२०८१ माघ ३, बिहिवार , ०५:३४:१९ बजे

Sajhamanch
'

एनएमसीका सदस्य सहजकर्ताहरुलाई परिमार्जित कार्यविधिहरु माथि सहजीकरण

आइतवार, साउन २८, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको बचत तथा ऋण ब्यवसायमा सदस्य सहजकर्ताको भूमिकामा रहेका कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ ।

संस्थाको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले साउन २७ गते शनिबार संस्थाको कार्यक्षेत्र तीन जिल्लाका सात स्थानमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । बचत तथा ऋण ब्यवसायका सदस्य सहजकर्ता कर्मचारीहरुलाई आर्थिक वर्ष २०८०/०८१ का लागि परिमार्जित कार्यविधिहरु माथि सहजीकरण गरिएको थियो ।

मेची क्षेत्रका कर्मचारीहरुका लागि झापाको धुलाबारीमा, बिर्ता–अर्जुन क्षेत्रका लागि बिर्तामोडमा, भद्रपुर–केचना क्षेत्रका लागि चन्द्रगढीमा र कनकाई–रतुवा (क) क्षेत्रका सदस्य सहजकर्ता कर्मचारीहरुलाई सुरुङ्गामा भेला गरी कार्यक्रम सञ्चालन गरिएको शिक्षा तथा तालिम उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतले बताए ।

उनका अनुसार संस्थाको कनकाई–रतुवा (ख) क्षेत्रको कार्यक्रम दमकमा, इलाम क्षेत्रको कार्यक्रम इलाम बजारमा र मोरङ क्षेत्रको अभिमुखीकरण तालिम बेलबारीमा सञ्चालन गरिएको थियो ।

सो अभिमुखीकरण तालिममा संस्थाको सदस्यता सम्बन्धी कार्यविधि, कर्जा सम्बन्धी आन्तरिक कार्यविधि, बचत सम्बन्धी नयाँ कार्यक्रमहरु, सदस्य सहजकर्ता कर्मचारीहरुले पाउने पुरस्कार तथा सम्मान कार्यविधि, घरदैलो कार्यक्रम लगायतका विषयमा संशोधित खण्डहरु माथि छलफल गरिएको थियो ।

संस्थाको वित्तीय एवम् समग्र वस्तुस्थिति सहितको चिनारीसमेत पस्केर सदस्य सहजकर्ताहरुलाई अझ सक्षम बनाउने प्रयासले कार्यक्रम आयोजना गरिएको उपसमितिका सहसंयोजक घनश्याम अधिकारीले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा सहभागी सदस्य सहजकर्ताहरुले संस्थाले बनाएका कतिपय नीतिहरु कार्यान्वयनमा लैजाँदा आफूहरु अप्ठ्यारोमा परिरहेको अवस्थामा अभिमुखीकरण कार्यक्रमबाट धेरै सहज भएको प्रतिक्रिया दिएका थिए ।