२०८१ माघ ३, बिहिवार , ०३:३७:५९ बजे

Sajhamanch
'

दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा

मङ्गलवार, जेठ ९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ ।
साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ ।

नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्य तथा उपप्रमुख नरमाया कार्कीको विशिष्ट आतिथ्यमा मंगलबार तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थोप्राले २० वर्ष पहिलेको पत्रकारिताको शैली र आजको शैलीमा धेरै फरक परिसकेको बताए ।

पत्रकारिता गर्नेहरुले सत्य र तथ्यमा आधारित समाचारहरुमात्र प्रकाशन प्रसारण गरिदिएमा समाज रुपान्तरण सहज हुने उनको सुझाव थियो । सहभागी प्रशिक्षार्थीहरुलाई उनले यस्तो अवसर प्राप्त गरेकोमा बधाई भन्दै तालिमबाट सिकेको कुरा व्यवहारमा उतार्न जरुरी रहेको बताए ।

सो अवसरमा नगर उपप्रमुख कार्कीले पत्रकारिता पेसा अंगाल्न चाहने युवालाई लक्षित गरी तालिमको अवसर प्रदान गरिएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिइन् । आजको पत्रकारिताले राजनीतिक उतार चढावलाई धेरै स्थान दिएको बताउँदै नगर उपप्रमुख कार्कीले हाम्रा पालिका र वडाहरुमा भएका सामाजिक सुधार, विकास निर्माण, शिक्षा र स्वास्थ्यमा भएको प्रगतिका बारेमा कलम चलाउन आग्रह गरिन् ।

साझामञ्च मिडिया प्रालि सञ्चालक समितिका सदस्य कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा प्रेस क्लव शिवसताक्षीका अध्यक्ष सेलिङ केसी, वडा नं. १० का वडासदस्य दिपक पोखरेलले तालिमको सफलताको कामना गर्दै सहभागी प्रशिक्षार्थीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न सल्लाह दिए ।

तालिम आयोजक संस्थाका कार्यकारी प्रमुख तथा साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै तालिमको औचित्य बारे प्रकाश पारेका थिए । तालिम उद्घाटन समारोहको सञ्चालन साझामञ्च डटकमका सहसम्पादक तथा कार्यक्रम संयोजक सरोज भट्टराईले गरेका थिए ।

पाँच दिवसीय सो तालिममा गोपाल काफ्ले, भीमा सिवाकोटी, मोहनकाजी, सरोज भट्टराईलगायतले सहजीकरण गरिरहेका छन् ।

सम्बन्धित खबर