२०८१ पौष ८, सोमवार , ०४:५४:५९ बजे

Sajhamanch
'

आईसीसी विश्वकप छनोट : जित्नै पर्ने दबाबका बीच अमेरिकाको सामना गर्दै नेपाल

मङ्गलवार, असार ५, २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज पौने १ बजेदेखि अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ।

नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्त्वपूर्ण छन्।

प्रतियोगितामा पहिलो जित दर्ता गरी सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ। त्यसो त वेस्ट इन्डिजसँग भएको पहिलो खेलमा पराजित भएको अमेरिकालाई पनि दोस्रो खेल जित्नै पर्ने दबाब छ।

नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।

छनोट प्रतियोगिताअन्तर्त नेपालले तेस्रो खेल असार ७ गते वेष्ट इन्डिजविरुद्ध खेल्नेछ। यस्तै समूह चरणको अन्तिम खेलअन्तर्गत असार ९ गते नेदरल्याण्डस्‌विरुद्ध खेल्नेछ।

विश्वकप छनोटमा सहभागी १० टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका र वेस्टइन्डिज छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन्। हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने ३ टोलीसँग खेल्नुपर्ने हुन्छ। विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर तथा नोभेम्बरमा भारतमा आयोजना हुँदैछ।

सम्बन्धित खबर