२०८१ जेठ ७, सोमवार , ०९:१४:४८ बजे

Sajhamanch
'

परम्परागत मिडिया माथि डिजिटल प्लेटफर्मको धावा !

मङ्गलवार, असोज १६, २०८०

१. परिचय :

आज हामी सूचना र सञ्चारको यूग अर्थात् जोसँग जति धेरै जानकारी छ, उही मानिस धनी हो भन्ने यूगमा छौं । नयाँ विद्युतीय माध्यम अथवा डिजिटल प्रविधिमा आधारित सञ्चार माध्यमहरुका कारण अझ यस्तो अवसर दिनानु दिन बढिरहेको छ । छिटो छरितो सन्देश प्रवाह गर्न परम्परागत आमसञ्चारका माध्यमहरु भन्दा नयाँ विद्युतीय सञ्चार माध्यम बढी प्रभावकारी बनिरहेका छन् । र, सञ्चार क्षेत्रमा डिजिटल प्लेटफर्महरुको बढोत्तरीले परम्परागत माध्यमहरु ओझेलमा पर्दै पनि गएका छन् ।

टेलिभिजन सेटहरु सिटिङ रुमको भित्तामा सजाउने साधनजस्तै बन्न थालेका छन् । टिभी सेटमा आउने सबै सामग्री हातमा रहेको मोवाइल सेटमा आउँछ, अझ भनौं टिभीमा देखाइने सामग्रीहरु युट्युवमा बज्छन् । अनि टेलिभिजन सेटको काम नै पर्दैन, आक्कल झुक्कलमात्र खोलेर हेर्ने गरिन्छ ।

किताब पढ्न रुचाउने पाठकहरुले पनि भौतिक पुस्तकको साटो मोवाइल वा ल्यापटप, कम्प्युटरमा पिडिएफ डाउनलोड गरी पढ्ने गर्न थालेका छन् । पत्रपत्रिका प्रकाशकहरुले आफ्नो वेबसाइट बनाएर ई–पेपर अपलोड नगरेमा यसको नाम नै हराउने अवस्था बन्दै गएको छ । प्रविधिमा आएको परिवर्तनसँगै अडिअन्सहरुले स्वाद फेर्न थालेपछि परम्परागत आमसञ्चार माध्यमहरु पनि सोहीअनुसार रुपान्तरित बन्दै जानुपर्ने बाध्यता बनेको छ । यिनको प्रतिस्पर्धा डिजिटल प्लेटफर्मसँग दिनहुँ बढिरहेको पाइन्छ ।

योसँगै त्यहाँ कार्यरत पत्रकारहरु माथि पेसागत चुनौति पनि थपिएको छ । टिभी, रेडियो, पत्रपत्रिकाहरुमा प्रकाशन प्रसारण गरिने सामग्रीहरुको तयारी अवधिभन्दा डिजिटल प्लेटफर्ममा छिटो हुने भएकाले परम्परागत सञ्चार माध्यमका पत्रकारहरुमा चुनौति बढ्दै गएको हो ।

अझ भनौं विगत तिसौं वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु डिजिटल प्लेटफर्ममा अग्रसर सञ्चारकका कारण बिस्तारै ओझेलमा पर्दै गएका छन् । अब आधिकारिक सञ्चार माध्यममा पत्रकारिता गर्नेहरुलाई भन्दा डिजिटल प्लेटफर्ममा कार्यरतहरुप्रति मानिसको मोह बढ्दै गएको छ । टेलिभिजनमा बहस वा अन्तरवार्ताका लागि समय माग्दा व्यस्तता देखाउने कतिपय मानिसहरु युट्युबरसँग कुरा गर्न तत्कालै राजी हुने दिन आएको छ ।

अब प्रश्न उठ्न थालेको छ, आमसञ्चार माध्यम र पत्रकारको काम युट्युवरबाट हुन थालेको हो ? युट्युब आधिकारिक सञ्चार माध्यम हो ? के युट्युबरहरु पत्रकार हुन् ? उनीहरु समुदाय प्रति पनि जिम्मेवार छन् ? प्रस्तुत आलेख यिनै जिज्ञासाहरुको सेरोफेरोमा केन्द्रित गर्ने प्रयास हुनेछ ।

२. अडिअन्सको रुचिमा परिवर्तन :

सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत रहँदा फेसबुकको स्थापना गरेका हुन् । जुकरबर्गको कोठामा सँगै बस्ने कलेजका सहपाठीहरु जो कम्प्युटर विज्ञानका विद्यार्थीहरू थिए, उनीसँग मिलेर उनले फेसबुकको स्थापना गरेका थिए । एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलम मिलेर सो वेबसाइट बनाएका थिए ।

डिजिट २०२३ को अध्ययन अनुसार फेसबुक र सो पछि विकसित गरिएका सामाजिक सञ्जाल वा डिजिटल प्लेटफर्महरुमा नेपाली प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको छ । फेसबुकमा १ करोड १८ लाख ५० हजार नामबाट प्रयोगकर्ता जोडिएका छन् भने फेसबुकको म्यासेञ्जरमा ९३ लाख ५० हजारको उपस्थिति छ । यस्तै, टिकटकमा २२ लाख आइडी छन्, इन्स्टाग्राममा २१ लाख ५० हजार, लिङ्क्डइनमा १२ लाख र ट्वीटरमा ५ लाख ५३ हजार ६०० जना आवद्ध रहेको देखिन्छ ।

शब्द, तस्वीर, श्रब्य र दृश्य यी सबै विधिबाट आफ्ना कुराहरु आफ्नै पेजमार्फत् प्रस्तुत गर्न पाइने भएका कारण पनि सामाजिक सञ्जाल यतिबेला रोजाइ बन्दै गएको हो । तर यसको प्रयोगकर्ताहरुले सबै सन्देशहरु सही नै दिन्छन् त ? यो विश्वासिलो माध्यम हो त ? सम्पूर्णमा होइन, आजको दिनसम्म आमसञ्चार माध्यमजस्तै जिम्मेवार साधन यिनलाई मान्न सकिँदैन ।

तर किन लोकप्रिय बनिरहेका छन् त ? किनभने ब्यक्तिको रुचि अनुसारका सामग्रीहरु बिना सम्पादन, बिना रोकटोक आफ्नो पेजमा अपलोड गर्न पाउने भएकाले यो सबैको रोजाई बनेको हो । र, कतिपय अवस्थामा यिनै सामाजिक सञ्जालमा पोष्ट गरेका विषयहरु आमसञ्चार माध्यमका खुराक बनाइने गरेकाले ‘ब्रेकिङ न्यूज’ दिनेहरु अगाडि त हुने नै भए ।

युट्युब श्रब्यदृश्य माध्यम हो । १४ फेब्रुअरी २००५ मा युट्युब सञ्चालनमा ल्याइएको हो । स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्तरूपमा युट्युब स्थापना गरेका थिए । युट्युबमा यसका संस्थापक जावेद करिमले ‘मि एट द जू’ शीर्षक राखेर २३ अप्रिल २००५ मा पहिलो भिडियो सार्वजनिक गरेका थिए । अन्य सामाजिक सञ्जालहरुको तुलनामा युट्युब श्रब्यदृश्य विधा भएकाले यो झन् लोकप्रिय बन्दै गएको छ । यसले टेलिभिजन स्टेशन र त्यहाँ कार्यरत पत्रकारहरुको पेसा माथि नै चुनौति थपिएको छ ।

युट्युबरहरु पनि पत्रकारिता गतिविधिमा संलग्न हुन सक्छन् र समाचारकै जस्तो सामग्री उत्पादन र प्रसारण गर्न पनि सक्छन् । तर परम्परागत पत्रकार र युट्युबरको कामबीच भिन्नता छ । परम्परागत सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले समाचार संस्थाको गाइडलाइनमा रहेर पत्रकारिताको मापदण्ड, पत्रकार आचारसंहितको पालना र नैतिकताको ख्याल गरिरहेका हुन्छन् । सम्पादकीय दिशानिर्देशहरूको पालना गरेर व्यवसायिकता समेतलाई दृष्टिगत गरी आफ्ना प्रकाशन प्रसारण सामग्रीहरु उत्पादन गर्नु उनीहरुको दायित्व हुन्छ ।

विश्वसनीयता, जवाफदेहिता र व्यावसायिक आचारसंहिताको पालनाजस्ता कारकहरूलाई विचार गर्दा युट्युबर र परम्परागत पत्रकारहरू बीचको भिन्नता महत्वपूर्ण छ । केही युट्युबरले समाचार र जानकारीको प्रसारमा पक्कै योगदान गरेका होलान् तर तिनले प्रशिक्षित पत्रकारहरुले जस्तै सञ्चार कानून, पत्रकारिताको मापदण्ड र आचारसंहिताको अभ्यास एवम् पालनामा ध्यान दिइरहेको पाइँदैन ।

युट्युबरहरु विशेषतः टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) बढाउन अनेकन फण्डाहरु जोडेर सामग्री तयार गर्छन् । व्यक्तिको निजी जीवनलाई धेरै उठान गरिदिने, धेरैको जीवन बचाउन, पारिवारिक रुपान्तरणमा सहयोगी पनि भएका छन् । तर कतिपय अवस्थामा पारिवारिक बिखण्डनमा यिनले मलजल पनि गरिरहेको देख्न पाइन्छ । आफ्नो प्रशंसा चाहनेहरुले पैसा दिएर पनि सामग्री उत्पादन गराउँछन् र अनुकूलतामा युट्युबमा अपलोड गराउने र सेयर गराउने चलन बढेको छ ।

युट्युव मार्फत् आफ्ना कुरा सुनाउन उद्यत जमात पनि हामीमाझ थपिँदै गएको अवस्था छ । टिभी सेट सिटिङ रुमको ‘शो पिस’मात्र हुन थालेको अवस्थामा ब्यापारी, व्यवसायी, राजनीति गर्ने नेता कार्यकर्ताहरु अनि सामाजिक कामको नाममा चर्चा कमाउन खोज्ने जमातले आफ्नो कामको जानकारी दिन सजिलो र छिटो माध्यम युट्युबलाई ठानेका छन् । विभिन्न राजनीतिक दलका कतिपय नेताहरु युट्युवरमार्फत् आफ्ना कुण्ठाहरु पोखिरहेको अवस्था पनि छ ।

मानवीय संवेदनासँग प्रसस्त मात्रामा खेलबाड भइरहे पनि नेपालमा युट्युबरहरुले लगभग उन्मुक्ति नै पाउँदै आएका छन् भन्न आइतबार कुर्न पर्दैन । परम्परागत सञ्चार माध्यमहरुको तुलनामा न्यू मिडियाको पहुँच र लोकप्रियता बढ्दै गएको सन्दर्भमा अबको समाजले को चाहिँ पत्रकार हुन् र को होइनन् भन्नेमा दुविधा पाल्न थालेको अवस्था छ । युट्युबरहरु पत्रकार कि आमसञ्चार माध्यममा काम गर्ने मानिस चाहिँ पत्रकार भन्ने जिज्ञासा उत्पन्न भएको पाइन्छ ।

‘युट्युव आतंकले पत्रकारिता बदनाम’ शीर्षकमा अग्रज पत्रकार दुर्गालाल केसी लेख्नुहुन्छ : अहिले अधिकांश मानिसहरुले मिडिया अपडेटका नाममा धेरैजसो समय युट्युवमा बिताइरहेका छन् । युट्युवमा आउने घर झगडा, प्रेम, धोका, हत्या, यातना, सम्बन्ध बिच्छेद, यौन सम्बन्धजस्ता घटनामा मानिसहरु भुलिरहेका छन् । माइक्रोफोन, बुम र क्यामेराका कारण सबै दर्शकहरुले युट्युबरलाई पत्रकार ठानिरहेका छन् र सबै पत्रकारलाई त्यही दर्जामा हेरिरहेका छन् । अनि भनिरहेका छन्– पत्रकारहरुले जे पायो त्यही खिचेर देखाउने ? यस्ता पनि पत्रकार ?

अहिले सोसल मिडिया अर्थात सामाजिक सञ्जाल न्यू मिडियाका रुपमा विकास भएको छ । सामाजिक सञ्जालबाट पनि सूचना पाउन सकिन्छ । सूचना पाउनका लागि मूलधारका मिडिया मात्रै खोज्ने परिपाटीको अन्त्य भएको छ । नागरिकको सूचनाको स्रोत सामाजिक सञ्जाल भएकोमा कुनै पनि शंका छैन तर मूलधारको पत्रकारिता र युट्युबकारितामा फरक छुट्याउन नसक्दा पत्रकारहरुले गाली खानु परेको छ । पत्रकारिता पेशाको इज्जत खस्केको छ । कतै पत्रकार हुँ भनेर परिचय दिन पनि अप्ठेरो मान्नुपर्ने अवस्था आएको छ ।

नागरिकमा मिडिया साक्षरता कम छ । सही सूचनाका लागि कुन मिडिया प्रयोग गर्ने भन्नेबारे सचेतना छैन । सामाजिक सञ्जालमा जे जस्ता जानकारी भेटिन्छन् त्यहीलाई आधार मान्ने प्रवृति बढेको छ । क्यामेरा बोक्ने सबै मानिस पत्रकार हुन् भन्ने भ्रम समाजमा छ । क्यामेरा बोकेका आधारमा, मानिसहरुसँग कुरा गरेका आधारमा, भिडियो खिचेका आधारमा पत्रकार भइँदैन । पत्रकार हुने छुट्टै विधि, प्रक्रिया र मूल्य मान्यता छ तर युट्युब चलाउने मानिस पनि समाजका लागि ठूलो पत्रकार बनेको छ । खास पत्रकारिता गर्ने मान्छे ओझेलमा परिरहेको छ । अरुले गरेको गल्तीको दोष मात्रै बोकेर बसेको छ । गाली खाएर बसेको छ ।

मिडियाको आधिकारिकता र विश्वसनीयता केलाउन नसक्दा नागरिक सही सूचनाबाट टाढिएका छन् । गलत र भ्रामक समाचारको पछि लागेका छन् । पत्रकारिता र युट्युब या सामाजिक सञ्जालमा धेरै नै भिन्नता छ भन्ने कुरा आम नागारिकले बुझ्न जरुरी छ । अहिले इन्टरनेटको सहज पहुँचले हरेक नागरिकले सूचना सम्प्रेषण गर्न त सक्छन् । कतै कुनै घटना भैहाल्यो भने त्यसको फोटो या भिडियो खिचेर जसले पनि राख्न सक्छ । यसबाट पनि नागरिकले सूचना त पाउँछन् । अर्थात सामाजिक सञ्जालबाट पनि आम सञ्चारका अन्य माध्यमबाट जस्तै सूचना त पाइन्छ ।

हरेक नागरिकले पत्रकारले जस्तै सूचना प्रवाह गर्ने काम गर्न सक्छन् भने यसलाई नागरिक पत्रकारिता भन्न सकिन्छ । अर्थात नागरिकले सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्नसक्ने भएकाले यसलाई सूचना सम्प्रेषणमा नागरिक सहभागिताका रुपमा बुझिन्छ । फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालले सूचना सम्प्रेषण गरे पनि यी पत्रकारिता होइनन् भन्ने कुरा बुझ्न आवश्यक छ । सूचना दिनु मात्रै पत्रकारिता होइन । पत्रकारिता हुनका लागि तोकिएका मापदण्ड पालना गर्नुपर्छ । जे मन लाग्यो त्यही सामग्री दिन पाइँदैन । मनलाग्दी गरेमा कार्वाही हुन्छ तर युट्युबकारिता गर्दा कसैले केही कार्वाही गरेको पाइँदैन ।

३. सञ्चार कानून र पत्रकार आचारसंहिता :

पत्रकारिता क्षेत्र समग्रमा सञ्चार कानून र आचारसंहितामा बाँधिएको हुन्छ । नेपालमा प्रजातन्त्र पुनःबहालीसँगै संविधानमा नै मौलिक हकको ब्यवस्था गरी विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हकजस्ता नागरिक अधिकारहरु सुनिश्चित गरिएको छ । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले नेपाल पत्रकार संघ (हालको महासंघ)ले वि. सं. २०२२ सालमा नै वीरगञ्ज घोषणपत्र जारी गर्दै आचारसंहिता प्रस्तुत गरेको इतिहास छ । यसो त सूचना तथा संचार प्रविधि एवं इन्टरनेटको विकासले गर्दा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा उल्लेख्य प्रगति भएको अवस्था छ । इन्टरनेटको माध्यमबाट सबै राम्रा कुराहरु मात्रै बाहिरिन्छन् भन्ने छैन, भ्रमपूर्ण र नकारात्मक सामग्रीहरु पनि प्रकाशन प्रसारण भएको स्थिति छ ।

व्यक्तिले श्रव्य, दृष्य र छापाजस्ता संचारका सबै माध्यम उपयोग गर्दै आफ्नो विचार राख्दै सीमाविहीन तरिकाले आफूलाई लागेको विचार सहज रुपमा व्यक्त गर्न सक्ने माध्यमको रुपमा इन्टरनेट उदाएको छ । इन्टरनेटको प्रयोगले भौगोलिक तथा राजनीतिक सीमाबाहिर पुगी समष्टिगत विश्व नै मानवग्रामको रुपमा बदलिन पुगेको हो । नेपालको संविधानको धारा २७ मा सूचनाको हक प्रत्याभूत गरिएको छ । धारा २७ मा अर्को स्पष्टीकरण राखेर त्यसलाई कानुन बनाएर प्रतिबन्ध लगाउन मिल्ने व्यवस्था गरिएको छ ।

सूचना र त्यसको अधिकतम प्रयोगसँग जोडिएको व्यक्ति नै धनी मानिन्छ भन्ने माथिको भनाईलाई आत्मसाथ गर्दै एउटा कल्याणकारी राज्यमा इन्टरनेट पहुँचको सुविधा हुनु र पाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । सूचना क्रान्तिले मानव जीवनलाई सहज, सरल र सुखद तुल्याएको छ भने अर्कोतर्फ यसले विश्वव्यापी रुपमा समस्या र चुनौतीसमेत थपिदिएको छ । इन्टरनेटमा बढ्दै गएको पहुँचले अवसरका अलावा समस्या र चुनौतीसमेत बढ्दै गएका छन् । यसको नियमनका लागि नेपाल सरकारले विद्युतीय कारोबार सम्बन्धी ऐन २०६३ पनि कार्यान्वयनमा ल्याएको हो ।

ऐनको मुख्य उद्देश्य कम्प्युटर प्रविधि र सोमा आधारित इन्टरनेट संजालको दुरुपयोग गरी आफूले अनुचित फाइदा लिने र अर्को पक्षलाई भौतिक वा आर्थिक नोक्सानी पुर्याउने, हैरानी दिने, प्रतिष्ठामा गैरकानुनी आघात पुर्याउने, सामुदायिक तनाव बढाउने एवं सार्वजनिक नैतिकतामा खलल पार्ने कुराहरुलाई नियन्त्रण र नियमन गर्नु रहेको छ । विद्युतीय कसूर भनिएको यस्ता कार्यहरु कम्युटर तथा कम्युटर नेटवर्क प्रयोग गरेर हुने इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित अपराधिक गतिविधि पर्ने भएकोले यस सम्बन्धी अपराधिक गतिविधि रोकथाम गर्न नै विद्युतीय कारोबार ऐन, २०६३ ल्याइएको हो । सूचना प्रविधिको विकाससँगै वढेको इन्टरनेटको प्रयोगले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, हबाट्सएप्स, वीच्याट, भाइबर, स्काइप, इमो, म्यासेन्जर जस्ता सामाजिक सञ्जालको प्रयोग र दुरुपयोग व्यापक रुपमा भइरहेको छ ।

विद्युतीय कारोबार ऐन २०६३ कार्यान्वयनमा नै रहिरहेको भए पनि युट्युबरहरुले धेरैहदसम्म व्यक्तिको निजी जीवनमा प्रवेश गरेर परिवार भाँड्ने गरेको आरोप लाग्ने गर्छ । पत्रकार आचारसंहितालाई उनीहरुले पालना गरेको पाइँदैन भने विद्युतीय कारोबार र यस सम्बन्धी कानून र नीतिहरु कडाइका साथ पालना गराउने तर्फ राज्य पनि गम्भीर बनेको छैन । साइबर ल त बनेको छ तर यसको छानविन र कार्यान्वयनका लागि प्रहरीको नेतृत्व रहने भएकाले ‘माथिको आदेश’मा यसले रङ फेरिरहने निश्चित जस्तै छ ।

४. उपसंहार :

विज्ञान र प्रविधिले नयाँ नयाँ खोज, अनुसन्धान र विकास गरी मानव जीवनलाई थप सहज र सरल बनाउँदै लगेकोमा सबैको रचनात्मक दृष्टिकोण बन्न आवश्यक छ । नयाँ आविस्कारले पुरानोलाई बिस्थापित गर्दै लैजानु अनौठो कुरा पनि होइन । नेपालमा नयाँ मिडिया प्रणालीको आगमनले पत्रकारिता क्षेत्रमा नयाँ दिशानिर्देश र परिवर्तनका सम्भावनाहरू पनि आइसकेका छन् । तर सञ्चारका क्षेत्रमा भइरहेको अभ्यासले नेपालको परम्परागत पत्रकारिता माथि नै चुनौती थपिएको महसुस पनि गराएको छ ।

अग्रज पत्रकार कपिल काफ्लेले ‘परम्परागत पत्रकारिता माथि चुनौती’ शीर्षकमा प्रकाशन भएको आलेखका केही हरफ यहाँनेर सान्दर्भिक ठानिएको छ । ‘डिजिटल मिडियाको प्रवेशपछि परम्परागत र आधुनिक दुवै पत्रकारिता ठीक त्यसरी नै प्रभावित छन्, जसरी महाभारतको कथामा श्रीकृष्णको प्रवेश पछिको सर्वत्र छाएको उनको प्रभाव । डिजिटल माध्यम श्रीकृष्ण बनेर आएको छ । यो कति अवसर र कति चुनौती हो, श्राप हो कि वरदान– वस्तुगत जबाफ फेला पर्दैन । पत्रकारिताको परम्परागत र सैद्धान्तिक आदर्शको व्याख्याले ‘आवाज विहीनहरुको आवाज बन्ने’ कुरा गर्छ । सत्ता र शक्तिको प्रमुख प्रतिपक्ष बनेर राज्यका तीन अंगलाई सही बाटोमा हिंडाउन सघाउने ‘वाचडग’ को काम पत्रकारिताको हो भनिन्छ ।

मूलधारको मिडियाका विविध कमजोरीका कारण पत्रकारिताका पाठकहरू सामाजिक मिडियातिर बसाइँ सरेका छन् । समाज सेवाका लागि नभई आर्थिक लाभका लागि पत्रकारिताका नाममा शक्ति र स्रोतका पक्षमा आवाज उठाउने गरेको देखेकै कारण यसप्रति एक प्रकारले आम पाठकको मोहभंग भएको छ । आफूलाई लागेको धारणा सामाजिक सञ्जालमा पोख्न पाएकाले पनि पहुँचभन्दा पर बस्न रुचाउने समाचार मिडियाको बेवास्ता हुन थालेको हो ।

पत्रकारिताले आफ्नो सबल पक्ष कायम राख्न व्यावसायिक इमान्दारी देखाउन सकेको छैन । पाँच हजारप्रति छापेर ५० हजारको ‘माइलेज’ भएको गफ दिने प्रकाशन गृहलाई कसले कहिलेसम्म पत्याउने ! पछिल्लो समय छापा माध्यमका दैनिक र अन्य आवधिक पत्र–पत्रिका तथा प्रसारण माध्यमका रेडियो र टेलिभिजन विभिन्न कारणले चुनौतीमा छन् । आफ्नै कमजोरी वा आन्तरिक समस्या तथा डिजिटल मिडियाको प्रभाव वा बाह्य कारणमध्ये कुन बढी बलवान छ, त्यो अनुसन्धानको विषय हो । तर, सामान्य रुपमा भन्न सकिने सत्य के छ भने, परम्परागत मिडियाको एक बलियो माध्यम अखबार र पत्रपत्रिका जीवनकै कठिन मोडमा गुज्रिरहेको छ ।’

उपरोक्त अंशबाट पनि थाहा हुन्छ कि नयाँ मिडिया अर्थात् डिजिटल प्लेटफर्म पछिल्लो समय समाजको परिपुरक बनिरहेको छ । तर यसले परम्परागत मिडिया माथि चाहिँ गहकिलो चुनौती पस्किएको छ । जबसम्म सञ्चार माध्यम दह्रो रहँदैनन्, तबसम्म त्यसमा काम गर्ने पत्रकारहरुको पनि दीर्घसेवा सम्भव छैन । यसैले नयाँ मिडियालाई पनि मुलुकको संविधान, पेसागत ऐन कानून र आचार संहिताको परिधिभित्र ल्याउन ढिला गर्न हुँदैन ।

अझ युट्युबलाई नियमन गर्ने गरी प्रभावकारी कानून नबन्दासम्म युट्युबका नाममा पत्रकारिता बदनाम हुन छोड्दैन । आजको नेपाली समाजमा धेरैले युट्युबको सामग्री हेरेर आमसञ्चार माध्यमका पत्रकारलाई गाली गरिरहेका छन् । उनीहरुको पारो तालिएर आउँदा परम्परागत मिडियामा काम गर्ने पत्रकारहरुलाई यस्ता सामग्री पनि दिने हो भनेर प्रश्न गरिरहेका हुन्छन् । अझ भनौं कोही कसैलाई कसै माथि रिस पोख्नुछ भने युट्युबर खन्याइदिने प्रवृत्ति मौलाइसकेको छ । ब्यक्तिका घरझगडा युट्युबमा छताछुल्ल हुँदामात्र समाज झस्किन थालेको छ । डिजिटल प्लेटफर्मले आजको समाजमा झगडा, ईश्र्या, द्वेष, द्वन्द्व र विवाद बढाइरहेको छ । सबैखाले सामाजिक सञ्जालमा समाजलाई सकारात्मक सन्देश दिनेखालका सामग्रीभन्दा नकारात्मक सामग्री नै बढी बिकिरहेको अवस्था छ । यसका दर्शक पनि त्यस्तै सामग्रीका पारखी बनिरहेको पाइन्छ ।

त्यसैले सामाजिक सञ्जाल समेतलाई नियमन र नियन्त्रण गर्ने गरी नेपाल सरकारले कानुन बनाउन ढिला भइसकेको छ । आमसञ्चार माध्यमहरु त परिधिभित्रै रहेका होलान् तर डिजिटल प्लेटफर्ममार्फत् ‘दाम्लो चुँडाएको चौपाया’ले जस्तै रइँदालो गरिरहने हो भने समाज विकृत हुन धेरै दिन लाग्दैन । डिजिटल प्लेटफर्मको जसरी तीब्र गतिमा विकास भइरहेको छ, राज्यले पनि सोही रफ्तारमा यिनको नियमनको चाँजोपाँजो मिलाउन बितिसकेको महसुस भएको छ । चेतना रहोस् ।

(आमसञ्चार प्रशिक्षक तथा साझामञ्च डटकमका सम्पादक काफ्लेको यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिता २०८० असोजमा प्रकाशित भएको छ ।)

सम्बन्धित खबर