२०८१ असोज ३, बिहिवार , ०५:३१:४८ बजे

Sajhamanch
'

मधेसमा २८० प्रहरीको एकैपटक सरुवा, सबैलाई सक्रिय बनाउन काज सरुवा गरिएको प्रदेश प्रहरी प्रमुख कुँवरको दावी

बुधवार, फागुन १०, २०७९

जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० जना प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो ।

गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको सरुवा गरिएको हो ।

एकैपटक यति धेरैजनाको सरुवाले मुद्दाको अनुसन्धान प्रभावित हुने प्रहरी अधिकारीहरु बताउँछन् । प्रदेशका प्रहरी अधिकारीदेखि जिल्ला प्रहरीका प्रमुखसम्म सरुवाले अनुसन्धान प्रक्रियामा गम्भीर असर पर्ने भएको भन्दै असन्तुष्ट देखिएका छन् ।

‘टाउकोमा हात राखेर फाँटका सबै प्रहरीहरु बसेका छन्’ मुद्दामा काम गर्ने एक प्रहरी अधिकारीले भने, ‘नेपाली सेनाजस्तो एकैपटकमा सबै जिल्लाका मुद्दा फाँटमा काम गर्ने प्रहरीलाई सरुवा गरेपछि काम गर्ने मनोबल घटेको छ, प्रदेशभर नै उथलपुथल छ ।’

केही साताअघि सातैवटा प्रदेशका प्रहरी नायब महानिरीक्षकको सरुवा भएको क्रममा मधेस प्रदेशमा सरुवा भई आएका अ ती प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतहरुको सरुवा गरी काज विदामा बसेका छन् । प्रहरी स्रोतका अनुसार उनी आफ्नै बढुवाको लागि लबिइङ गर्न जनकपुरबाट दुई दिन अघि काठमाडौं पुगेका हुन् ।

‘यही फागुन १३ देखि अतिरिक्त प्रहरी महानिरीक्षकमा सरुवा निस्कने सम्भावनालाई ख्याल गरी उहाँ काठमाडौं जानुभएको छ’ एक प्रहरी अधिकारीले भने । कतिपय प्रहरी अधिकारीहरुले नेपाल प्रहरीको निर्देशिका विपरीत काज सरुवा गरिएको दाबी गरेका छन् ।

‘रमेशचन्द्र ठकुरी महानिरीक्षक रहँदाको पालादेखि घर भएका जिल्ला छाडेर छिमेकका जिल्लामा रहेर पारिवारिक अवस्थालाईसमेत ख्याल गरी कार्यक्षेत्रमा खटिरहन निर्देशिका जारी भएको थियो । तर त्यसको क्रमभंग मधेस प्रदेशमा भएको छ’ ती प्रहरी अधिकारीले भने, ‘अन्य प्रदेशको जिल्लामा यस्तो खाले सरुवा भएको छैन ।’

सरुवामा पनि काखापाखा गरिएको उनको गुनासो छ । ‘पहुँच र चिनजानको आधारमा कसैलाई छिमेकको जिल्ला त कसैलाई सात जिल्ला कटाएर सरुवा गरिएको छ ।’

प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका ती सबैलाई एकैपटक सरुवा गरिएकोले जिल्लाका प्रहरी प्रमुखहरु भने सरुवाबारे खुलेर नबताए पनि असन्तुष्ट छन् । ‘कामै गर्न अब समस्या हुने भो, जो गल्ती गरेका छन्, तिनलाई अनेक किसिमको कारबाहीसँगै सरुवा गर्ने व्यवस्था छ । तर सबैलाई एकै तराजुमा राखेर नाप्ने काम गर्नु भएन,’ प्रदेशअन्तर्गतका जिल्लाका एक उच्च प्रहरी अधिकारीले भने ‘कोही पोख्त र दक्ष पनि छन् । कोही गल्ती गरेको छ भने स्वयं जिल्ला प्रहरी प्रमुखले कारबाही गर्न सक्छन् । तर यहाँ यस्तो सरुवाले सबैलाई एकैनासले हेरिएको भन्ने दिमागमा परेको छ । यो कदम परिपक्व छैन, गलत छ ।’

सरुवाले मधेसभरका जिल्लामा अहिले असन्तुष्टि हुनु स्वभाविक भएको मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुँवर बताउँछन् । ‘व्यक्तिगत चिनजानको हिसाबले कोही व्यक्ति असन्तुष्ट होला’ उनले भने, ‘जो जहाँबाट जस्तो क्षमताका सरुवा भएका छन्, त्यस्तै क्षमताका प्रहरी सरुवा भएको ठाउँमा पठाउने प्रक्रियामा छौं ।’

व्यक्तिगत चिनजानमा असर पुर्‍याउने भए पनि काज सरुवाले काम भने व्यवसायिक नै हुने उनको भनाइ छ । ‘सरुवाको उद्देश्य अनुसन्धान प्रभावित पार्ने होइन, व्यवसायिक बनाउने हो’ उनले भनेका छन्, ‘जो एकै ठाउँमा बसेर लामो समयदेखि काम गर्दै स्वार्थसिद्ध पूरा गर्दै आएका छन्, तिनीहरुको बारेमा गुनासो आयो । त्यसैले सरुवा गरेका हौं ।’

कान्तिपुरबाट

सम्बन्धित खबर