२०८१ माघ १४, सोमवार , ०३:०७:४५ बजे

Sajhamanch
'

नेतृत्वसँग निराश झलनाथ : फुट्दाजस्तो उमंग छैन, कार्यकर्ता एमालेमा जान थाले

आइतवार, साउन २१, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् ।

एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको गुनासो उनले गरेका हुन् ।

शनिबारबाट सुरु पार्टी स्थायी कमिटी बैठकमा खनालले पेश गरेको ‘वर्तमान परिस्थितिमा ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु’ शीर्षक १६ पृष्ठ लामो दस्तावेजमा यी लगायत समस्या उठाइएको छ ।

‘विद्रोह गर्दा हामीसँग जुन जनमत थियो, त्यो खुम्चिएको छ, उपचुनाव हुँदा हाम्रो पार्टीले उम्मेदवारसम्म उठाउन सकेन,’ खनालले लेखेका छन्, ‘युवा विद्यार्थी दिशाहीन छन् । कार्यकर्तामा पलायन, पदलोलुपता र हताश छ ।’

नेकपा एसका सांसदले सदनमा बोलेको नसुनिएको, मुख्य प्रतिद्वन्द्वीसँगै समाजवादी मोर्चालगायत गठबन्धन गरेर जाने प्रवृत्ति भएको, कार्यशैलीमा एमाले र जबजकै धङधङी रहेको खनालको आरोप छ ।

पार्टीले प्रधानशत्रुको तुरुन्तै किटान गर्नुपर्ने उनको माग छ । पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनी भन्छन् ।

‘हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढ्यो, कार्यकर्तामा बरु एमालेतिरै जाने चिन्तन विकास भयो,’ खनालको डकुमेन्टमा भनिएको छ, ‘चुनाव वर्गसंघर्षकै अभियान हो, तर हाम्रो पार्टीले चुनावलाई वर्गसंघर्षको रुपमा देखेन ।’

सम्बन्धित खबर