२०८१ माघ ३, बिहिवार , ०८:४३:१७ बजे

Sajhamanch
'

बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी

शनिवार, वैशाख १६, २०८०

शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए ।

ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो ।

यतिमात्र होइन, कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अन्तिम परीक्षामा प्राप्त गरेको अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विष्णु–लक्ष्मी सिटौला कोषले वर्सेनी वितरण गर्ने पुरस्कार पनि शुक्रबार नै प्रदान गरिएको थियो ।

दुईवटै कार्यक्रमहरु विद्यालयको शैक्षिक उन्नयनका लागि जनप्रतिनिधि र समुदायका अगुवाहरुको रचनात्मक पहलको प्रतिफल थियो ।

विष्णु–लक्ष्मी सिटौला कोषका प्रमुख संरक्षक नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिका वडा नं. ५ का अध्यक्ष सिकिन पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

विद्यालयका शिक्षक राजनप्रसाद निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा वडाध्यक्ष पासवानले आफ्नो वडाका सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट बनाउने प्रयासमा रहेको बताए ।

‘विद्यालयमा अध्ययन गर्न घरबाट निस्किएका बालबालिकाहरु विद्यार्थीजस्तै देखिउन्’ वडाध्यक्ष पासवानले आफ्नो अभिलाषा सुनाउँदै भने, ‘यसैका लागि वडाको बजेटबाट २ लाख ५० हजार रुपैयाँ खर्चेर उनीहरुका लागि स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरिएको छ ।’

‘आफूले पनि अध्ययन गरेको यस विद्यालयलाई नमूना र स्मार्ट बनाउने मेरो लक्ष्य छ, यसका लागि शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न दत्तचित्त भएर लाग्नु हुनेछ भने अभिभावकले समय समयमा विद्यालय आएर निरीक्षण गर्न मेरो आग्रह छ’ वडाध्यक्ष पासवानको भनाई थियो ।

सो कार्यक्रममा विष्णु–लक्ष्मी सिटौला कोषको तर्फबाट सबै कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र सबै विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयलाई एक–एक थान फुटबल र भलिबल प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका पुरस्कार कोष संस्थापक सिटौलाले आफ्ना बुवाआमाको स्मृतिमा विद्यालयका बालबालिकालाई पुरस्कृत गरिँदै आएको स्मरण गराउँदै यसलाई निरन्तरता दिइने बताए ।

‘बालबालिकालाई अझ राम्रो पढ्नका लागि प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिएको छ भने खेलकुदका लागि भलिबल र फुटबल उपलब्ध गराएका छौं’ कोषका प्रमुख संरक्षक सिटौलाले भने, ‘शिक्षकहरुका लागि पनि शिक्षण सिकाई सहजताका लागि सीप नोट गर्न डायरी प्रदान गरेका छौं, यसले सबैलाई खुसी बनाएको हामी ठान्दछौं ।’

बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक दधिकुमार गणेशले शाब्दिक स्वागत गरेको सो कार्यक्रममा पत्रकार गोपाल काफ्लेले विगतभन्दा यो वर्ष विद्यालयको स्वरुपमा केही फरक भएको बताए । शिक्षण सिकाईमा पनि बालविकासतर्फ अंग्रेजी माध्यमको पढाई सुरु हुनु, विद्यालय परिसर सफा हुनु, वडाले शैक्षिक सामग्री उपलब्ध गराउनु जस्ता कुराहरुले विद्यालयमा क्रमशः परिवर्तन भइरहेको उनको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविालाल ढकालले बालबालिकाहरुले गृहकार्य गरे वा गरेनन् भन्नेतर्फ ध्यान दिन आग्रह गरे । अभिभावकलाई सुझाव दिँदै उनले बेलाबेला विद्यालयमा आएर आफ्ना नानीबावुहरुको बारेमा जानकारी लिने गरेमा घरमा पनि उनीहरु सचेत बन्नेछन् र उनको भविष्य सुधारमा लाग्नेछन् ।

सम्बन्धित खबर