२०८१ कार्तिक ३०, शुक्रवार , ०७:२१:३३ बजे

Sajhamanch
'

एनएमसीको रणनीतिक व्यावसायिक योजना कार्यशाला सम्पन्न

शुक्रवार, मंसिर २९, २०८०

झापा । देशकै अग्रणी सहकारी संस्थाको रुपमा पहिचान स्थापित गर्न सफल नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नो आगामी ४ बर्षे रणनीतिक व्यावसायिक योजना अवलम्बन गरेको छ ।

वि.सं. २०७२ सालमा संस्थाले तर्जुमा गरेको भिजन २०८० गत असारमा समाप्त भएको साथै साउन महिनादेखि नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिले आफ्नो कार्यकाल प्रारम्भसमेत गरेको हुँदा संस्था आगामी ४ वर्षका लागि रणनीतिक व्यावसायिक योजना बनाई अगाडि बढेको हो ।

संस्थाले बचत तथा ऋण व्यवसायका अतिरिक्त डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योग सञ्चालन गरेर बहुव्यवसाय गर्दै आएको छ । संस्थाले सञ्चालन गरेका सम्पूर्ण व्यवसायको प्रतिनिधित्व हुनेगरी मंसिर १९ देखि २३ गतेसम्म विभिन्न चरणमा रणनीतिक व्यावसायिक योजना तयार गरेको हो ।

आर्थिक मन्दीका बिच पनि आफ्ना सदस्यलाई सुविधा प्रदान गर्दै वित्तीय तथा सामाजिक क्षेत्रमा सफलतापूवर्क कार्य गर्दै आएको संस्थाले आगामी ४ वर्षका लागि व्यवसायहरुलाई अझ सदस्य माझ बढी सेवामूलक व्यवसायका रुपमा स्थापित गर्ने योजना तयार गरेको छ ।

संस्थाका विभिन्न समिति/उपसमिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा मंसिर १९ गते दमक, मंसिर २० र २१ गते बिर्तामोड र मंसिर २२ र २३ गते सुरुंगामा रणनीतिक व्यावसायिक योजना सम्बन्धी कार्यशाला सम्पन्न गरेको हो ।

रणनीतिक व्यावसायिक योजनाका प्रमुख सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व प्रमुख कार्यकारी अधिकृत कुबेर निरौलाले एनएमसीले विगतदेखि नै सदस्यहरु माझ सहकारीको मर्म र सिद्धान्त बमोजिम सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत व्यावसायिक प्रवद्र्धनसहित सेवा प्रवाहलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

संस्थाको हालै सम्पन्न ३१औँ वार्षिक साधारण सभाबाट संस्थाको रणनीतिक व्यावसायिक योजना तर्जुमा सम्बन्धी कार्य गर्नेगरी सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

सम्बन्धित खबर