२०८१ माघ २, बुधवार , ०८:५२:५६ बजे

Sajhamanch
'

स्थापना दिवसमा जिल्ला सहकारी संघले गर्यो दर्जनौं पुरस्कृत व्यक्ति र संस्थाको घोषणा

सोमवार, चैत २०, २०७९

झापा । चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन आज झापाका एक हजार हाराहारी सहकारीकर्मीलाई बिर्तामोडमा उत्प्रेरणात्मक सहजीकरण गरिएको छ ।

देशभर आर्थिक मन्दीले ब्यापार व्यवसाय चौपट्ट भएको कारण सहकारीमा पनि तरलता संकट उत्पन्न हुँदा सहकारीकर्मीहरु चिन्तित बनेका कारण सो को न्यूनीकरणका लागि मनोवैज्ञानिक उपचारस्वरुप उत्प्रेरणात्मक तालिम दिइएको हो ।

झापा जिल्ला सहकारी संघले ६६औं राष्ट्रिय सहकारी दिवसका दिन आयोजना गरेको सो तालिमको सहजीकरण मोटिभेसनल स्पिकर राजाबाबु साहा थिए । उनले तनावको व्यवस्थापन गर्दै प्रगतिका खुट्किला चुम्न धेरै टिप्सहरु प्रदान गरेको सहभागीहरुले बताएका छन् ।

प्रारम्भमा छोटो औपचारिक कार्यक्रमका बीच संघका अध्यक्ष गणेश ढकालले यो वर्ष छनोट समितिका नजरमा परेका व्यक्ति, संस्था एवम् कर्मचारीलाई पुरस्कृत गर्ने गरी नामावली घोषणा गरेका थिए ।

जसअनुसार यो वर्ष राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई २५ हजार ५५५ रुपैयाँ राशिको झापा सहकारी सम्मान पुरस्कार प्रदान गरिने भएको छ । जिल्ला संघले १० हजार ५५५ रुपैयाँ राशिको पूर्व सञ्चालक पुरस्कार देवीप्रसाद दाहाललाई र अग्रज पत्रकार सम्मान पुरस्कार गोविन्द चन्द क्षेत्रीलाई अर्पण गर्ने घोषण गरिएको छ ।

यसैगरी १० हजार ५५५ रुपैयाँ पुरस्कार राशिको उत्कृष्ट कृषि सहकारी पुरस्कार बुद्धशान्तिमा रहेको होक्से कृषि सहकारीलाई, उत्कृष्ट बहुउद्देश्यीय सहकारी पुरस्कार मेचीनगरको मेची कृषक सहकारीलाई र उत्कृष्ट साकोस मेचीनगरको पूर्वीद्वार बचत तथा ऋण सहकारीलाई प्रदान गरिने भएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवस वा कुनै उपयुक्त अवसर पारेर हस्तान्तरण गर्ने गरी घोषित अन्य सम्मान तथा पुरस्कारहरुमा कमल गाउँपालिकाको नवोदय बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट बचत कारोबार, हल्दिबारीस्थित हाम्रो गोलधाप कृषि सहकारीलाई उत्कृष्ट कर्जा कारोबार परेका छन् । संस्थाले प्राप्त गर्ने पुरस्कारको राशि १० हजार ५५५ रुपैयाँ रहेको छ ।

यस्तै उत्कृष्ट महिला व्यवस्थापकमा दमकको नवदुर्गा बुउद्देश्यीय सहकारी संस्थाका धनकुमारी पौडेललाई चयन गरिएको छ भने पुरुष व्यवस्थापकहरु मध्येबाट गौरादहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका तिलक कार्की ५ हजार ५५५ रुपैयाँ पुरस्कारसहित सम्मानित गर्ने निर्णय भएको अध्यक्ष ढकालले घोषणा गरे ।

सोही कार्यक्रममा जिल्ला संघले हरेक वर्ष प्रकाशन गर्ने सहकारी स्मारिकाको विमोचन पनि गरिएको छ । १०४ पृष्ठभन्दा माटो वार्षिक प्रकाशनमा चालू तरलता संकटका विषयमा दर्जन हाराहारी लेख रचना र आर्थिक विश्लेषण समेटिएको छ ।

सम्बन्धित खबर