२०८१ जेठ ८, मङ्गलवार , ०८:०४:१५ बजे

Sajhamanch
'

पहिलो बोर्ड बैठकमा संगालेको अनुभूतिः ‘घरमै स्वास्थ्य उपचार आयुर्वेदको सरोकार’

बिहिवार, साउन ४, २०८०

झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ मा अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको पाडाजुँगीबाट झण्डै ३ किलोमिटर दक्षिणमा रहेको यो अस्पतालले प्रदेश गौरवको रूपमा माया पनि पाएको छ । निर्माणकालको पहिलो वर्षमै विभिन्न क्षेत्रअन्तर्गत सेवा दिन सकेको सो अस्पतालले बजारको खर्चिलो र स्वास्थ्य प्रतिकूल उपचार विधि र पद्दति विरुद्ध सुलभ, विश्वसनीय र प्रविधिमैत्री आयुर्वेदमा आधारित उपचार दिने योजना अघि सारेको छ । अस्पतालको बोर्ड सदस्य हुनुको नाताले यसको पहिलो बैठक २०८० साउन ३ गते अस्पतालको कार्यकक्षमा सामेल हुँदा आफूलाई प्रस्टैसँग यो अनुभूति भएको छ ।

आयुर्वेद अर्थात् विभिन्न प्रजातिको वनौषधिको रसायनमिश्रित प्रभावबाट सम्भव हुने उपचार विधि र पद्दति हो । पूर्वीया जीवन दर्शनको समेत निकै गाढा प्रभाव रहेको नेपाली समाजमा आयुर्वेद स्वास्थ्य उपचार अब सामान्यदेखि क्यान्सरसम्मका जटिल रोग पूर्णतः निदानका लागि क्रमशः लोकप्रिय र अनिवार्य बन्न थालेको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थकुमार ठाकुर बताउनुहुन्छ ।

आयुर्वेदको क्षेत्रमा पढेर र परेर पनि प्रशस्तै विज्ञता हासिल गरिसक्नु भएका डा. ठाकुरका अनुसार हाम्रो गाउँघर, समाज र समग्र परिवेशमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यो रसायनिक गुणमा आधारित हुन्छ । यसको सम्मिश्रण र प्रभावबाट आयुर्वेदले हाम्रो शरीरलाई पूर्णरूपमा उपचार गर्छ । आयुर्वेद कुनै पनि रोगबाट पूर्णरूपमा छुटकारा पाउने कुरासँग जति मात्रामा सम्बन्धित छ, उति नै यसले बिग्रेको स्वास्थ्य अवस्थामा सुधार ल्याउनुका साथै हाम्रो जीवनशैलीलाई पनि प्रकृतिमैत्री, वातानुकूलीत र सन्तुलित बनाउछ । प्राकृतिक जडिबुटीहरू र प्रकृतिप्रदत्त अन्य पदार्थहरूबाट यसभित्रको रसायनिक गुणको सम्मिश्रणले औषधी तयार हुने हुँदा यसको सेवनले कुनै पनि खालको साइड इफेक्ट गर्दैन र हुँदैन ।

डा. ठाकुर दाबाका साथ भन्नुहुन्छ– आयुर्वेद सम्मत उपचारविधि र पद्दतिलाई प्रभावकारी बनाउन स्वस्थ जीवनशैली अपनाउने, खानामा नियन्त्रण गर्ने, जिब्रोको स्वादअनुसार होइन बरु रोगअनुसार खाना खाने हो भने आयुर्वेदिक उपचारले छिटो र प्रभावकारी रूपमा रोग निर्मूल गर्नसक्छ । यसले तन र मन दुवैलाई स्वस्थ बनाउँछ । सधैँभरि उपचार गराइरहनु पर्ने कारणले हुने खर्चबाट पनि बचाउँछ ।

आयुर्वेद उपचार विधि र चिकित्सा–पद्दति नयाँ पटक्कै होइन । प्राचीन कालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त प्रयोगमा ल्याइएको अवस्था हो । दुर्लभ गुणकारी प्रकृतिप्रदत खनिजदेखि लिएर वनौषधिहरूको समेत भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश यसनिम्ति ठूलो स्रोत हो भने अग्रजहरू प्रेरणास्रोत हुनुहुन्छ ।

आयुर्वेद अर्थात् आयुः र वेद शब्दको समिश्रित भावलाई हेर्ने हो भने आयुको वेदको रूपमा यसलाई लिन सकिन्छ । वेद भनेको ज्ञान, विज्ञान हो । आयु चाहने प्राणी मानिसका लागि वेद अर्थात् ज्ञान । आयुर्वेद अर्थात् आयु चाहने मानिसको लागि स्वस्थ्यकर जीवनको ज्ञान, विज्ञान हो आयुर्वेद ।

आयुर्वेदिक चिकित्सा–पद्दतिका मूलतः ८ अंगहरू हुन्छन् । यसमध्ये प्रादेशिक आयुर्वेद अस्पताले ओपीडी सेवामा कायचिकित्सा, शल्यचिकित्सा र सामान्य चिकित्सालाई प्रयोगमा ल्याएको छ । यसको पञ्चकर्मअन्तर्गत पूर्वकर्म, प्रधानकर्म, पश्चातकर्म, अग्निकर्मलाई दैनन्दिन सेवा प्रवाहमा ल्याइएको छ । प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र औषधी वितरण सेवालाई अत्यन्तै चुस्त र प्रभावकारी सञ्चालनमा ल्याएको अस्पतालले कतिपय औषधीलाई निःशुल्क उपलब्ध गराएको छ । केही औषधी माथि स्वास्थ्य बीमा कार्यक्रम मातहत रहने गरी सामान्य शुल्क निर्धारण गर्नुपर्ने बाध्यता रहेको अस्पताल सञ्चालन बोर्ड अध्यक्ष विश्वनाथ बरालको तर्क छ ।

पेशाले शिक्षक एवं समाजसेवी मणि भण्डारीसहित स्थानीय बासिन्दाले दानस्वरुप उपलब्ध गराउएको २ बिगाहा ६ कठ्ठा जमिनमा अस्पताल सञ्चालित छ । अस्पताल परिसरमा महाभारतकालीन बोटविरुवा लगाउनुपर्ने महशुस भएको अध्यक्ष बरालको निश्कर्ष पनि छ । आयुर्वेद जीवनको ज्ञान हो र आयुर्वेदको उद्देश्य रोगको उपचार गर्नु मात्र नभई स्वस्थ व्यक्तिको हकमा पनि स्वास्थ्यको रक्षा गर्नु अर्को महत्त्वपूर्ण चुनौतिलाई समाधान दिने उपाय आयुर्वेद र आयुर्वेदिक उपचार हो भन्ने तर्क अध्यक्ष बरालको छ ।

आमरूपमा नागरिकको स्वास्थ्य जीवन र स्वस्थ्यकर दिनचर्या कायम राख्नु राज्यको पहिलो शर्तको रूपमा संविधान प्रदत्त मौलिक हकअधिकार कायम भएसँगै नेपाल सरकार यसलाई प्राथामिक महत्त्वका साथ कार्यक्रम निर्माण र प्रभावकारी कार्यान्वयनमा ध्यान दिँदै आएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावसँगै निरोग नेपाल निर्माणको अभियानले गति लिएको कतिपय बेलामा सार्वजनिक तथ्यले भन्छ । यो अभियान अन्तर्गत निर्देशित एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री रहनुभएको बखतमा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण र सञ्चालन प्रक्रियाले गति लिएको हो ।

बुधबार सम्पन्न पहिलो बोर्ड बैठकले सम्बद्ध सबै सहयोगी पक्षलाई हार्दिक धन्यवादसहित यस क्षेत्रमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याएकोमा आभार व्यक्त गरेको छ ।

सम्बन्धित खबर