२०८१ माघ ३, बिहिवार , ११:५६:४० बजे

Sajhamanch
'

भद्रपुरमा युवा भेला गरिँदै, ४० वर्षमुनिका २०० जना सहभागी हुने

शुक्रवार, जेठ १२, २०८०

भद्रपुर । कोशी प्रदेशमै पहिलोपटक भद्रपुरमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन हुने भएको हो ।

भद्रपुर नगर युवा परिषदको आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिएका हुन् । प्रथम नगर सम्मेलनलाई सभ्य र भव्य बनाउने उद्देश्यले नगर युवा परिषद्ले नगर क्षेत्रका सरोकारवाला निकायसँग बृहत् छलफलसमेत गरिरहेको छ ।

छलफलमा कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै परिषदका सदस्य सचिव पौडेलले नगर सम्मेलन मार्फत युवाको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने जनाएका छन् ।

यस्तै, युवामा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको सदस्य सचिव पौडेलले बताए ।

दुई दिवसीय उक्त कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू, वैज्ञानिक तथा सामाजिक अभियन्ताहरुले सहजीकरण गर्ने जनाइएको छ । सदस्य सचिव पौडेलका अनुसार महावीर पुन, टीकाराम यात्री, नवराज पराजुली, दयासागर श्रेष्ठ, महेश दाहाल, सोनिका पौडेल, राहुल केसी, बसन्त अधिकारी, प्रदीप पौडेल, माधव ढुंगेल लगायतले सहजीकरण गर्नेछन् ।

उनीहरुले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतिकरण तथा सम्मान, लागुपदार्थ दुर्ब्र्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता भएको छलफल कार्यक्रममा सहभागीहरूले कार्यक्रमलाई कसरी सफल बनाउने बारेमा आआफ्नो राय सुझाव राखेको जनाइएको छ । युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष सरोज ढकालका अनुसार युवा भेलामा १६ देखि ४० वर्षसम्मका २०० जनालाई सहभागी गराइने छ ।

भद्रपुरमा वडाको सिफारिसमा १०–१० जनाका दरले १०० जना, खुल्ला आवेदनबाट ५० जना, युवा सम्बन्धित संघ–संस्थाबाट स्वयंसेवकका रुपमा २० जना र स्थानीय संघ–संस्थाबाट ३० जनालाई छनोट गरी सहभागी गराइने छ ।

सम्बन्धित खबर