२०८१ माघ १४, सोमवार , ०३:५१:४१ बजे

Sajhamanch
'

अमरेश कुमारले संसदमा नै लुगा खोले, सभामुखको चेतावनी नियमावली अनुसारकै हो ?

सोमवार, वैशाख २५, २०८०

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताएका थिए ।

बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेश कुमार सिंह र प्रेम सुवालले हात उठाइरहेका थिए । तर‚ सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय नदिएपछि पनि उनीहरू उठेर लगातार विरोध गरिरहेका थिए ।

बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै सभामुखले बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोल्न थाले ।

सभामुख घिमिरेले संसद् नियामावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको बताउँदै सम्मानित संसद् बैठकमा यस्तो अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउनका लागि चेतावनी दिए ।

त्यसरी चेतावनी दिइरहँदा पनि सांसद् सिंहले भने एकोहोरो विरोध जनाइरहेका थिए । त्यसको केहीबेरपछि उनले संसद्‌बाट बाहिरिँदै गर्दा आफूलाई भ्रष्टाचारसम्बन्धी विषयमा बोल्न समय नदिइएको भन्दै विरोध जनाएको बताए ।

सांसद् सिंहले संसद्‌मै कपडा खोल्ने हर्कत गरेपछि सभामुख घिमिरेले संसद् नियमावलीको नियम २१ को ‘घ’ आकर्षित हुने चेतावनी दिएका थिए ।

संसद् नियमावलीको नियम २१ मा प्रतिनिधिसभाको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमको बारेमा उल्लेख गरिएको छ । उक्त नियमका अनुसार बैठकमा हुने छलफलमा भाग लिने सदस्यले नियम २१ (घ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने, उल्लेख छ ।

सांसद् सिंहले सभामुखको आग्रहलाई बेवास्ता गर्दै लुगा खोल्न थालेकाले उनलाई नियमावली २१ को ‘घ’ आकर्षित हुने भन्दै सभामुख घिमिरेले चेतावनी दिए ।

घिमिरेले सिंहलाई ठिक ढंगले बस्न भनेका थिए । सभामुखले भने, ‘फर्केर आएर बस्नुस् । सभ्यताका साथ नियमअनुसार आफ्नो कुरा राख्नहोस् । नियामावलीको ३० अन्तर्गत बैठकमा यस्ता खालको व्यवहार नगर्नुस् । थप अन्य कारबाही हुन सक्छ ।’

नियामावली ३० मा चेतावनीः बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।

सम्बन्धित खबर