२०८१ माघ ९, बुधवार , १२:०८:१८ बजे

Sajhamanch
'

१६ वर्षपछि आमा–छोराको भेट, खुशीले आमाको आँशु थामिएन

शनिवार, मंसिर ९, २०८०

मेचीनगर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आइपुगेका छन् । यतिलामो अन्तराल पछि आमासँगको पहिलो भेटमा दुवैजना भावुक बने भने सो दृश्यले स्थानीयलाई स्तब्ध बनायो ।

मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् । आज दिउँसो साढे २ बजे काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा मेचीनगर–६ स्थित उनी काँकरभिट्टास्थित आफ्नो घर आइपुगेका हुन् ।

उनकी आमा सानी घिमिरेले छोरालाई देख्ने बित्तिकै अंगालो हालेर खुशीले आँशु झारिन् । छोरासँग भेट भएपछि आँशु पुछ्दै सानीले भनिन्– ‘छोरा मलेशिया गएको १६ वर्ष भएको थियो । ६ वर्षदेखि सम्पर्कविहिन छोरालाई खोजी गरिदिने पहिलो मेरो भगवान अर्जुन भाइ नै हो । त्यसपछि अर्जुन भाइ मार्फत विश्वप्रकाश शर्मा र चोलाकान्त पंगेनी सरले गरेको सहयोग कहिलै बिर्सने छैन । मेरो छोरालाई घरसम्म सकुशल ल्याइदिने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद छ ।’

शुक्रबार मलेशियाबाट काठमाडौँ आइपुगेका गोपाललाई नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले पनि भेटेका थिए ।

सांसद शर्माले गोपाल काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा आउँदा निःशुल्क टिकटमा आएको बताए । सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले गोपालको टिकट निःशुल्क गरिदिएको उनले बताए ।

गोपाल मलेशियामा ६ वर्षदेखि वेपत्ता भएपछि उनकी आमाले विभिन्न मिडिया, संघ–संस्था र व्यक्तिको घर धाइन् । तर केही उपाय लागेको थिएन । गत भदौमा मेचीनगरमा पत्रकार सम्मेलन गरेपछि छोरा भेट्ने बाटो खुल्यो ।

सानी घिमिरेले पत्रकार सम्मेलनमा रुदैँ गरेको भिडियो पत्रकार अर्जुन कार्कीले सामाजिक सञ्जाल र विभिन्न अनलाइन न्यूजपोर्टलमा समाचार प्रकाशित गरेपछि गोपाल मलेशियामा भेटिएका थिए ।