२०८१ पौष २८, आइतवार , ०९:२९:५१ बजे

Sajhamanch
'

नवौं राष्ट्रिय योग दिवस देशैभर, झापामा पनि मनाइयो

मङ्गलवार, माघ २, २०८०

दमक । माघ १ गते मनाइने राष्ट्रिय योग दिवसका सन्दर्भमा पातञ्जल योग दमक नगर समितिले “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ दमक बजार परिक्रमामा गरेर गणतन्त्र चौकमा पुगी कोणसभा गरेको छ ।

कोणसभामा जीवन विज्ञान कोशी प्रदेश सहसंयोजक लक्ष्मण न्यौपानेले सबैको घरघरमा योग पुर्याउन आवश्यक रहेको बताउँदै अझै पनि धेरै मानिस योगसँग जोडिन बाँकी रहेको बताए ।

‘आजका मानिस विभिन्न समस्याले गर्दा खुशी र स्वास्थ्य खोज्न अन्यत्र भौतारिँदै छन् तर यसको लागि उत्तम उपाय नियमित योग हो’ संयोजक न्यौपाने बताए ।

सो कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टेकबहादुर थापाले आफूले दुई दशक अगाडि नै योग सिकेको र अहिलेसम्म दिनहुँ घरमा योग गर्ने गरेको एवम् योगसँग सम्बन्धित हरेकजसो कार्यक्रममा आफू पुग्ने गरेको बताए ।

पातञ्जल योग दमक नगरसमितिले दमक नगरपालिकालाई योगमय बनाउनका लागी गरेको कामको प्रशंसा गर्दै त्यसलाई सबै नागरिक सम्म पुर्याउनका लागी स्थानीय सरकारको तर्फ बाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष थापाले बताए ।

कार्यक्रममा पतञ्जलि योग कमल गाउँ समिति कोषाध्यक्ष रविन्द्रप्रकाश चापागाँईले मानिसको जीवनमा योग अनिवार्य भएको बताउँदै बिहान सुतेर जाने समयलाई योगाभ्याससँग जोड्न सके हरेक व्यक्ति शारीरिक र मनासिक रुपमा निरोगी हुने बताए ।

पातञ्जल योग दमक नगर समितिका अध्यक्ष अम्बरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश उपाध्यक्ष लिला वन भारतीले स्वागत मन्तव्य राखेका थिए भने ताराप्रसाद गौतमले सञ्चालन गरेका थिए ।

यसैबीच, पतञ्जलि योग कमल गाउँ समितिले वडा नं. ५ मा रहेको गौरीशङ्कर साधना केन्द्रले नवौं राष्ट्रिय योग दिवस मनाएको छ ।

साधना केन्द्रका अध्यक्ष दिलिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पतञ्जलि योग समिति झापाका मिडिया प्रभारी उमानाथ भण्डारीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रम नियमित योगाभ्यास गर्नुका साथै प्ले कार्डसहित पाडाजुँगी बजार परिक्रमामा गरिएको युवा समिति संयोजक घनश्याम प्याकुरेलले जानकारी दिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष प्रेम बिमली र महिला समिति उपाध्यक्ष अम्बिका प्याकुरेल लगायतले योगको फाइदाका विषयमा बोलेका थिए ।

सम्बन्धित खबर