२०८१ असोज ४, शुक्रवार , १२:०६:३१ बजे

Sajhamanch
'

सञ्चार माध्यमको प्रभावः ६ वर्षदेखि सम्पर्कविहिन छोरा मलेसियामा रहेको पुष्टि भएपछि आमाले हर्षका आँशु खसालिन्

बिहिवार, भदौ ७, २०८०

मेचीनगर । विगत ६ वर्षदेखि परिवारसँगको सम्पर्कमा नरहेको काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसियाको एउटा कम्पनीमा सुरक्षित तवरले काम गरिरहेको पाइएको छ ।

हिजोमात्र पत्रकारहरुसँग भक्कानो छोडेर रुँदै आफ्नो छोराको खोजी गरिदिन घिमिरेले आग्रह गरेकी थिइन् । सो समाचार र भिडियो हेरेर मलेसियाबाट एकजना अपरिचत व्यक्तिले पत्रकार अर्जुन कार्कीलाई ह्वाटस्एपमा कल गरेर ‘काँकरभिट्टाका गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीएन कम्पनीमा काम गरिरहेको’ जानकारी गराएका हुन् ।

‘आफूसँग अपरिचित पोखराका प्रताप थापाले मलेसियाबाट ह्वाटस्एपमा कल गरेर समाचारमा भनिएको गोपाल घिमिरेलाई आफूले ७/८ वर्षदेखि चिनिरहेको र आफूहरुसँगै काम गर्ने गरेको जानकारी गराएका छन्’ पत्रकार कार्कीको भनाई छ ।

प्रतापको भनाइलाई उधृत गर्दै पत्रकार कार्कीले भने, ‘गोपाल हामीसँगै काम गरिरहेको छ, उसको रातिको डिउटी थियो र अहिले उ सुतिरहेको छ । म डिउटीमा छु । उ यहाँ सञ्चै छ । आमालाई चिन्ता नलिनु भन्दिनु । मैले एम्वेसीको पेजमा तपाईले हालेको भिडियो र गोपाल घिमिरेको आमा रुँदै गरेको फोटो हेरेपछि म छक्कै परेको छु ।’

गोपालले पहिलैदेखि नै आमासँग कुरा गर्न खोज्दा कतै पनि फोन नम्बर नपाएका कारण उ निरास भइरहेको प्रतापको भनाई छ । गोपाललाई उनको आमासँग कुराकानी गर्ने वातावरण मिलाई दिन पत्रकार कार्कीलाई अनुरोध पनि गरेका छन् ।

गोपाल घिमिरेको फोटो प्रतापले पत्रकार कार्कीलाई पठाइदिए पछि उनले तत्कालै उनको आमालाई जानकारी गराएको र उनी खुशीले गदगद हुँदै हर्षले भक्कानिएकी पनि कार्कीको भनाई छ । मलेसियामा श्रम बेच्न गएको आफ्नो ३७ वर्षको छोरा विगत ६ वर्षदेखि सम्पर्कविहीन भएकोले खोजी गरिदिन आमाले आग्रह गरेकी थिइन् ।

सम्बन्धित खबर