२०८१ भदौ ३१, सोमवार , १२:४५:३५ बजे

Sajhamanch
'

यती एयर दुर्घटनाः ६२ वटा शव प्राप्त, दुर्घटनाको कारण रहस्यमय

आइतवार, माघ १, २०७९

पोखरा । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए । विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् ।

‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन ।’

पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ ।

विमान कसरी दुर्घटनामा पर्‍यो भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको ठाकुरले जानकारी दिए । ‘कसरी दुर्घटना भयो भन्नेमा हामी पनि अच्चम्मित छौं’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ठाकुरले भने, ‘अब अनुसन्धानबाटै विमान दुर्घटनाको कारण खुल्ला ।’

विमान दुर्घटनास्थलबाट अहिले दिउँसो ४ बजेसम्ममा ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटना स्थलबाट ६२ वटा शव निकालिएको हो ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् । उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो । २९ जनाको शव अस्पतालमा लगिएको छ । खोंचमा आगो बलिरहेको र धुवाँ आइरहेका कारण उद्दारमा कठिनाई भइरहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

अनलाइनखबरबाट

सम्बन्धित खबर