काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेश सभा सदस्य गरी ८३१ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।