२०८१ जेठ ८, मङ्गलवार , ०६:३३:५० बजे

Sajhamanch
'

भ्रष्टाचारः रहर कि बाध्यता !?

बिहिवार, साउन ४, २०८०

जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उतिकै दायित्व हुनुपर्छ । सरकारी सेवा बाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई संचालन गर्न दिएको एउटा खुल्ला अर्थतन्त्र भएको मुलुकले सबैको रोजगारीको दायित्व लिन त नसक्ला नै । तर नीतिगत सुधार गरेर, रोजगारमैत्री ऐन, कानूनहरु निर्माण गरेर रोजगारी सिर्जना गर्ने बातावरण बनाउनु परम् कर्तव्य अनि राज्यको दायित्व हो । धनीले पढ्ने एउटा शिक्षा र गरीबका लागि अर्को स्कूल, अर्कै शिक्षा रहेसम्म देशमा बीपी कोइरालाले परकल्पना गरेको प्रजातान्त्रिक समाजवादको न स्थापना हुनसक्छ न त लोकतन्त्रको संस्थागत विकास नै !

अरुको भन्दा आफ्ना छोराछोरी अब्बल बनुन्, राम्रो शिक्षा हासिल गरुन्, निरोगी र स्वस्थ रहुन्, सुयोग्य नागरिक बनेर देशको सेवा गरुन् भन्ने भावना जाग्नु स्वभाविकरुपमा लिनुपर्दछ । तर यो प्रतिष्पर्धाका लागि सक्दै नसक्नेले हात उठाउँछन् र आफ्ना सन्तानलाई अरबको मरुभूमिमा ५० डिग्री तापक्रममा सस्तोमा श्रम बेच्न बिवस बनाउँछन् । एउटा जागिरे कर्मचारी राजनीतिमा लागेकाहरुले घरखर्च धान्न, थेग्न, नसकेपछि वा धनी पूँजीपतिसँग प्रतिष्पर्धा गर्न दाहिने–बाँया गरेर आर्जन गर्न थाल्छन् । । आफ्ना छोराछोरीको शिक्षा परिवारका सदस्यहरुको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन नसक्दा अतिरिक्त कमाईका लागि भ्रष्टाचार गर्नु परेको धेरैले बयान दिइसकेका छन् । देखासिकी, होडबाजी, तडक–भडक, अनावश्यक प्रतिष्पर्धा र शान शौकातले गर्दा मानिस गलत बाटोमा लाग्न बाध्य हुँदै गएको छ ।

यो देशमा सबैका छोराछोरीले विषयगत उच्च गुणस्तरको समान शिक्षा पाउने, राम्रो ओखतीमुलो पाउने, दुईछाक पोषिलो र स्वस्थवद्र्धक खानेकुरा पाउने सहज वातावरण बन्ने हो भने भ्रष्टाचारी बनेर बद्नाम कमाउन जोखिम मोल्नेहरुको संख्या ह्वात्तै घट्नेछ । जसरी पनि कमाउनु छ, छोरा–छारेीको स्तरीय शिक्षा, विहेवारी, कर्म गर्नुृछ । सामान्य कमाइले पुग्दैन । भन्सार, मालपोत, अध्यागमन, नापी, भूमिसुधार, प्रशासन आदि–इत्यादि कार्यालयमा काम गर्ने सहयोगी कर्मचारी र हुलाकमा कामगर्ने अधिकृतमध्ये सहयोगी कर्मचारीको अकर्षक कमाइ हुने र उसको जीवनस्तरमा रातारात परिवर्तन आउने भएपछि अन्यले पनि त्यो अतिरिक्त आम्दानीको बाटो रोज्ने नै भए ।

मालदार मन्त्रालय पाउन, त्याहँ जान जसरी मन्त्रीहरुको मरिहत्ते गर्छन, कर्मचारी पनि त्यस्तै ठाँउमा सरुवा हुन रुचाउँछन् । उपल्लो कर्मचारी र मन्त्री, मन्त्राणीलाई सगुन भेटी बक्से सरुवा भएका कर्मचारीले भेटी बुझाएको खर्च उठाउनै पर्यो, त्यही बहानामा गोजी भर्नै पर्यो । तँ धेर कमाउने कि म धेर ! भन्ने होडबाजीमा सबै भ्रष्टाचारको जालोमा जेलिए । त्यसैले सबैले स्तरीय शिक्षा, स्वास्थ्य पाउने वातावरण नबनेसम्म यो भ्रष्टाचारको महारोगबाट राष्ट्रले मुक्ति पाउँदैन ।

भ्रष्टाचार बाध्यता कि रहर ?

आचरण भ्रष्ट हुनु नै भ्रष्टाचार हो । भ्रष्टाचारलाई बाध्यता त कसरी भन्नु ? तर एउटा सहयोगी कर्मचारीको मासिक कमाइभन्दा धेरै कम्ती आठौं–दशौं तहका कर्मचारीको कमाइ भएपछि हिनताबोध हुनु, उसको भन्दा सानो घर हुनु, कमसल र सस्तो स्कूलमा केटाकेटी पढाउनुपर्दाको पीडा र अपमानबोधले राष्ट्रसेवकलाई भ्रष्टाचारको दलदलमा फँस्न बिवश बनाउँदछ । कतिलाई त अकुत कमाएर समाजमा शान र मान बढाउने रहरले भ्रष्टाचारी बनाएको छ । भने कतिलाई मातापिताको औषधोपचार र केटाकेटीको शिक्षा–दिक्षाकै लागि गतिछाड्नु परेको अवस्था पनि होला । स्रोतामा पहुँच हुनेले भ्रटाचार गरे होलान् । पहुँच नहुनेले चोरी–तस्करी, दुई नम्बरी आदि इत्यादि गरेका हुनन् । समाज पनि बिचित्रको छ, हुलाकमा काम गर्ने अधिकृतभन्दा भन्सारको सहयोगी कर्मचारीलाई छोरी दिन राजी हुने समाजको चरित्र रहेसम्म भ्रष्टाचार रोकिन्न, झन् मौलाउँछ ।

जतिसुकै भ्रष्ट र पतित् किन नहोस ! विहे–बटुलो, पूजा–पार्टी, सभा–समारोहमा महंङ्गा गहना–घडी, रतनजडित बस्त्रादिहरुको पहिरनमा सजिएकाहरुलाई मात्र इज्जत, मान–सम्मान, मर्यादा दिने आम प्रचलन नहटेसम्म समाजमा संस्कार–कुसंस्कारका रुपमा रहेको भ्रष्टाचारको जालो तेड्न सजिलो छैन । जस्को ठूलो घर, चिल्लो गाडी, महंङ्गा बस्त्र, फजुल खर्च गर्नसक्ने औकात छ समाजमा उही वरिष्ठ !?! देश र जनतालाई लुटेर–ठगेर कमाएको हरामको कमाईको केही हिस्सा निहित स्वार्थ राखेर सामाजिक काममा खर्च गर्यो भने उसलाई वरिष्ठ समाजसेवीको पगरी गुथाउन समाजमा तँछाडमछाड हुने गरेको छ । त्यही भ्रष्टाचारबाट आर्जन गरेको रकम कनिका छर्नेलाई सञ्चार माध्यमदेखि राजनैतिक दल र समाजका सबै तप्काले सबभन्दा उच्च स्थानमा राखिदिएपछि त ऊ देश विकासको मोड र भ्रष्टाचाररहित समाजको विषयमा प्रवचन नै दिन थालिहाल्छ ।

भ्रष्टाचारलाई बाध्यता भनेर बेथिति र विकृतिलाई समर्थन गर्न त सकिन्न । तर, किन गर्छ त मान्छेले बारम्बार भ्रष्टाचार ? प्रश्न गम्भीर छ । गरीब मुलुक जहाँ राज्य प्रशासनमा पहुँच भएकाहरुको प्रतिष्पर्धा धनाढ्यहरुसँग हुन्छ । त्यो “इलिट” वर्गसँग संगत भएपछि, उसैको सिको गर्न थालेपछि मिलेर भ्रष्टाचार गर्न थाल्छन् । इलिटसँगै खर्च गर्नसक्ने आर्थिक हैसियत बनाउन स्रोतमाथि पहुँच हुनेले नै गर्छन् भ्रष्टाचार । गरीब, दुःखीले त भ्रष्टाचारबाट राज्यको स्रोत दोहन भएपछि असुविधा मात्र पाउने हुन् । भ्रष्टाचार बाध्यता भए ती गरीब जनता अनेकौं पीडा खपेर पनि जीवन धानिरहेका छन् । अनि यी पहुँचवलालाई किन पर्यो बाध्यता । धेरै कमाउने, अकुत कमाउने र सन्तान–दरसन्तानका लागि अथाहा सम्पत्ति जोडिदिने लालसाले भ्रष्टाचारको जरा गाडेको हो । त्यसैले भ्रष्टाचार बाध्यता होइन गति–मति छाडेरै भएपनि धन कमाउने रहर हो ।

कसरी कम हुनसक्छ भ्रष्टाचार ?

जबसम्म समाजमा भ्रष्टलाई धन सम्पत्तिका आधारमा मान सम्मान गर्ने प्रचलन रहि रहन्छ, तबसम्म भ्रष्टाचार मौलाई रहन्छ । कुनै भ्रष्टाचारीले पनि मैले भ्रष्टाचार गरेरै अकुत सम्पत्ति कमाएको भन्दैन । अनि कसरी भ्रष्टाचारी भन्नु ? प्रश्न सजिलै उठ्छ । तर खासै पैतृक सम्पत्ति नभएका, कुनै बैध ब्यवसाय पनि नगरेका कर्मचारी, नेता वा राजनैतिक कार्यकर्ता वा बिचौलिया दलाल नै भनौं । एकै पटक अकुत सम्पत्ति आर्जन गरेको र समाजमा शान सौकात, औकात बढेको देखिन्छ भने कहाँबाट आयो यत्रो सम्पत्ति ? यसको बैधानिक आर्जन स्रोत के हो ? प्रश्न उठनुपर्छ । सोधिखोजी हुनुपर्छ । राज्यका निकाय अख्तियार, सम्पत्ति शुद्धिकरण लगायतका निकायहरुले पनि यस तर्फ ध्यन दिनु जरुरी छ ।

दुईनम्बरी गरेर, देश र जनतालाई ठगेर, राज्य दोहन गरेर गलत तरिकाले सम्पत्ति आर्जन गरेका भ्रष्टाचारीलाई समाजमा, राजनीतिमा, संघ–संस्थामा कहीँ पनि स्थान नदिने, मञ्चासन नगराउने, सार्वजनिक र पारिवारिक कार्यक्रमहरुमा नबोलाउने, वास्ता नगर्ने, समग्रमा बहिस्कार नै गर्ने हो भने भ्रष्टाचारीको मनोबल कमजोर हुँदै जान्छ । र, अरु भ्रष्टहरुले पनि सामाजिक दण्डको सामना गर्नुपर्ने चुनौतिका कारण भ्रष्टाचारका घटना र भ्रष्टाचारीहरुमा कमी आउनसक्छ । भ्रष्टाचारीलाई महत्व दिनेभन्दा श्रमजीवी वर्गलाई संघ–संस्थाहरुका कार्यक्रमहरुमा सम्मान, अभिनन्दन गर्ने, त्यस्तो कार्यक्रममा हामीले कोही भ्रष्टाचारीलाई कार्यक्रममा निम्ता गरेका छैनौं र गर्दैनौं पनि भनेर सार्वजनिक उद्घोषण गर्ने, गराउने । अनि हामी भ्रष्टाचारीसँग सम्बन्ध गाँस्दैनौं र संगत पनि गर्दैनौं भन्ने अभियानलाई सबै राजनैतिक दल, संघ–संस्था, कार्यालय, निकायहरुमा विस्तार गर्ने अभियान नै चलाएमा फलदायी कार्यान्वयनमा ल्याउन सकिन्छ ।

भ्रष्टाचारमा मुछिएका, गन्हाएका वा शंकास्पद ठानिएका ब्यक्तिहरुका सार्वजनिक वा कुनैपनि कार्यक्रमहरुलाई बहिष्कार गर्ने, अनुपस्थित हुने, अरुलाई पनि त्यस्ता देशघाती, राष्ट्रद्रोहीकोमा नजाऔं भनेर लविङ्ग गर्ने गरिनुपर्छ । भ्रष्टाचारको कमाईबाट अनुचित आर्जन गरेका मानिसले दिएको दान, चन्दा, पुरस्कार आदिलाई बहिस्कार गर्ने, त्यस्तो रकम नलिने सार्वजनिक घोषणा अभियान चलाउन जरुरी छ । कतै जानु परे त्यस्ता भ्रष्टाचारीसँग सँगै नजाने, भरसक त्यस्तासँग नबोल्ने, आफैं बोल्न आएमा म ब्यस्त छु भनेर पन्सिने, तर्किने, कि उस्ले बुझोस् मसँग सोसाइटीका कोही पनि बोल्न, हिड्न, संगत गर्न मन पराउँदैनन् भन्ने कुरा । एउटा भ्रष्टाचारीलाई यस्तो प्रकारको सामाजिक दवावमा राख्न सकिएको खण्डमा अर्को भ्रष्टाचारी पनि सतर्क रहन्छ । कि, त तिनीहरुले अवैध रुपमा अर्जन गरेको सम्पत्ति राज्यकोषमा दाखिला गर्छन, कि देश छोडेर पलायन हुन्छन् । नत्र कसरी हुनसक्छ त भ्रष्टाचारमा कमी ?

उपभोक्तावादी भौतिकवाद भ्रष्टाचारको कारक

मानिसमा पाप–धर्मको ख्याल रहेन भने, धर्म–अधर्मको बोध र मर्म रहेन भने त्यस्तो मानिसले जे पनि गर्छ । उसलाई न यस लोकसँग, न परलोकसँग डर रहन्छ । कसैसँग केही डर, लाज, घिन, सरम् नभएपछि ऊ भौतिक सुखका खातिर अति भौतिकवादी, उपभोक्तावादको भूँमरीमा फस्न पुग्दछ । ‘जति गर्छौ यहीँ गर, मरेपछि स्वर्ग पनि छैन, नर्क पनि छैन’ भन्ने द्वन्द्वात्मक भौतिकवादको ब्याख्यान छाँटेर हिड्नेहरुले गरेको अकल्पनीय भ्रष्टाचारको नालीबेली हेर्दा भोतिकवादीहरु भmन् भ्रष्टाचारी देखिए नेपालमा । उनीहरुलाई न स्वर्गको डर, न नर्कको नै । जति कमायो, लुट्यो यहीँ मोजमस्ती गर्यो । यही छ, सब । जोसँग धन–सम्पत्ति छ, उस्लाई यहीँ स्वर्ग छ । अनि जो विपन्न छ, उ यहीँ नर्कमा छ । स्वर्गीय सुखानुभूतिका लागि जसरी पनि जति पनि धन–सम्पत्ति कमाऊ भन्ने होडबाजीले भ्रष्टाचार मौलाएको हो ।

हुन त भौतिकवादीहरु भ्रष्टाचारी, आध्यात्मवादी चाहिँ सबै सादगी भन्ने पनि हुँदैन । मन्दिरमा बसेको पुजारीले नै भगवानको मूर्ति चोरेको, देउताको गर–गहना चोरेको घटनाहरु अनगिन्ती छन् । समग्रमा साँच्चिकै निष्ठावान आध्यात्मिक मानिसमा लोक–परलोकको चिन्ता हुन्छ । उसले मरेपछिको स्वर्गको बाटो नछेकियोस् भनेर पनि आफूलाई आत्मअनुशासनमा राख्छ, राख्नुपर्ने हुन्छ, राखेको हुन्छ । ढोंगी–पाखण्डीहरुको कुरा त फरक हो । भौतिकवाद विज्ञानसम्मत हो । तर, कतिपय संस्कार, संस्कृति, परम्परा, रितीरिवाज, चाल–चलनहरु विज्ञानसम्मत भएपनि, नभए पनि अनौठा हुन्छन् । र, ती जनताको जीवनशैलीसँग अनुवन्धित पनि हुन्छन् । भौतिकवादका नाममा संस्कार र संस्कृतिलाई चटक्कै छोड्न पनि सकिन्न । यस विषयमा अलग्गै बहस गर्न सकिन्छ । यहाँ भन्न खोजिएको के हो भने– विज्ञानसँग मेल खाए पनि, नखाए पनि आध्यत्मवादले मानिसलाई यो गर्नु हुने र यो गर्नु नहुने भनेर आचरण शिक्षा दिएको हुन्छ । भलै त्यो अन्धविश्वासको जगमा टिकेको नै किन नहोस् ।

भौतिक सुख, सुविधा मात्र जीवन हो । यहाँ जे छ, त्यो नै अन्तिम सत्य हो, स्वर्ग–नर्क केही छैन । सब भ्रम मात्र भन्ने प्रचार र बुझाईले लोक–परलोकको बाटो अवरोध नहुने, जे गर्नुछ, यहीँ गरे हुन्छ भन्ने संदेश दिन्छ । र, मानिस अति सुविधाभोगी बन्नेतर्फ लालची बन्छ । हो, त्यही लालचले भ्रष्टाचारको भ्रुण तयार गर्छ । नाता–सम्बन्ध, परिवार, संस्कार, संस्कृति, परम्पराहरु पनि हुँदा हुन् । भौतिकवादको अहंकारले के यो सब तोडिदिने अब ? संस्कार र परम्पराहरु संसारभर एकै प्रकृतिको हुँदैन । विचार पनि सबै मानिसको एकै प्रकारको हुँदैन । बहुलवादी समाजमा त वैचारिक भिन्नता नै अनेकताबीचको एकताको सूत्र पनि बनेको हुन्छ । तसर्थ नैतिक शिक्षा आजको आवश्यकता हो । नैतिक शिक्षाले आचरणमा शुद्धिकरण ल्याउँछ । शुद्ध आचरणले गर्न हुने र नहुने कुरामा सचेतना जगाउँदछ र ब्यक्तिलाई, समाजलाई भ्रष्टाचारबाट जोगाउँछ । तसर्थ उपभोक्तवादी भौतिकवादभन्दा अन्धविश्वासी नै भए पनि आध्यात्मवादले मानिसलाई भ्रष्टकर्म गर्नबाट रोक्न, अलग राख्न, मद्दत गर्दछ ।

(पत्रकारिता पृष्ठभूमिका लेखक हुमागाँई नेपाली कांग्रेस झापाका सचिव हुन् ।)

सम्बन्धित खबर