दमक । दमकमा सम्पन्न कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ ।
दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै सुकुनाले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता काँकरभिट्टाले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।
यसअघि सेमिफाइनलमा काँकरभिट्टाले मोडल क्याम्पस दमकलाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुकुनाले भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई ४–३ गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो ।
विजेता तथा उपविजेतालाई आयोजक युनियन सभापति सोविम न्यौपाने, दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराई, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख डा। नेत्रबहादुर बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए । विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।