दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमीफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ ।
हिजो राति सम्पन्न खेलमा मोरङको सुकुना बहुमुखी क्याम्पस, काँकरभिट्टा बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस र मोडल क्याम्पस दमक अन्तिम चारमा प्रवेश गरेका छन् ।
सुकुनाले महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ७–० को फराकिलो गोल अन्तरले हरायो । काँकरभिट्टाले महेन्द्र मोरङलाई ६–२ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गर्यो ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा आयोजक दमकको बी टिमलाई मेचीले ५–० को गोलले हरायो । अन्तिम क्वार्टर फाइनलमा आयोजकको ए टिम मोडल क्याम्पस दमकसँग ७–३ गोल अन्तरले पराजित भयो ।
आज हुने पहिलो सेमीफाइनल खेलमा मोडल क्याम्पस दमकले काँकरभिट्टाको सामना गर्नेछ भने सुकुनाले मेचीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
आयोजक युनियन सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे हुनेछ ।