२०८१ माघ ३, बिहिवार , ०४:३६:१४ बजे

Sajhamanch
'

प्याब्सन झापाको कार्यक्रममा चलचित्र नायक राजेश हमालको प्रवचन

मङ्गलवार, पौष २६, २०७९

भद्रपुर । प्याब्सन दिवसको अवसरमा झापा प्याब्सनले भद्रपुरमा सञ्चालन गरेको जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

पुष २४ र २५ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यबीच प्रतिष्पर्धा गर्दै नेपाली चलचित्रका नायक राजेश हमालको विशेष प्रस्तुतिसहित साँस्कृतिक कार्यक्रम सम्पन्न भएकोे हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायक हमालले प्रजातन्त्रको पुनःस्थापनपछि नेपालको शिक्षाले उन्नतशील हुने अवसर पाएको र यस्तो वातावरणका लागि निजी लगानीमा सञ्चालित विद्यालयहरूको योगदान अविस्मरणीय रहेको बताए ।

उनले नेपालको समृद्धिका लागि शिक्षा नै पहिलो आधार रहेको तर्क गर्दै सरकारी र निजी भन्दै शिक्षालाई विभाजन गर्नु विकासमा बाधा सिर्जना गर्न खोज्ने अवस्था भएको जिकिर गरे ।

हमालले सरकारले समान शिक्षाको वातावरण तयार पारेर जीवन उपयोगी सीपमा आधारित शिक्षाको अवसर प्रदान गर्न संस्थागत विद्यालय र सामुदायिक विद्यालयलाई समान अवसर प्रदान गर्नसके संसारमा प्रतिष्पर्धा गर्नसक्ने शिक्षा नेपालमा पाउने जनाएका छन् ।

उनले आफ्नो बाल्यकाल सम्झँदै नेपालमा राणा शासनमा शिक्षामा बन्देज गरिएकै कारण प्रजातन्त्रको स्थापनापछि फाट्टफुट्ट खुलेका विद्यालयबाट सुरू भएको नेपाली शिक्षा ३० वर्षे पञ्चायती व्यवस्थामा प्रतिष्पर्धी बन्न नसकेकै कारण आफूले अहिलेको जस्तो बहुप्रतिभाशाली शिक्षाको अवसर नपाएको भनाई राखेका थिए ।

निजीस्तरका शिक्षालय ज्यादै कम भएकै कारण आफ्नो बाल्यकालमा प्रतिष्पर्धी शिक्षाको अवसर नआएको भन्दै वर्तमान समयमा संस्थागत विद्यालयका कारण सरकारी तथा निजी दुवै शिक्षालय प्रतिष्पर्धामा जाँदा विद्यार्थीहरूका लागि सुनौलो अवसर प्राप्त भएकोले सदुपयोग गर्न सबै विद्यार्थीलाई हमालले अनुरोध पनि गरेका छन् ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्याब्सन नेपालका सल्लाहकार गोविन्द लम्साल लगायतले धारणा राख्दै नेपालको गुणस्तरीय शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदान अविस्मरणीय रहेको बताए ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

सम्बन्धित खबर