२०८१ मंसिर १५, शनिवार , ११:५६:१६ बजे

Sajhamanch
'

कमला मदन आश्रित माविमा कुखुरापालन !

बिहिवार, कार्तिक ३०, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो ।

नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत छनौट भएका विद्यालयमा विद्यार्थीलाई व्यवसायिक सीप प्रदान गर्दै उत्पादनसँग जोड्न कुखुरापालन कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

विद्यालयले अहिले कुखुरापालनबाट कार्यक्रम सुरु गरेको छ भने आगामी दिनमा तरकारी तथा पुष्प उत्पादन कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले बताएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले अहिले विभिन्न विद्यालयमा एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालन हुन थालेको हो ।

विद्यार्थीलाई विद्यालयस्तरबाटै किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान दिन सकेमा पछि गएर कुनै न कुनै उद्यमसँग जोडिने र स्वरोजगार बन्न सहज हुने भएकोले पछिल्लो समय नमूना विद्यालयमा एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालन भएको जनाइएको छ ।

विद्यार्थीले पढ्दै व्यवहारिक ज्ञान लिन सक्नेछन् भने भविष्यमा रोजगारी सृजना गर्न सहज हुने भएकोले विद्यालयले व्यवस्थापन समितिबाटै निर्णय गरेर कुखुरापालन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताए ।

सो विद्यालयमा यसै वर्षदेखि एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालनमा आएको हो । विद्यार्थीले कक्षा १२ अध्यायन पूरा गरुन्जेलमा कुनै न कुनै उद्यम सम्बन्धी ज्ञान लिन सक्नेछन् र आफूलाई स्वरोजगार बनाउन तर्फ कार्यक्रमले सहयोग पुग्नेछ । विध्यालयमा अध्ययनरत रहेका बेला आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाई खर्चमा समेत यस्तो कार्यक्रमले सहयोग पुग्ने कमला बाल क्लबका अध्यक्ष राजु बस्नेत बताउँछन् ।

राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको सशर्त अनुदान कार्यक्रम मार्फत सो विद्यालयमा एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चलनमा ल्याइएको प्रधानाध्यापक दाह बताउँछन् । उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्यालयले उद्यमी विद्यार्थी क्लब र विद्यालयमा गठित कमला बाल क्लबलाई समेत कार्यक्रममा सहभागी गराएको उनले जानकारी दिए ।

प्हिलो चरणमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मात्र सो कार्यक्रममा सहभागी गराइएको छ । विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीलाई समेत उद्यम कार्यक्रममा सहभागी गराउने विद्यालयले योजना बनाएको प्रधानाध्यापक दाहालले जनाए ।

सम्बन्धित खबर