२०८१ वैशाख १८, मङ्गलवार , ०७:३०:४४ बजे

Sajhamanch
'

हिमपातले हुम्लाका किसान खुशी

मङ्गलवार, माघ १०, २०७९

काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँका किसान निकै खुशी भएका छन्।हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो।

हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ। जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिकांश ठाउँमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिकां‌श ठाउँमा करिब आधा फिट हिउँ जमेको छ।

हिउँ परेपछि विशेष गरी किसान खुशी भएका छन्। हिउँदे मौसममा तापक्रम माइनसमा जाने भएकाले हिँउदेबालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ।

हिउँदमा विशेष गरी जौँ, गहुँलगायत बाली लगाइन्छ। पानी नआउँदा बाली सुक्न थालेको थियो। अब सहज हुने भएको छ।

अदानचुली गाउँपालिका वडा नम्बर २ का माने बुढाले हिउँ परेकाले अब हिउँदे बालीमा सप्रने बताए।

हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ।

हिउँ नपर्दा भने तापक्रम झन् चिसो थियो। तीन दिनअघि हुम्लाको तापक्रम माइनस १० डिग्रीसमेत पुगेको थियो।

बिहानैदेखि आएको निरन्तरको हिमपातले पशुचौपायाहरू गोठभित्रै बाँधिएका छन्। सोलारबाट सञ्चालित सम्पूर्ण सेवा अवरुद्ध भएका छन्।

हुम्लामा रहेका सामुदायिक रेडियो बन्द रहेका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि अत्यधिक चिसोका कारण प्रायः बन्द देखिएका छन्।

मङ्गलवार, माघ १०, २०७९ | फोटो, समाज

सम्बन्धित खबर