२०८१ फागुन १, बिहिवार , १०:३५:५३ बजे

Sajhamanch
'

कमला मदन आश्रितका पूर्व विद्यार्थीद्वारा शिक्षक सम्मानसहित मित्र पुनःमिलन

शुक्रवार, कार्तिक ३, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं.२ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आज शिक्षक सम्मान तथा पुनर्मिलन र बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।

पूर्व विद्यार्थी समाजको आयोजनामा भएको कार्यक्रममा विद्यालय स्थापना हुँदाका प्रधानाध्यापक विश्वनाथ अधिकारीसहित पूर्व प्रधानाध्याकहरु पुस्ता राई, पुण्यप्रसाद न्यौपानेसहित ३५ जना शिक्षकलाई दोसल्ला ओढाएर सम्मानप्रत्र प्रदान गरिएको हो ।

सो कार्यक्रममा मन्तब्य राख्दै विद्यालयका पूर्व विद्यार्थी तथा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले हामी अहिले विभिन्न पेशा र व्यवसायमा संलग्न छौं, हामीलाई यो अवस्थासम्म ल्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने हाम्रा गुरुवर्गलाई सम्मान गर्न पाउँदा हामीलाई अत्यन्तै गर्व महसुस भएको बताइन् ।

अर्का वक्ता गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले शिक्षकजस्तो सम्मानित पेशा अरु कुनै नभएको र यस्तो सम्मानित र मर्यादित पेशामा संलग्न पूर्व शिक्षकहरुलाई सम्मान गर्नु अत्यन्तै उदाहरणीय कार्य भएको बताए ।

सम्मानित शिक्षकहरुको तर्फबाट विद्यालयका पूर्व प्रधानाध्यापक पुस्ता राईले विद्यालयबाट पहिलोपटक एसएलसीमा सामेल हुने विद्यार्थीहरूबाट सम्मानित हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए ।

आयोजक पूर्वविद्यार्थी समाजका अध्यक्ष नरेन्द्र दङ्गालले आगामी दिनमा गरिने कार्यक्रमहरु अझ प्रभावकारी बनाउन पूर्व विद्यार्थी समाजले १० लाख रुपैयाँको अक्षय कोष स्थापनाको लक्ष्य लिएकोले यसलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरे ।
कार्यक्रमको सञ्चालन समाजका सचिव विष्णुप्रकाश निरौलाले गरेका थिए ।

सम्बन्धित खबर