२०८१ मंसिर २२, शनिवार , ११:४१:५६ बजे

Sajhamanch
'

सकारात्मक सोचे पो राम्रो देखिने रहेछ !

शनिवार, चैत २४, २०८०

केही दिनअघि नारी सञ्चार गृहको आयोजना र बाह्रदशी गाउँपालिकाको सहयोगमा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक दुई दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । म पनि आयोजकको तर्फबाट सहभागी थिएँ । नकरात्मकताले भरिएको हाम्रो समाजलाई केही हदसम्म सकारात्मक सोचको विकासमा प्रभाव पार्नु कार्यक्रको उद्देश्य थियो ।

सबै कुरा बिग्रियो, भएन, राम्रो त कहीँ पो छैन त ! खत्तमै भयो नि, नेताले बिगार्नु बिगारे, गर्नु गरे, सखापै पारे ! भन्दै हामीहरु गाली र दोष दिँदै आइरहेका छौं । कहिले नेतालाई कहिले देशलाई त कहिले काहिँ आफ्नो भाग्यलाइ पनि । हाम्रा वरिपरी चार वटा बाटो छन् । एउटा भत्किएको छ, बिग्रिएको छ । अरु तीन वटा राम्रा छन् । तर हामी राम्रा तीन वटा बाटोलाई बिर्सिन्छौ र अर्को एउटा बाटो बनेन भनेर गाली गरिरहेका हुन्छौं ।

हाम्रो छेउको एउटा बालक दुई वर्ष पनि पुगेको छैन । हामी जान्ने बुझ्नेहरु उसको वरिपरी बसेर यो देश खत्तम भयो, काम लाग्दैन, केही प्रगति हुँदैन भनेर देशलाई गाली मात्रै गरिरहेका हुन्छौं अनि त्यो बालकले के के सुनेर के सिकिइरहेको होला ? उसको दिमागमा कस्तो असर परिरहेको हुन्छ होला हामी ख्याल गरिरहेको छौं ।

त्यो बालक ठूलो हुन्छ, यो देश त खत्तमै रहेछ नि ! केही नहुने पो रहेछ भन्न् थाल्छ । उ विदेश जान्छ । कसरी हुन्छ उ त्यतै सेटल हुने वातावरण बनाउँछ । नेपालमा केही हुँदैन भनेर सानैबाट उसलाई विदेश जाने तयारी हामीले गराइरहेका हौं कि ! हामीले त्यही सिकाए पछि उनीहरुले गर्ने आखिर त्यही नै होइन र ?

छोराछोरी विदेशिए ‘तेल भिषा’मा उतै बोलाउँछन् । बाबुआमा मर्दा चाहिँ घरमै आउँदैनन् । निर्दयी र कठोर मनका भए ! भनेर गुनासो गर्न पनि हामी पछि पर्दैनौं । गुनासो किन गर्ने ? सानैदेखि विदेश नै जा भनेर तयारी हामीले नै गरेका होइनौ र ? अनि यो खत्तम देशमा बच्चा किन बसोस्, यहाँ संस्कारको कुरा आउँछ, हामीले त्यही सिकायौं त त्यसमा बच्चाको के दोष । करेला रोपेर त्यसको लहरामा अंगुरको रसिलो फल खोजेर हुन्छ र ?

प्रसंग फेरि पनि ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा जोडौं । कार्यक्रम चलिरहँदा सहभागीमध्ये एकजना बुवाले भन्नुभयोः ‘‘धेरै भएकै छैन, अलि वर्ष अगाडि एउटा साइकल किन्ने पैसा हुँदैन थियो । खानको समस्या त उही हो हाटबजार, बाटोघाटोका समस्या कति थिए थिए । बाटो नभएर खेतको आलीबाट हामीहरु हिंड्ने गथ्र्यौं । अहिले कृषिमा आधुनिकीकरण आयो । थोरै खेतमा धेरै मकै फल्न थालेको छ । वर्षभरि खानलाई राखेर धान बेच्न पनि पुग्छ । चारैतिर बाटाहरु छन्, जग्गाको मूल्य पनि बढेको छ । सन्तानले पढ्न पाएका छन् । टाउको दुख्दा अस्पतालमा गएर उपचार लिन पाएका छौं । हामी बुढाबुढी केही समय घरमा व्यस्त हुन्छौं अनि कृषिमा रमाउँछौ कृषिमा क्रान्ति गछौ । श्रीमान श्रीमती कहिले काहीँ यसरी नै कार्यक्रममा हिँड्छौ । पहिला साइकल थिएन । अहिले मोटरसाइकलमा सरररर कुँद्छौ, अहिले हामी खुसी छौं ।’’

उहाँले यसो भनिरहँदा मेरो भावमा कुरा खेलिरह्योः लाग्छ कि शहरका भन्दा गाउँका मानिस धेरै खुसी छन् । सबै विदेश मात्रै जाने, देश त रित्तियो, बाकसमा कति लाश आए भनेर ठूलो पीर लाग्छ हामीलाई । तर होइन रहेछ, जत्ति रित्तियो भनिएको छ नि भनिए जत्ति रित्तिएको रहेनछ । विदेश जाने मात्रै रहेनछन् स्वदेश फर्किने पनि उत्ति नै रहेछन् । विदेश गएका नेपालीहरु मात्रै मर्ने रहेनछन् । मर्न त नेपालमा पनि त मरिनै रहेका रहेछन् । मान्छे त जहाँ पनि त मर्ने हो । आखिर कुनै शहर पनि त छैन त्यस्तो जहाँमान्छे नमरेको होस् ।

एउटा फूल हुर्काउन र फूलाउन समय लाग्छ । आजको भोलि एकैचोटी ठूलो हँुदैन र फूल्दैन भने विकास निर्माणका कार्य चमत्कारमय ढंगले हँुदैनन् । यसलाई समय लाग्छ । तत्काल हुँदैन र भएन भनेर निराश नै भइहाल्नु पर्ने अवस्था पनि रहेनछ । परिर्वतन त बिस्तारै हुने रहेछ । आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक, साँस्कृतिक, स्वास्थ्य, शिक्षाजस्ता कुराले हाम्रो समाजमा धेरै ठूलो फड्को मारेको छ ।

हामी आफैं पनि सोचौं न आमाहरुको पालामा पढ्न भनेको कल्पनाभन्दा धेरै परको कुरा थियो । हामी छोरीको पालामा पढ्नलाई सहज छ । आधिकारिक तथ्याङ्क अनुसार २००७ सालमा नेपालको साक्षरता मात्र २ प्रतिशत थियो । २०७८ सालको राष्ट्रिय जनगण्ना अनुसार ७६ दशमलव २ प्रतिशत छ । शिक्षाको विकासक्रमले मानिसको सोचलाई नै परिवर्तन गरेको छ, यो बीचको समयमा साक्षरता दरलाई राम्रै मान्न सकिँदैन र ?

भर्खर जस्तो लाग्छ हस्पिटल भनेको के हो ? कस्तो हुन्छ, केही थाहा थिएन । शरीरमा रोग लागेर, थाहा नभएर कति मान्छे मरेमरे । गाउँघरमा अहिले पनि यस्तो कुरा गरेको सुनिन्छ । आजको दिनमा बिरामी हुँदा हस्पिटल जानको लागि ठूलो समस्या पनि त छैन नि, होइन र ?

केही वर्षको अगाडिको कुरा मलाई पनि सम्झना छ । त्यतिखेर प्रायः सबैको गाउँघरमा कृषि पेशा नै हुन्थ्यो । वर्षभरि काम गर्यो तर वर्षभरि पनि खानै पुग्दैन थियो । गाँसको अभावलाइ झेलिरहेको त्यो समाजलाई बास र कपासको कुरा अलि परै हुन्थ्यो । दशैंमा एकजोर लुगा फेर्न पनि ठूलै कुरा हुन्थ्यो । एक्कै छिन सम्झौं त केही बाहेक के आजको यो समाजलाई गाँस, बास र कपासको लागि कहाँ हो कहाँको समस्या छ र ?

हामी हाम्रो सोचाइमा भन्दा पनि अरुको सोचाइमा हिँड्दा रहेछौं । अरुको सोचाइमै भरपर्दा रहेछौं । नेता देख्ने बित्तिकै गाली नि गर्दा रहेछौं । फेरि सबै नेता राम्रा छन् भन्न खोजेको पनि होइन । तर के सबै खराब मात्रै छन् त ? के सबै बिग्रिएकै मात्रै छ त ? एकजनाले देश खत्तम छ नि भन्यो भने हो नि हो भनिहाल्दा रहेछौं । उसले सोचेजति नहुन पनि त सक्छ नि, उसले सोचेकै भरमा हामी हिँड्ने त ?

एउटाले त्यो मान्छे खराब छ भन्छ । त्यो सुन्नेलाई पनि खराब नै लागिहाल्छ । नहुन पनि त सक्छ । बाटो बनेन नि होइन ? बनेका पनि छन् नि, त्यतातिर पनि सोच्नु पर्ने होइन र ? । हामीले नराम्रोमा पनि राम्रो खोज्नु पर्ने रहेछ । कसैलाई म प्रश्न गर्दैछु भने त्यो प्रश्नको जवाफ दिन म सक्छु भनेरै प्रश्न गर्नुपर्ने रहेछ । विकास निमार्णका कार्यहरु पनि भइनै रहेका रहेछन्, राम्रा कामलाई राम्रो पनि भयो है भनेर खुलेर प्रंशसा गर्नुपर्ने रहेछ । सामाजको नेतृत्व गर्ने मान्छेहरुलाई सधैं गालीमात्रै होइन, कहिले काहीँ त आलोचनासहितको प्रंशसा पनि गर्नुपर्ने रहेछ ।

अर्का एउटा रोचक कुरा अहिलेसम्म गएका कार्यक्रममा बा उमेर समूहका मान्छेलाई देखेको थिइँन । त्यो कार्यक्रममा तीन चारजना बाहरु पनि हुनुहुन्थ्यो । बाहरुको जोस र जाँगर देख्दा बढो रमाइलो लागिरहेको थियो । सकिन लाग्यो अब दुईचार दिनको भएको भए हाम्रो सोचाईलाई पनि धेरै प्रभाव पाथ्र्यो होला । अगाडि पछाडि हिंड्दै गर्दा दोस्रो दिनको उत्तरार्धमा सहभागीको मुखबाट यो कुरा सुन्दा मन रमाएको थियो ।

दुई दिनको कार्यक्रममा आयोजक बाहेक ४० जनालाई मात्रै सहभागी गराइएको थियो । प्रशिक्षक आदरणीय केदार शर्मा सर हुनुहुन्थ्यो । वरिष्ठ पत्रकार, लेखक, नेपाल मौलिक खानाको परिकारका खोजकर्ता । जो आफैंमा भरिपूर्ण भएको व्यक्तित्व । सरल र सहज तरिकाले प्रस्तुति दिने उहाँको कलालाई मान्नै पर्छ । कति धेरै ज्ञान । उहाँको बारेमा लेख्नको लागि मेरा शब्द नै अपुग भए । सरले कक्षा चलाइरहँदा मनले चाहिँ यो पनि भन्दै थियो किः यस्तो कार्यक्रम त चार पाँच सय मान्छेलाई राखेर दिन पाए, दिन सके हुन्थ्यो होला । प्रत्येक गाउँ, प्रत्येक समाज, प्रत्येक वडा अनि प्रत्येक स्थानीय तहमा । नकरात्मकताले गाँझेको आजको यो समाजलाई केही हदसम्म सकरात्मक सोचको विकासमा प्रभाव पथ्र्यो कि !

सम्बन्धित खबर