुति गरेका थिए ।

सम्बन्धित खबर