२०८१ पौष २७, शनिवार , ०८:३०:०७ बजे

Sajhamanch
'

पालिकाहरुमा न्यायिक निरुपणको सहजताका लागि दमकमा अन्तरक्रियात्मक प्रशिक्षण

शुक्रवार, पौष २७, २०८०

दमक । झापा, मोरङ र इलामका पालिकाहरुमा क्रियाशील न्यायिक समितिका प्रतिनिधिहरु बीच झापाको दमकमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको छ ।

पालिकाको न्यायिक समितिमा परेका उजुरीहरु माथि पारदर्शी र सहज ढंगबाट सुनवाई गरी न्यायिक निरुपणमा भइरहेका असल अभ्यासका अनुभवहरुको आदन प्रदान र न्यायिक निरुपणमा सहजता प्रदान गर्ने उद्देश्यले दमक नगरपालिकाले कार्यक्रमको आयोजना गरेको जनाइएको छ । सो कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा शुभकामना दिँदै नगर प्रमुख थापाले न्यायिक समितिले अनुभवका आधारमा गरेको न्यायिक निरुपणले आम नागरिकहरुमा स्थानीय सरकारप्रति सकारात्मक सन्देश प्रवाह गर्न मद्धत पुग्ने बताए ।

उपप्रमुख/उपाध्यक्ष सञ्जाल झापासँगको समन्वयमा आयोजित सो कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले प्रचलित कानुनले स्थानीय तहमा रहेको न्यायिक समिति तथा मातहतका मेलमिलाप केन्द्रलाई प्रदान गरेका न्याय निरुपण अधिकारका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गरेकी दमक नगरपालिकाका उपप्रमुख तथा झापा जिल्ला उपप्रमुख÷उपाध्यक्ष सञ्जालका संयोजक रेगिना भट्टराई प्रसाइँले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण र नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकार अन्तर्गतको न्यायिक समितिले प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्नुपर्ने भएकाले यस किसिमको कार्यक्रम तय गरिएको बताइन् ।

उपप्रमुख भट्टराईले न्यायिक समिति तथा कानुनी शाखाबाट भए गरेका कार्यहरुको अनुभव आदनप्रदानका माध्यमबाट एकअर्कामा सहयोग पुग्ने विश्वास लिइएको बताइन् ।

कार्यक्रममा झापा, मोरङ र इलामका पालिकाहरुबाट समेत न्यायिक समितिका संयोजक तथा सदस्यहरु उजुरी प्रशासक तथा कानुन अधिकृतहरु गरी करिब सय जनाको सहभागिता रहेको जनाइएको छ । सहभागीहरुले कार्य अनुभव आदनप्रदान गरेका थिए ।

कार्यक्रममा दमक नगरपालिकाको न्यायिक समितिले गर्दै आएका कार्यहरु र न्यायिक निरुपणका लागि अवलम्बन गरिरहेका अभ्यासहरुका बारेमा कानुन शाखाका अधिकृत नविन खतिवडाले प्रस्तुति राखेका थिए ।

सम्बन्धित खबर