२०८१ मंसिर १४, शुक्रवार , ०७:३०:४० बजे

Sajhamanch
'

झापा जिल्ला सहकारी संघको चार दिवसीय ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सुरु

सोमवार, चैत ६, २०७९

झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ ।

झापा जिल्ला सहकारी संघको आयोजनामा चैत ५ देखि ८ सम्म जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो । चैत ५ गते बिर्तामोड, चैत ६ गते धुलाबारी, चैत ७ गते दमक र चैत ८ गते दुर्गापुरमा यस्तो गोष्ठीको कार्यसूचि बनाइएको जिल्ला संघका सचिव भवानीप्रसाद दंगाालले बताएका छन् ।

गोष्ठी अन्तरगत पहिलो दिन चैत ५ गते बिर्तामोडमा कार्यक्रम सम्पन्न गरिएको छ । बिर्तामोड, हल्दिबारी र अर्जुनधारामा सञ्चालित सहकारी संस्थाबाट १४० जना प्रतिनिधिहरुको सहभागितामा गोष्ठी सम्पन्न भएको हो ।

जिल्ला संघका सञ्चालक सदस्य तथा २ नं. क्षेत्रीय संयोजक केशवप्रसाद बस्नेतको अध्यक्षतामा आयोजित गोष्ठीको आवश्यकता र औचित्यका बारेमा जिल्ला संघका अध्यक्ष गणेश ढकालले प्रकाश पारेका थिए । उनले सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्यहरु र संस्थाका सञ्चालकहरु नै जागरुक हुनुपर्ने आवश्यकता महसुस गरी गोष्ठीको आयोजना गरिएको प्रष्ट्याएका थिए ।

‘जानीजानी फल्ट गर्नेहरुका लागि हाम्रो केही लाग्दैन, पछि उहाँहरु नियमानुसार दण्डित हुनुहुन्छ । तर अरुको लहैलहैमा लागेर कर्जा छुट हुन्छ, ब्याज छुट पाइन्छ भनेर हल्लाका कारण अहिले साँवा ब्याज तिर्न नचाहनेहरुका हकमा संस्था जागरण तथा संरक्षण गोष्ठी फलदायी हुनेछ’ अध्यक्ष ढकालको विश्वास छ ।

गोष्ठी उद्घाटन समारोहका सञ्चालक जिल्ला संघका सचिव दंगालले सहकारी ऐन २०७४ मा भएको व्यवस्था सरकार र मातहत विभागले कार्यान्वयन गरिदिने हो भने आजका समस्याहरु स्वतः किनारा लाग्ने दावी गरे । उनले सहकारी प्रवर्धन कोषमा वर्षेनी जम्मा गरिएको रकम कहाँ छ ? भन्ने प्रश्न राख्दै ऐनमा भएको कालोसूचीको व्यवस्था कार्यान्वयन गर्न किन हिचकिचाइयो जस्ता विषयहरु उठान गरेका थिए ।

गोष्ठीको सहजीकरण बचत तथा ऋण सहकारी केन्द्रीय संघका पूर्व प्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले गरेका थिए । सहजीकरणका क्रममा निरौलाले अहिले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताए ।

नेपालमा तरलता संकुचनको कारणलाई अन्तर्राष्ट्रिय सन्दर्भ जोडिनु किमार्थ सुहाउँदैन भन्दै निरौलाले आर्थिक संकट छिमेकी भारतमा नै छैन । कोभिड–१९ को विश्वब्यापी महामारीको असर पनि यो होइन बरु नेपाली रुपैयाँ नेपालभित्रै लुकाइएको हुनसक्ने अर्थ लगाए ।

प्रारम्भिक सहकारी संस्थाका तीन पक्षहरु सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीबीच सक्रियता र नीतिगत तालमेल मिलेको अवस्थासम्म कुनै सहकारी धरासायी बन्नै नसक्ने निरौलाले सुझाव दिए । ‘तपाईंको संस्थाको अद्यावधिक अवस्थाका बारेमा सदस्यहरुलाई नियमित जानकारी भएमा नकारात्मक प्रभाव पर्दैन, यसका लागि सूचना र जानकारी प्रवाहमा ध्यान दिन आवश्यक छ’ निरौलाको भनाई छ ।

हरेक सहकारी संस्थाले आफ्ना सदस्यहरुसँग आत्मीय सम्बन्ध बनाउने, उनीहरुलाई आफ्नो संस्थाप्रति विश्वस्त राख्ने, भविष्यको सुरक्षातर्फ ध्यानाकर्षण गराउने, सदस्यहरुमाझ कल्याणकारी कार्यहरु विस्तार गर्नु नै आजको समयमा सदस्य जागरणका लागि पर्याप्त हुने सहजकर्ता निरौलाको भनाई छ ।

यस्तै सदस्य संरक्षणका लागि उनीहरुको वर्गीकरण, वर्गीकरणका आधारमा उपयुक्त सेवा विविधिकरण, पारदर्शी सूचना र मूल्य निर्धारण, सदस्य सम्मान र अपनत्वको भावनामा निरन्तरता, सदस्यको गुनासो व्यवस्थापन आदि कार्यहरु गर्न सकियो भने पक्कै पनि सहकारीमाथिको कालो बादल हटेर जानेछ, निरौलाको सुझाव छ ।

कार्यक्रमको अध्यक्षता गरिरहेका जिल्ला संघका सञ्चालक बस्नेतले समस्याहरुको किनारा लगाउन जिल्ला संघसँग विषयगत संघहरु र माथिल्ला संघहरु एकाकार हुन ढिला भइसकेको बताए । ‘सहकारी अभियानकर्मी एकठाउँमा एउटै आवाज बुलन्द गर्न थालेमा अहिले चलिरहेका बाछिटाहरु सुख्खा माटोमा झै त्यसै बिलाउँछन्’ सञ्चालक बस्नेतको धारणा छ ।

सम्बन्धित खबर