२०८२ भदौ २९, आइतवार , ०३:०६:०६ बजे

Sajhamanch
'

टाँघनडुब्बामा स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शुक्रवार, वैशाख २२, २०८०

झापा । झापा गाउँपालिका वडा ३ टाँघनडुब्बामा रहेको झापा आधारभूत अस्पतालमा आज महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले आयोजना गरेको स्वास्थ्य शिविरमा क्यान्सर रोग सम्बन्धी विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका महिलाहरुको चेकजाँच तथा परामर्श दिएकी थिइन् ।

झापा गाउँपालिकाका उपाध्यक्ष अञ्जुदेवी थपलियाले शिविरको उद्घाटन गर्दै मेडिकल कलेज र कर्णाली सहकारीले हाम्रा लागि गाउँमा नै डाक्टर ल्याएर निःशुल्क सेवा दिनु गौरवको विषय भएको बताइन् । शिविरमा आएका महिलाहरुलाई सम्बोधन गर्दै उनले भनिन् ‘स्वास्थ्य परीक्षण गरेर तपाइँहरु ढुक्कसँग बस्न सक्नुहुन्छ । क्यान्सर लागिहाल्यो भने विभिन्न स्टेजको उपचार गर्दा लाखौं खर्च हुन्छ । अहिले नै जाँचेर यसको रोकथाम पनि गर्न सकिन्छ । यो रोगले उमेर छुट्याउँदैन ।’

उपाध्यक्ष थपलियाले महिलाहरुले आफ्नो स्तन र पाठेघर मुखको जाँच ६–६ महिनामा नियमितरुपमा गर्नुपर्ने पनि सुझाव दिइन् ।

शिविरको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले ग्रामीण भेगमा विशेषगरी महिलाहरुले रोग लुकाएर बस्ने गर्दा पछि कहालीलाग्दो समस्याहरु सिर्जना भएको पाइए पछि आफ्नो संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । महिलाहरुले आफ्नो समस्या खुलेर बताउन सकुन् भन्ने ध्येयले शिविरमा महिला डाक्टरहरु नै आमन्त्रण गर्ने गरिएको हुँदा निर्धक्क भएर आफ्ना समस्याहरु सुनाउन उनको आग्रह थियो ।

स्वास्थ्य शिविर उद्घाटन समारोहमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर रोग सम्बन्धी विशेषज्ञ अस्मिता रायमाझीले अस्पतालमा उपचार गराउन आउने महिलाहरु ढिलोमात्र आइदिँदा उपचार सम्भव नहुने भएकाले जागरण एवम् परीक्षण दुवै दृष्टिले शिविर महत्वपूर्ण हुने गरेको बताइन् ।

संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक भुपाल बस्नेतको अध्यक्षतामा आयोजित स्वास्थ्य शिविरमा उनले निःशुल्क स्वास्थ्य शिविरको आवश्यकता एवम् औचित्य माथि प्रकाश पार्दै स्थानीय बासिन्दालाई अवसरको लाभ लिन आह्वान गरेका थिए ।

सम्बन्धित खबर