२०८१ माघ ३, बिहिवार , १२:३५:०४ बजे

Sajhamanch
'

बिर्तामोडका विद्यार्थीलाई नगरपालिकाले दियो पोशाक

बुधवार, चैत १, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

आज नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्टरुपमा बालबालिकाको पोशाक हस्तान्तरण गरिएको हो ।

बिर्तामोड नगरपालिका अन्तरगत बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत करिब ३ हजार ६०० हाराहारी विधार्थीहरुको लागि विद्यालय पोशाक प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोशाक खरिद गर्न नसक्दा पठन पाठनबाटै बन्चित हुने गरेका कारण पोशाक वितरण कार्यक्रम ल्याइएको बताइन् । यस कार्यक्रमले अभिभावकलाई सहज हुनाका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठनपाठनमा समेत अनुकूल वातावरण बन्ने उनको भनाई छ ।

नगरप्रमुख प्रसाईले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने बताउँदै पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएको जिकिर गरिन् । नगरप्रमुख प्रसाईले भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तरमा सामुदायिक विद्यालयहरु व्यवस्थित र अब्बल हुँदै आएको बताइन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरे ।

नगरपालिकाले पोशाक वितरण कार्यक्रमलाई वार्षिक योजना अन्तर्गत राखेर महत्वकासाथ अघि बढाएको भन्दै विद्यार्थीको संख्या बढाउनसमेत सम्वन्धित सबैले ध्यान दिनुपर्नेमा उपप्रमुख संग्रौलाको जोड छ ।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताउँदै यसवर्ष पनि ३ हजार ६०० भन्दा बढी विद्यार्थीलाई पोशाक वितरण हुने जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सन्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोशाक वितरण गर्दै आएको छ ।

सोही कार्यक्रमका बीच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ । ६५औं वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरेका थिए ।

नगरप्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरबासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गर्नु भएकोमा सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीको भनाई छ ।

सम्बन्धित खबर