२०८२ साउन ७, बुधवार , ०३:२०:२५ बजे

Sajhamanch
'

प्रदर्शन भइरहेको ठाउँमा मन्त्रीको सवारीले ‘क्याटलिस्ट’ को काम गर्‍यो – गृहमन्त्री श्रेष्ठ

सोमवार, पौष १६, २०८०

काठमाडौँ — बालकुमारीमा गत शुक्रबार युवाहरूले प्रदर्शन गरिरहेको ठाउँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनाउन क्याटलिस्ट (उत्प्रेरक) को काम गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकलाई जानकारी दिँदै उनले ईपीएस कार्यालय प्रमुखले सकरात्मक भूमिका नखेलेको, युवाहरूले अनियन्त्रित प्रदर्शन गरेको र मन्त्रीको सुरक्षामा खटिएका अधिकारीहरूले प्रभावकारी भूमिका नखेलेकाले घटना भएको बताए ।

ईपीएस कार्यालय प्रमुखलाई शुक्रबार बिहानै गृह मन्त्रालयमा बोलाएर सुरक्षा महाशाखा प्रमुखले बोलाएर सोधेको बताए । उनले भने, ‘ईपीएस कार्यालयको कार्यालय प्रमुखलाई गृहको सुरक्षा महाशाखा प्रमुखलाई बोलाएर सोध्दा ‘केही छैन ३ बजेसम्म बस्छन्, जान्छन्’ भनेर हल्का ढंगले दिएको जवाफ गृह मन्त्रालयमा छ । ईपीएस कार्यालय प्रमुखले ‘टेन्सनको विषय बनाउनुपर्दैन, ३ बजेसम्म बस्छन् जान्छन्’ भनेको अवस्था छ ।’

गृहमन्त्री श्रेष्ठले ईपीएस कार्यालय प्रमुखको भूमिका सकरात्मक नदेखिएको र ‘रियाक्टिभ’ भएको पाइएको बताए । उनले भौतिक पूर्वाधार तथा यतायातमन्त्रीको पीएसओले जिम्मेवारी पूरा नगरेको पनि बताए । ‘पीएसओले बाटो चेक गर्छ । कन्ट्रोल रुपमबाट भएको कुरा पनि वाकिटकीमा सुनिरहेको हुन्छ । तर मन्त्री आर्मीको सेक्युरिटी गार्ड र पीएसओ लिएर जानुभएको छ ।

त्यसले यो घटनालाई अर्को मोडतिर जानका लागि क्याटलिस्ट (उत्प्रेरक)को भूमिका खेलेको छ,’ उनले भने ।

मन्त्रीको सवारी त्यो क्षेत्रमा पुग्नुभन्दा पहिले प्रहरीले लाठीचार्ज गर्ने, टियर ग्यास हान्ने र ईपीएस कार्यालयमा क्षति हुन नदिन प्रयासमा रहेको तर मन्त्रीको सवारी हुँदा प्रदर्शन उग्र बनेको गृहमन्त्रीको भनाइ थियो । मन्त्री ज्वाला गाडीभन्दा बाहिर निस्किएपछि प्रदर्शनकारीसँग सवालजवाफ गर्दा पनि प्रदर्शन उग्र भएको हो कि भन्ने लागेको श्रेष्ठले बताए । त्यहाँ विवाद भएपछि सेनाको गार्डले अगाडि लगेको देखिएको गृहमन्त्रीले जानकारी दिए ।

त्यो घटना हुनुमा तीन कुराले भूमिका खेलेको पनि उनले बताए । पहिलो मुलुकमा बेरोजगार युवाको अवस्था, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वालाको तनावग्रस्त त्यस क्षेत्रमा उपस्थिति र त्यस क्षेत्रमा कार्यरत सुरक्षाकर्मी र प्रदर्शनकारी बीचको अवस्था रहेको उनले बताए ।

मन्त्री ज्वाला ग्वार्को नजिकैको एक पार्टी प्यालेसमा आयोजित एकीकृत समाजवादीको कार्यक्रममा सहभागी भएर मन्त्रालय जानका लागि निस्किएको अवस्थामा त्यो घटना भएको गृहमन्त्रीको भनाइ थियो । ‘मन्त्रीको गाडी आएको छ र घेराबन्दीमा परेको छ भनियो । त्यसपछि फिल्ड कमाण्डर त्यो दिशामा जान खोजेको देखिन्छ । त्यसै क्रममा गोली प्रहार भएको देखिन्छ । एकजनाको गोलीद्वारा लडेपछि पाटन हस्पिटल लगेको र अर्कोको छातिमा डाम देखिन्छ । टियर ग्यासले नजिकबाट लागेको हो कि हतियारले लागेको हो कि भन्ने देखिन्छ । बाँकी छानबिनले पुष्टि होला,’ उनले भने, ‘यसैबीचमा मन्त्रीको गाडी जलेको देखिन्छ ।’

गृह मन्त्रालयले गोली प्रहार नगर्न निर्देशन दिएको तर बालकुमारीको घटना नियन्त्रणका लागि पूर्वयोजना बनाउने समय नहुँदा समस्या भएको गृहमन्त्रीले बताए ।

सम्बन्धित खबर