२०८१ माघ ३, बिहिवार , ०३:३७:२९ बजे

Sajhamanch
'

साउन २८ गतेदेखि कक्षा १२ सम्म पढाइहुने निजी विद्यालय बन्द गर्ने सञ्चालक संगठनको घोषणा

बुधवार, साउन २४, २०८०

झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूको असहमति छ । प्याब्सन, एन–प्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलन घोषणा गरेका हुन् ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्द हुनु अगावै सरकारले ऐन सच्याउने विषयमा प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउँदै यसो नभएमा घोषित आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

शिक्षा ऐनको मस्यौदामा पाँच वर्षभित्रमा निजी विद्यालयहरु शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था छ । निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउँदै आएका छन्।

विधेययकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको उनीहरुले बताएका छन् ।

विद्यालय सञ्चालकका संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्देश्यबाट अभिप्रेरित भएको ठहर गरेका छन् ।

कार्यक्रमअनुसार बुधबार देशभरका पालिका र ७७ वटै जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समान्वय इकाई, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तय भएको छ ।

यस्तै बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ–आफ्ना संगठनमा समीक्षा बैठक गर्ने, साउन २८ गते आइतबारदेखि देशैभरका निजी विद्यालयहरु अनिश्चितकालिन बन्द गर्ने र भदौ १ गते विद्यालय बन्दलाई निरन्तरता दिँदै विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने पत्रकार सम्मेलनमार्फत् आन्दोलनको घोषणा गरेका छन् ।

सम्बन्धित खबर