२०८१ माघ २, बुधवार , ०८:२५:४८ बजे

Sajhamanch
'

मेजसा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पासाङ तामाङ

शनिवार, वैशाख २, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ ।

नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व विद्यार्थीहरुको भेला आयोजना गरिएको थियो । सो विद्यालयको इतिहासदेखि वर्तमानसम्मको क्रेजलाई जीवन्त राख्न एवम् विद्यालयको भौतिक र शैक्षिक उन्नयनमा योगदान गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।

मेचीनगर–१ का निवर्तमान वडाध्यक्ष, विद्यालयका २०४५ सालको एसएलसी ब्याचका विद्यार्थी पासाङ तामाङको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको नामाकरण भइसकेको छैन । पूर्व विद्यार्थी समाज वा मेजसा मावि एलुम्नाई के नाम राख्ने भन्ने विषयमा छलफल बाँकी रहेको उनले बताए ।

समितिमा गोपाल काफ्ले (२०४६), चन्द्रलाल ढकाल (२०४०), पोषककुमार दर्जी (२०४३), हिम्मत क्षेत्री (२०३९), जानुका थापा (२०४८) सदस्य रहेका छन् । यस्तै हरि अधिकारी (२०४६), भाष्कर निरौला (२०४६), दीपक खनाल (२०४८), टेकचन्द्र फसयाल (२०४८), राजु दाहाल (२०४८), अम्बिका खत्री (२०४९) र यामप्रसाद गुरागाईं (२०६०) समितिको सदस्य बनाइएको छ ।

पूर्व विद्यार्थीहरु पासाङ तामाङ र गोपाल काफ्लेले प्रारम्भिक छलफल गरी ‘जे जति उपस्थित हुन सकिन्छ, भेला भएर परिचय नविकरण गरौं, नयाँ वर्षको शुभकामना आदानप्रदान गरौं र चिया पिएर छुट्टियौं भन्ने’ योजना बनाइएकोमा विद्यालय प्रशासनले चासो दिएर औपचारिक कार्यक्रमका साथ सो भेलालाई भब्य बनाउन मद्धत गरेको गोपाल काफ्लेले जानकारी दिएका छन् । भेलामा सयजना हाराहारी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मेचीनगर नगरपालिका वडा नं. २ का निर्वाचित वडा सदस्य हरिनारायण न्यौपानेको अध्यक्षतामा सो विद्यालयबाट २०३० सालको एसएलसी ब्याचका विद्यार्थी किशोरप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षक कमलप्रसाद दाहालको सञ्चालनमा सहायक प्रधानाध्यापक यामप्रसाद गुरागाईको शाब्दिक स्वागत रहेको सो कार्यक्रममा पूर्व विद्यार्थी तथा शिक्षक चन्द्रलाल ढकाल, पूर्व विद्यार्थी हरिचरण चौंलागाईं, गोपाल काफ्ले, हरि अधिकारीले पूर्व विद्यार्थीहरुको उपस्थितिले विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने सुझाव दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले मेजसा माविको वर्तमान भौतिक अवस्था, शैक्षिक गुणस्तर, सम्पत्तीजस्ता विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले पूर्व विद्यार्थीहरुको एकताबाट धेरै विद्यालयको भौतिक एवम् शैक्षिक उन्नतिमा ठूलो प्रगति भएको स्मरण गराए । विशेष गरी सामुदायिक विद्यालयमा आम्दानीको स्रोत नहुने भएकाले यहाँको भौतिक विकासका लागि चन्दा सहयोगले ठूलो भूमिका खेल्ने उनको भनाई थियो । ‘म चाहिँ मेरो ब्याजका साथीहरु पनि पो भेट्छु कि भन्दै आएको थिए तर एक्लै परें’ मनभित्रको आकांक्षा सुनाउँदै उनले आफ्नो ब्याचका साथीहरुको अवस्था के कस्तो होला भनी जिज्ञासा राखेका थिए ।

मेची जनसाधारण कसरी मावि बन्न सक्यो ? सोभन्दा पहिले नै माजि स्वीकृत बाहुनडाँगी बजारको सरस्वतीले किन पाएन ? गाडागल्लीको कृष्ण प्रावि किन मावि बन्न सकेन भन्ने संस्मरण पनि भण्डारीले सुनाएका थिए । पूर्व विद्यार्थीहरुको समितिले छिट्टै अझ वृहत भेला गरेर हजारौं विद्यार्थीहरुलाई एउटै छानामुनी ल्याएर पुनःमिलन कार्यक्रम गर्नेछ भन्ने प्रमुख अतिथि भण्डारीले अपेक्षा सुनाएका थिए ।

https://fb.watch/jW4q2p0E-S/

 

सम्बन्धित खबर