२०८१ जेठ ८, मङ्गलवार , ०८:४८:३१ बजे

Sajhamanch
'

तीजको मौलिकता र सामुहिक तीज

सोमवार, असोज १, २०८०

प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्षपनि देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रत बसी आफ्नो मनोकांक्षा पूरा गरेको दिनसँग यो पर्व सम्बन्धित छ ।

कथाअनुसार पार्वतीलाई आफ्ना पिताले आफूले मन पराएको व्यक्तिसँग नभई अर्कै व्यक्तिसँग विवाह गर्ने थाह पाएपछि सखीको सहायताले अज्ञात पर्वतमा गएर कठोर ब्रत बसी भाद्रशुक्ल तृतीयाको दिन शिवलिङ्गको पूजा आरधना गरिरहेको बेला शिव प्रकट भई इच्छाएको वरदानको माग्न आग्रह गर्दा हजुरलाई पति पाउँ भनी ब्रतबसेकी भनेपछि शिवले साथ लिएर आफ्नो बासस्थानमा लगि सुखी र खुशी दाम्पत्य जीवन बिताएको प्रसंग उल्लेख छ ।

दर खाने चलनको बारेमा भने धर्मशास्त्र वा धर्मग्रन्थमा उल्लेख भएको पाइँदैन । तर दरखाने चलन चल्नुको पनि आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । मुसलमानका राजा औरङ्गजेवको पालामा उनीहरुले हिन्दू चेलीबेटीलाई अपहरण गरेर लाने गरेको तर सिन्दूर पोते लगाएका चेलीहरुलाई केही पनि नगर्ने भएकोले आफ्ना चेलीहरुलाई मुसलमानको आक्रमणबाट जोगाउन हिन्दूहरुले सानै उमेरमा आफ्ना छोरी चेलीको विवाह गर्ने गरेको इतिहासमा उल्लेख छ । विवाहपछि हिन्दू नारीहरुले अनिवार्य ब्रत बस्नुपथ्र्यो । ती कलिला छोरी चेलीलाई दिनभर निराहार ब्रत बस्न गाह्रो हुन्छ भनेर आफ्नो अभिभावकहरुले ब्रतको अघिल्लो रात अबेरसम्म अनेक प्रकारका मिष्ठान्न भोजन खुवाउने चलनको सुरुवातबाट दरखाने चलनको विकास भएको बताइन्छ ।

सावित्रा दहाल भट्टराई

तीज मध्यकालिन समयमा वर्षभर काम गरेर वर्षाको समय पार गरेपछि आफ्ना छोरी चेलीलाई आफ्ना मनका वह पोख्ने दुःख सुखको बिसौनी बन्यो । टाढा टाढाका चेलीबेटीहरु एकैठाउँमा भेला भएर अतितदेखि वर्तमानसम्मका आफ्ना घटना परिघटनालाई एक आपसमा आदानप्रदान गर्थे । दिदी बहिनीलाई दाजुभाई कति प्यारा थिए । आमाबुबालाई आफ्ना सबै छोराछोरी एक दिन भएपनि भेला भएर रमाइलो गर्दा बाल्यावस्थाको याद दिलाउँथ्यो । छोरोछोरी प्रतिको स्नेह, ममता र प्यार बढ्थ्यो । छोराछोरीलाई आफ्ना आमाबाबु प्रतिको कर्तव्य, जिम्मेवारी र दायित्वको बोध हुन्थ्यो, पर्वको माध्यमबाट ।

तर अहिले आम मानिसहरुको भनाई रहेको छ कि परम्पराका नाममा प्रतिस्पर्धा बढेको छ, वास्तविक संस्कारको अर्थ र औचित्य नै समाप्त हुनेगरी गरिएको आडम्वर र देखावटीपनले संस्कारको नै खिल्ली उडाएको छ । तीज पर्वको सांस्कृतिक महत्व बुझेर मनाउनेभन्दा पनि रमाइलो गर्ने माध्यम बनाइकोको छ, आदि आदि । यसै सन्दर्भमा तीजको मौलिकता र सांस्कृति महत्व एवम् सामुहिक तीजले सांस्कृति र सामाजिक क्षेत्रमा पारेको प्रभाव र असरका बारेमा झापाका विभिन्न क्षेत्रका अगुवा महिलाहरुसँग विचार यहाँ प्रस्तुत गरिएको छ ।

धर्मशिला चापागाई, संविधान सभा सदस्य

तीजको मौलिकताको बारेमा भन्नुपर्दा हिजोका दिनमा जसरी तीज मनाइन्थ्यो त्यस्तो परिवेश अहिले छैन, हिजो आफ्ना पिडाहरु सिधै भन्न नसकेर संगिनी मार्फत पोख्ने गर्ने । तर आज त्यो अवस्था पनि छैन । महिलाहरु आफ्ना कुराहरु खुलेर राख्न सक्छन्, समय सँगसगै तीज मनाउने तरिकामा परिवर्तन भएको छ । तर त्यसको मूलसारमा भने अहिले पनि परिवर्तन आएको छैन ।

धर्मशिला चापागाई

पहिले सामुहिक रुपमा गाउँ घरमा, मन्दिरहरुमा गएर पूजा गर्ने संगिनी गाउने, अरु पनि गीतहरु गाउने गर्थे । अहिले पनि तीज सामुहिक रुपमै प्रायः मनाउन गरेको पाइन्छ । हिजो महिलाहरु गाउँ घरमा काममा केन्द्रित हुने गरेकोमा अहिले आएर विभिन्न पेशा व्यवसायमा छन् र तिनै निकायहरुमा सामुहिक रुपमा तीज मनाउने गर्दछन् । अर्कोतिर शहरी क्षेत्र र धनाढ्य परिवारका महिलाहरुले आधुनिकताका नाममा तीजलाई बिकृत पार्दै लगेको देखिन्छ । न्यून आय भएका परिवारका महिलाहरुले पनि भड्किलो रुपमा तिजलाई बुझ्नेगर्दा परिवारमा त्यसको नकारात्मक प्रभाव पर्दै गएको छ । सामाजिक, साँस्कृतिक रुपमा बिछृङ्खलता उत्पन्न गर्दै लगेको छ । यस्ता पर्वहरुलाई महिला अधिकारका क्षेत्रमा विगतको समीक्षा र आगामी दिनमा प्राप्त अधिकारको रक्षा गर्दै थप शसक्त बन्नेतिर छलफल गर्ने दिनका रुपमा यस दिनलाई उपयुक्त हुन्छ ।

गीता अधिकारी, केन्द्रीय सदस्य नेकपा एमाले/निवर्तमान उपप्रमुख, दमक नगरपालिका

तीजको मौलिकता हराउँदै गएको अनुभूति कसरी पनि हुन्छ भने हिजो तीजको ब्रतबस्ने अघिल्लो दिन राति जे जस्तो छ मिठो मसिनो खाने चलन थियो । तर कृषिको काम सकेर सबै छोरीचेलीलाई बेलाएर उनीहरुलाई एकैठाउँमा राखेर दुःख सुख साटासाट गर्ने माध्यम थियो तीज । राति १२ बजेर उठेर आमाले ढकने र दूधजन्य परिकारहरु खुवाउनु हुन्थ्यो ।

हिजो तीज माइती र चेलीको सम्बन्धमा मात्र सीमित थियो भने अहिले समाजमा समाजिक संघ–संस्था र सामुहिक ढङ्गले तीज मनाउने प्रचलन बढेको छ । त्यसैले यसलाई नविनतम सोच राखेर उत्पादन र सिर्जनात्मक कार्यमा जोडेर अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ ।

तीजभित्र लुकेको दर्शन भनेको शिवजी पति पाउँ भनेर पार्वतीले ब्रत गरेको हो, यसको सन्देश भनेको श्रीमान र श्रीमती बीचको विश्वास, प्रेम र एक आपसमा भरोसा र माया अभिवृद्धि गर्दै परिवारलाई सन्तुलित ढङ्गले अघि बढाउने हो । यस कुरालाई सम्पूर्ण महिलाहरुले विशेष ध्यान दिनुपर्दछ ।

उमा शिवाकोटी, केन्द्रीय सदस्य, नेपाल महिला संघ

तीज हामी सबैका लागि निक्कै महत्वपूर्ण पर्व हो । हामीले परापूर्वकालदेखि नै तीज मनाउँदै आइरहेका छौं । तीज हिन्दू धर्मावलम्बीहरुको मात्र पर्व भए पनि यो सबै जाति, सबै धर्मको पर्वको रुपमा रुपान्तरण भएको छ । तीजजस्ता हाम्रा चाड, पर्वहरुको मौलिकता र संस्कृतिको संरक्षण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नु अहिले चुनौती बन्दै गइरहेको छ । दर खाने चलन पनि समय सँगसँगै परिवर्तन भएको छ । पहिले जस्तो तरिकाले अघिदेखि नै माइती गएर दर खाने चलन चाहिँ परिवर्तन भएको छ ।

उमा शिवाकोटी

अहिले अधिकांश महिलाहरु विभिन्न क्षेत्रमा व्यस्त छन् जसले चाहेर पनि आफ्नो माइत जान पाउँदैनन्, त्यस्ता दिदी बहिनीहरुलाई मिलाएर आ–आफ्ना संगठनहरुले सामुहिक तीज गर्नु राम्रो हो । तीजमा अन्य धर्माबलम्बीका महिला दिदी बहिनीहरुलाई पनि बोलाएर सामुहिक रुपमा सन्देशमूलक, मौलिकता झल्कने, संस्कार संस्कृति झल्कने खालको कार्यक्रम गरेमा यसले समाजमा सकारात्मक सन्देश जाने खालको कार्यक्रम गर्नुपर्दछ ।

तर महिनैदेखि विभिन्न ठूलो ठूलो होटलमा जाने, विभिन्न पेय पदार्थ खाएर विभिन्न सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो राख्नाले समाजलाई विकृत बनाउनुको साथै आगामी पुस्तालाई र समाजलाई पर्वप्रति नकारात्मक सन्देश फौलाइरहेको छ । होटलमा गएर दर खानुको सट्टो गरिबको झुपडीमा गएर तीज बनाउने हो भने त्यसले तीज पर्व सबैको लागि वराबर वन्न जान्छ । यस विषयमा भने राज्यले पनि ध्यान पु¥याउनु पर्दछ ।

अधिवक्ता हेमकला कट्टेल, निर्वतमान सचिव, नेपाल बार एशोसिएसन, भद्रपुर एकाई

आजको परिस्थिति तीजको मौलिकतामा फरक आएको हैन, समाजको विशेषतामा फरक आएको हो । हिजोको दिनमा छोरी चेलीलाई हेलाहोचो गरिन्थ्यो, आज पनि गरिन्छ । फरक यति हो कि हिजो दुःख पर्दा बुबाले संरक्षण गर्नुहुन्थ्यो भने आज राज्यले संरक्षण गर्दछ । त्यसैले हिजो छोरीले दुःख पाउँदा माइतीको शरण लिन जान्थिन् भने आज छोरीलाई दुःख पर्दा अदालत र संगठन जान्छिन् ।

हेमकला कट्टेल

हिजो तीज क्षेत्री ब्राह्मण समुदायमा विशेष मनाइन्थ्यो भने आज आम नेपाली महिलाले मनाउँदै छन् । यो पर्व महिलाहरुको एकताको प्रतीक बन्दैछ । हिजो क्षेत्री ब्राह्मण समुदायमा विशेष रुपमा मनाइने तीज आज आम नेपाली महिलाले मनाउँदै छन् । तीजमा महिलाले पुरुषको दीर्घजीवनको कामना गर्दै भगवानसँग प्राथना गर्थिन् भने आज आफ्नो पनि जीवन छ भन्ने कुरा बुझ्दैछिन् र निराहार ब्रत बस्दिनन् । यस्ता हजारौ कुरा सकारात्मक छन्, आर्थिक अवस्था सुदृढ बन्दैछ । जसका फलस्वरुप स्वतन्त्र रुपमा आफ्ना लागि सानो भए पनि खर्च गर्ने आँट दिएको छ, महिलाहरुलाई समुहिक तीजले ।

सामुहिक तीजको नकारात्मक पाटो भनेको कहीँ उच्छृङखलता, कतै अश्लिल नाच नाचेको र अपाच्य भोजन गरेको पाइयो । त्यो चाहिँ आम महिलाको चरित्र होइन । त्यस्ता कुरालाई अनावश्यक प्रचारमा ल्याएर आम महिलाको उपहास गर्नुहुदैन । सामुहिक तीज कार्यक्रमको माध्यमबाट महिलाहरुको सशक्तिकरणमा सहयोग पुगेको छ, नेतृत्व विकास भएको छ । त्यसैले यसलाई सकारात्मक पक्षको रुपमा लिनु पर्दछ ।

भीमा शिवाकोटी,

निर्वतमान उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, झापा शाखा
निवर्तमान अध्यक्ष, नारी सञ्चार गृह झापा

तीजको मौलिकता कायम छ वा हरायो यो विषयमा विज्ञहरुले नै भन्नुहोला तर समयको गतिसँगै केही केही कुरा परिवर्तन भएका छन् । समय सँगसँगै सबै संस्कार र संस्कृतिमा परिवर्तन भएका छन् । सबै संस्कार र चाडपर्व पनि परिवर्तन भएका छन् ।

सामुहिक तीजले समाज रुपान्तरणमा सहयोग गरेको छ । महिलाको सशक्तिकरण एउटा शसक्त माध्यमको रुपमा यसलाई दिदी बहिनीहरुले प्रयोग गरिरहेका छन् । तर सबैले धारेहात चाहिँ तीज पर्वलाई मात्र किन लगाएको हो ? यसो नगर्न म सम्पूणमा आग्रह पनि गर्दछु । तर यसका केही विकृत पक्षहरु पनि छन् । होटलमा गएर मद्यपानलाई दरको रुपमा खानु अन्त्यन्तै विकृत रुप हो ।

यसरी मादक पदार्थको सेवन गरेर हेर्नै नसकिने गरी नाच्दै गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा हालेर समाजलाई विकृत बनाउने छुट कसैलाई छैन । यस्ता क्रियाकलापको हामी सबैले खुलेर विरोध गर्नुपर्दछ । दर खाने भनेको निराहार ब्रत बस्ने अघिल्लो रात शुद्ध दूधबाट बनेका परिकार नै खाने हो ।

स्वस्तिका आचार्य, राष्ट्रिय उपाध्यक्ष, नेपाल जेसीज

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको मौलिकता हराएको गुनासो सुनिए पनि समय क्रमसँगसगै परिमार्जन भएको महसुस गरेकीछु मैले । यो पर्व पहिला पहिला चेली माइती भौतिक रुपमा टाढा टाढा हुने र माइती गएर चेलीलाई ल्याउने र मिठो मसिनो खुवाउने चलन थियो । तर हिजोआज मानिसहरु विभिन्न पेसा व्यवसायमा व्यस्त हुने हुँदा आफ्नो अनुकूल बनाएर तीजको दर खाने प्रचलन बढेको छ ।

पहिरनको हिसाबमा मौलिकता हरायो भन्दा समयक्रम सँगसँगे मानिसको क्रयशक्ति बढेर होला, समयको माग होला, फेशनको प्रभाव होला, त्यसले गर्दा सवै पर्वहरु केही भड्किला र महंगा भएको छन् । त्यसबाट तीज पर्व पनि अछुतो छैन । खानेकुराको कुरा गर्दा दर भन्ने बित्तिकै दहीमा काँक्राको अचार, ढकने, खिर सक्खर आदि को मिश्रमबाट राति दरको रुपमा खाने चलन थियो ।

स्वस्तिका आचार्य

तर त्यसमा परिमार्जन भएर अहिले विभिन्न मांसाहारी खानेकुरा पनि खान थालिएको छ । त्यसैले पछिल्लो पुस्ताले ढकने, खिरको महत्व नबुझ्लान् कि वा हाम्रा मौलिक खानेकुरा हराएर जान्छन् कि भन्ने चिन्ता पनि छ । त्यसैले अरु दिन जे जे खाएपनि दरखाने दिनचाहिँ हाम्रा मौलिक खानेकुरालाई नै प्राथमिकता दिनुपर्दछ ।

सामुहिक तीजको प्रचलनका सम्बन्धमा भन्नुपर्दा अहिले चाहिँ अति नै भयो जस्तो लाग्छ । कतिवटा बोलाएका ठाउँमा जान पनि सकिँदैन । समाजका विभिन्न समूह, सहकारी, संस्था, क्लब, महिलाका संघ–संस्थाहरु लगायत प्रायः सबै संस्थाहरुले सामुहिक तीज मनाउने गर्दछन् । यसका राम्रा पक्ष पनि छन्, नराम्रा पक्षहरु पनि छन् ।

अहिलेको आर्थिक मन्दी, हरेक मानिसको व्यस्तता, बोलाएका ठाउँमा पुग्नैपर्ने बाध्यता, आदिले गर्दा मलाई के लाग्छ भने हामी महिलाका संस्था मिलेर एकै ठाउँमा तीज मनाउन पाए समयको पनि बचत, आर्थिक मितव्ययिता हुने, एकताको सन्देश पनि जाने र समय व्यवस्थापन पनि हुनेथियो ।

यसको मतलब महिलाको पर्वमा महिलालाई नै बन्देजको कुरा हामीलाई पनि स्वीकार्य हुँदैन । सामुहिक तीजमा गर्नैहुँदैन भन्ने पक्षमा म पनि छैन । यस पर्वलाई हरेक महिला स्वतन्त्रताको पर्व, महिलाको पीडा खुलेर राख्न पाउने दिने, खुलेर नाच्न पाउने आफ्ना पीडा राख्न दिनको रुपमा पनि लिइन्छ, भनेपछि यसमा बन्देजको कुरा हामीलाई पनि स्वीकार्य हुँदैन ।

तर यो तीज एक दिनमा एउटा संस्था अर्कोदिन अर्को संस्थाको टुक्रेटुक्रे तीज गर्नुभन्दा धेरैवटा संस्थाहरु एकैठाउँमा मिलेर तीज मनाइयो । आयोजना गर्न सहज हुने, त्यसले एकताको सन्देश दिने र महिनैदेखि तीज मनाउँछ भन्ने जुन गलत व्याख्या गरिन्छ त्यसबाट हामीले छुटकारा पाउँथ्यो जस्तो लाग्छ ।

भगवती घिमिरे, वरिष्ठ उपाध्यक्ष, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

तीजको मौलिकताको विषयमा कुरा गर्नुपर्दा हिजो हजुरआमाको पालामा जसरी मनाइन्थ्यो । पक्कै पनि आमाको पालामा त्यसरी पर्व मनाइएन होला । हिजो आमाले आफूले मनाएको तीजको मौलिकतालाई हामीले कत्तिको पालना गर्न सक्यौ र आज हामीले मनाएजस्तै गरी भोलि हाम्रा छोरीहरुले पक्कै तीज मनाउने छैनन् ।

भगवती घिमिरे

समयक्रम सँगसगै सबै चाडपर्व र संस्कार संस्कृतिलाई मनाउने तौल तलिकामा फरक आएजस्तै तीजको मौलिकतामा पनि केही फरक आएको छ । हिजो जस्तो माइती लिन आउने र चेली माइत जाने प्रचलनमा कमी आएको छ । तर पनि यसको मौलिकता र संस्कृति जोगाउनु पर्छ भन्ने दिदी बहिनीले सकेसम्म समय निकालेर माइत जाने, संगिनी र पुराना जस्ता कुरालाई प्राथमिकता दिइरहेका छन् ।

हिजोका दिनमा पेटभर खान माइतै पुग्नुपर्ने समय पनि थियो तर आज त्यस्तो परिस्थिति छैन । अधिकांश दिदी बहिनीहरु आर्थिकरुपमा सक्षम र व्यस्त हुनुहुन्छ । त्यसैले समय सँगसँगै तीज पर्व मनाउने तरिकामा पनि फरक आएको छ ।

तीजलाई सामुहिक रुपले मनाउँदा त्यसले गर्ने सांस्कृतिक सामाजिक असरको विषयमा कुरा गर्नुपर्दा हामी सहकारीकर्मीहरुले समावेशी तीजलाई महत्व दिएका छौं । नेपाल बहुजाति, बहुभाषिक देश भएको कारण तीज पर्व हिजो हिन्दू धर्मावलम्बीहरुको मात्र पर्व थियो । आज नेपाली महिलाहरुको एक विशेष पर्वको रुपमा रुपान्तरण भएको छ । हामीले हाम्रा सबै महिला सदस्यहरुलाई तीजमा सहभागी भएर अत्यन्तै हर्सोल्लासका साथ तीज मनाइरहेका छौं ।जसले तीजको महत्वलाई अझ उचाईमा पुर्याएको छ ।

अर्कोतिर अहिलेका महिलाहरु कुनै न कुनै क्षेत्रमा संलग्न छन्, उनीहरु व्यस्त र जिम्मेवारीमा भएको कारण तीजमा माइत जान पनि भ्याउँदैनन् । आफू संलग्न संस्थाले सामुहिक तीज मनाएर आफ्ना दुःख सुख साटासाट गर्ने माध्यम बनाउँदा उनीहरुले माइतीको अनुभूति प्राप्त गर्दछन् त्यसैले यसका सामाजिक महत्व अझ बढेको छ ।

तर होटल होटलमा गएर खाने, अभद्रतरिकाले नाच्ने र विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, अशोभनीय गतिविधिले भने हाम्रा परम्परा माथि औंला ठड्याइरहेका छन् । यस गतिविधिलाई निरुत्साहित गर्नुपर्दछ । समग्रमा तीजको सामाजिकीकरण भएको राम्रो हो, तर परम्परा माथि प्रश्न उठ्ने अशोभनीय र असामान्य गतिविधिको नियन्त्रण भने जरुरी छ ।

कञ्चना सिटौला, एविसी नेपाल झापा अध्यक्ष

पहिलाको तीजमा अघिल्लो दिन दरखाने, खासगरी दूधका परिकार र काँक्राको अचार.खाने प्रचलन थियो । तर अहिले १ महिना अघिदेखि तीज मनाउने, सुन्न नसक्ने गाना, हेर्न नसक्ने नृत्य, पादक पदार्थको अत्याधिक सेवन गर्ने र समाजिक सञ्जालमा पोष्ट गर्ने गर्नाले पछिल्लो पुस्ताले यो हाम्रो संस्कार नै होइन भनेर पर्व नै समाप्त हुने तहमा पुर्याउने जुन गतिविधि भएका छन् त्यसलाई खुलेर विरोध गर्नुपर्दछ ।

तर महिलाहरु संगठित भएर समाजमा योगदान गर्दै र सेवामुलक कार्य गरिरहेका छन् त्यस्ता गतिविधिको स्वागत गर्नु पर्दछ । तीजको दर भाद्रशुक्ल द्वितीयाका दिन बेलुकी ढकने र दही काँक्रो खाने हो भन्ने कुरा हामीले बुझाउनु पर्दछ । महिलाहरुले पहिलेदेखि नै लगाउँदै आएका रातो सारी, चुरा पोतेजस्ता आफ्ना श्रृंगारका सामान लगाउँदा विकृत भयो भन्नु भएन तर महंगा मंहगा गहना र भड्किला पोशाक लगाउन भएन ।

नैनकला भट्टराई, उपाध्यक्ष, बिर्तामोड उद्योग बाणिज्य संघ

हामी नारीहरुको लागि यो पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो । चेली र माइती बीचको सुमधुर सम्बन्ध बनाउने यो पर्वको आफ्नै महत्व छ । हामीलाई हजुरआमा र आमाहरुले दिएको संस्कार बमोजिम पर्व मनाउनु पर्दछ भन्ने मलाई लाग्छ । तर पछिल्लो समयमा तीज पर्व भड्किलो बन्दै गइरहेको छ ।

समाजमा हरेक पर्वको वास्तविकता बुझ्नुभन्दा पनि देखावटी रुपमा पर्व मनाउने प्रचलनले केही समस्या देखिएको छ । तीज पर्वलाई जोडेर तडक भडक गर्ने, खान नहुने खाने कुरा खाने र समाजिक सञ्जालमा राख्ने गर्दाले यसल आगामी पुस्तामा के सन्देश जान्छ ? सबैले गम्भिर भए बुझ्ने बेला भएको छ ।

नैनकला भट्टराई

हामीलाई थाह छ, धर्मले एउटा बाटो छ, परम्पराको आफ्नै बाटो छ, चाडवर्षलाई सांस्कृतिक पर्वभन्दा रमाइलो पर्वको रुपमा रुपान्तरण गर्दै गइरहेका कारण पछिल्लो समयमा तीज पर्व पनि धेरै विकृत हुँदै गएको छ । यो पर्व यति धेरै विकृत हुनुको अर्को कारण धर्मप्रतिको अनास्था पनि हो । श्रीमान्को सुस्वास्थ्य र दीर्घायूका लागि ब्रत बस्नुपर्ने कुरा वेकार हो ।

यदि श्रीमानको दीर्घायूका लागि ब्रत बस्नुपर्छ भने श्रीमतीको लागि पनि बस्नुपर्छ आदि कुराले गर्दा पर्वको पौराणिक महत्वप्रति प्रश्न उठाउन थालिएको अवस्था पनि हो । तर हाम्रा मौलिकता हराएमा हाम्रो अस्तित्व पनि समाप्त हुन्छ, त्यसैले पर्वको मौलिकताको संरक्षण गर्नु तपाई हामी सबैको कर्तव्य हो ।

समग्रमा भन्नुपर्दा तीजको मैलिकताको मूलसारमा परिवर्तन भएको छैन तर समयानुसार परिमार्जन भएको छ । सामुहिक तीजले कतैकतै विच्छृङ्खलता ल्याए पनि आम महिलाहरुलाई जो आफ्ना माइती नभएर, टाढाटाढा माइती भएर र कार्य व्यस्तताले माइत जान पाएका छैनन् । उनीहरुले सामुहिक तीज मार्फत आफ्नो माइतीको अनुभूति गर्दछन् । सामुहिक तीजको माध्यमबाट महिलाहरुको नेतृत्व र व्यक्तित्च विकास भएको छ ।

तर तीज पर्वको नाममा रहेको अस्वच्छ प्रतिस्पर्धा र गलत विचारले परिवार, समाज र अन्तत्वगोत्वा राष्ट्रलाई नै ठूलो घाटा पुर्याउँछ । पारिवारिक, आर्थिक, सामाजिक तथा नैतिक लगायतका सम्पूर्ण क्षेत्रमा यस्को नकारात्मक असर बढ्दो छ । श्रीमान श्रीमतीको प्यार र माया बढोस् र दाम्पत्य जीवन सुखमय बनोस् भन्ने कामनाका साथ मनाइने यो पर्वमा प्रतिस्पर्धाको भावनाले पारिवारिक विखण्डनको अवस्था सृजना हुन सक्छ । दिनभर परिश्रम गरेर हात मुख जोर्नेहरुको लागि पर्व वोझ बन्न सक्छ ।

दैनिक उपभोग्य सामाग्रहरुको उपभोगसमेत गर्ने नसक्नेहरुको लागि चाडपर्वको अर्थ र औचित्य पनि समाप्त हुने अवस्था देखा पर्नसक्छ । त्यसैले आम समस्याले ग्रसित हुँदै गएको समाजको विकास गर्न अब महिलाहरुले कसरी समाजमा प्रस्तुत हुने ? महिला र पुरुष बीचको एकतालाई कायम राख्दै कसरी सहकार्य गर्ने ? आध्यात्मिक पौराणिक चिन्तनको संरक्षण र संबद्र्धन गर्न आर्थिक तडकभडक र उच्छृङ्खलताको सोचाइबाट समाजलाई कसरी मुक्त गराउने ?

महिला उत्थानको लागि अधिकारको समुचित प्रयोग गरी क्षमता र दक्षताको विकास गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कसरी कायम राख्ने भन्ने दीर्घकालीन सोचको विकास गर्ने कुरामा महिलाहरुले ध्यान दिनु जरुरी छ । महिलाहरुको सक्रियता र समक्षताको सम्बन्ध परिवार, समाज र राष्ट्रको विकाससँग जोडिएको हुन्छ । पारिवारिक द्वन्द्व कम गर्न, सामाजिक र सांस्कृति क्षेत्रको सुधार र सम्बद्र्धन गर्न, आर्थिक रुपमा सक्षम समाजको परिकल्पना गर्न, अपराध रहित समृद्ध समाजको निर्माण गर्न संस्कृतिका नाममा आएको विकृतिलाई रोक्न महिलाहरु नै अग्रसर र सक्रिय बन्नु आवश्यक छ ।

पर्वको समयमा नयाँ लुगा र गहना नलगाउनु, रमाइलो नगर्नु र नखानु भन्ने हुँदै होइन तर संस्कार र संस्कृतिलाई धज्जी उढाउने गरी त्यसको मूल मर्मलाई नै बिर्सिएर समय, श्रम र रुपैयाँ पैसाको फजुल खर्च गर्ने प्रवृत्तिलाई सुधार गरी घर घरमा हुने द्वन्द्व न्यूनीकरणमा समेत ध्यान पुर्याउनु आवश्यक छ । यसतर्फ पनि सबैको ध्यान जाओस् हरितालिका तीज २०८० को अवसरमा सबैमा शुभकामना ।

सम्बन्धित खबर