२०८१ असोज ३, बिहिवार , ०९:४८:३१ बजे

Sajhamanch
'

खाद्य स्वच्छता र सुरक्षा सम्बन्धी एनएमसीमा अन्तरक्रिया

आइतवार, फागुन २१, २०७९

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ ।

एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर आफ्नै ब्राण्डमा वस्तुहरु उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यस्तै कृषि फर्मबाट सागसब्जी, माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ ।

आफ्ना उत्पादनहरु जनस्वास्थ्यका दृष्टिले उत्तम तथा गुणस्तर मापदण्डयुक्त भए नभएको समेत बुझ्न सजिलो होस् भनी आज विज्ञ सम्मिलित अन्तरक्रिया गरिएको हो । एनएमसी शिक्षा तथा तलिम उपसमितिको आयोजानामा कोशी प्रदेशका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निर्देशक राजकुमार रिजालले अन्तरक्रियामा सहजीकरण गरेका थिए ।

उपसमितिका संयोजक सावित्रा दाहालको अध्यक्षतामा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक सदस्यहरु एवम् प्रमुख कार्यकारी अधिकृत समेतको विशेष उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा खाद्य स्वच्छताको परिचय, महत्त्व र अवस्था, खाद्य ऐन तथा नियमवली, खाद्य उद्योग सिफारिस, अनुज्ञापत्र र लेबल तथा गुणस्तरहीन, दूषित, अखाद्य बस्तुहरु बेच्ने तथा उत्पादन गर्नेहरुले पाउने सजायका बारेमा निर्देशक रिजालले सहजीकरण गरेका थिए ।

संस्थाको बिर्तामोड सेवा केन्द्र कार्यालयको सभाहलमा सम्पन्न अन्तरक्रियाको सञ्चालन उपसमितिका सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् । सो अन्तरक्रियामा संस्थाका व्यवसाय प्रमुखहरुले आ–आफ्नो व्यवसायमा खाद्य सुरक्षा कसरी अपनाइएको छ र अझ सचेत भएर खाद्य वस्तुहरु उत्पादन र बिक्री गर्नका लागि कस्तो विधि अपनाउने भनी जिज्ञासा राखेका थिए ।

डेरी व्यवसायका प्रमुख नवराज अधिकारी, सहकारी पसल ब्यवसायका प्रमुख बासुदेव खतिवडा, कृषि फर्मका भूपाल गौतम र चिया व्यवसायका रविन्द्र पाण्डेले आफ्नो मातहत व्यवसायमा खाद्य स्वच्छता अपनाउन गरिँदै आएका कामहरु बारे प्रकाश पारेका थिए ।

सम्बन्धित खबर