२०८१ माघ ६, आइतवार , ०८:३६:५६ बजे

Sajhamanch
'

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत कृति तथा प्रतिभाको नाम सार्वजनिक

बुधवार, माघ ११, २०७९

झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट सम्पन्न गरी आज सार्वजनिक गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई बर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेको हो ।

त्यस्तै विष्णुचन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार कलाकार तथा प्राज्ञ पवन राजवंशीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी टेलिभिजनमा कार्यरत भद्रपुरकी सिर्जना घिमिरेलाई प्रदान गर्ने छनौट समितिको निर्णयलाई अनुमोदन गरेको छ । पुरस्कारको राशी जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिएका छन् ।

यसै वर्षदेखि स्थापना गरिएको फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारबाट दृष्टिबिहिन शिक्षक चन्द्रप्रसाद भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशी नगद ११ हजारसहित सम्मान पत्र रहेको छ ।

उत्कृष्ट कृति तथा प्रतिभा छनौटका लागि कृतितर्फ कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । बिष्णुचन्द्र पद्मा विशेष प्रतिभा पुरस्कारका छनौटका लागि कोषका अध्यक्ष प्रसाई संयोजक रहेको समिति बनेको थियो ।

यस्तै, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार छनौटका लागि लोकराज ढकालको संयोजकत्वमा र फरक क्षमता भएका व्यक्तिका लागि प्रदान गरिने पुरस्कार छनौटका लागि खिलप्रसाद शिवाकोटीको संयोजकत्व गठित समितिले प्रतिभाको नाम सिफरिस गरेको थियो । सोही नामहरुलाई संस्थाको कार्यसमितिले अनुमोदन गरेको हो ।

आगामी फागुन ६ गते विशेष कार्यक्रमको आयोजना प्रतिभाहरुलाई पुरस्कार प्रदान गरिने संस्थाले निणर्य गरेको छ । २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले शुरुमा वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गरेको थियो । दुई दशकको अवधीमा संस्थाले पुरस्कारको विधा र राशी बढाउँदै लगेको पाइएको छ ।

सम्बन्धित खबर