२०८१ असोज १, मङ्गलवार , ०१:४१:५४ बजे

Sajhamanch
'

प्याब्सन दिवसमा जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम भद्रपुरमा गरिँदै

मङ्गलवार, पौष १९, २०७९

भद्रपुर । ३२औ प्याब्सन दिवसको सन्दर्भमा प्याब्सन झापाले भद्रपुरमा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ ।

यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यहरु बीच प्रतिष्पर्धा हुने गरी साँकृतिक कार्यक्रम सम्पन्न गरिने भएको हो ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीका अनुसार प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ प्रतिष्पर्धी बीच प्रतियोगिता हुनेछ । जसमा गायन तर्फ १२ वर्षमुनि, कक्षा १० सम्मका र कक्षा १२ सम्मका उत्कृष्ट प्रतिपर्धी बीच जिल्ला उत्कृष्टका लागि प्रतियोगिता गरिाइनेछ । नृत्यतर्फ आधुनिक, राष्ट्रिय र जातीय पहिचानसहितका साँस्कृतिक नृत्यहरूको विषयगत प्रतिष्पर्धा हुने कार्कीले जानकारी दिएका छन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले एउटा विद्यालयले प्रतियोगितामा भाग लिन एक लाखदेखि एक लाख ५० हजारसम्म लगानी गरेर पालिकामा उत्कृष्ट हुँदै जिल्लामा प्रतिष्पर्धामा आउने जानकारी दिए । उनका अनुसार वि सं २०६४ सालदेखि झापा प्याब्सनले आयोजना गर्दै आएको यो प्रतियोगिता झापा सदरमुकामसमेत रहेको भद्रपुरमा पहिलो पटक आयोजना हुन लागेको हो ।

कार्यक्रमको तयारी बारे जानकारी दिँदै भद्रपुर प्याब्सनका सचिव सन्देश राईले भव्यरूपमा कार्यक्रम सम्पन्न गर्न ५ हजार क्षमताको पण्डाल निर्माण गरी सुविधा सम्पन्न स्टेज तयार रहेको जानकारी दिए । उनले कार्यक्रम सफल बनाउन पौष २४ र २५ गते भद्रपुर नगर क्षेत्रका २९ वटै विद्यालयका विद्यार्थी र अभिभावकको उल्लेखनीय सहभागिताका लागि विद्यालय जिम्मेवार भएर लाग्ने वातावरण बनाउने पनि सुनाएका छन् ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, भद्रपुर सल्लाहकार राजेन्द्रकुमार घिमिरे लगायतले धारणा राख्दै निजी विद्यालयले किताबी ज्ञानसहित अतिरिक्त ज्ञानका कार्यक्रम गरिरहेको देखिएको छ । विद्यार्थीमा राष्ट्रवादी भावना विकास गर्न साँस्कृतिक कार्यक्रम फलदायी हुने उनीहरुले विश्वास राखेका थिए ।

सम्बन्धित खबर