काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्ने जानकारी आएको छ, यदि यसो भएको हो भने रहस्यपूर्ण भएको बताएका छन् ।
आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको बताएका हुन् ।
अध्यक्ष ओलीले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओलीले कुनै पनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी पनि दिएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले भने रायमाझीलाई पक्राउ नगरेको बताएको छ ।