२०८१ असोज ३, बिहिवार , ०८:४४:४१ बजे

Sajhamanch
'

चुलाचुलीका कृषकलाई व्यवसायिक पशुपाल तालिम

बुधवार, पौष १३, २०७९

चुलाचुली । घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना तथा चुलाचुली गाउँपालिका वडा नम्बर ५ को संयोजनमा यहाँ व्यवसायिक पशुपालन सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ ।

“उद्योग र पूर्वाधारः समृद्धिको आधार” भन्ने नाराका साथ पुस ११ गतेबाट वडा कार्यालयको सभाहलमा सो तालिम सुरु भएको हो । तालिममा उक्त वडामा व्यवसायिक रुपमा पशुपालन गर्दै आएका २६ जना कृषक सहभागी छन् । तालिमको सहजीकरण पशु स्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले गरिरहेका छन् ।

तालिमको उद्घाटन गर्दै वडाध्यक्ष बविन राईले भने ‘चुलाचुलीको वडा नम्बर ५ को भूगोल पशुपालनका लागि उपयुक्त छ । यहाँका अधिकांश कृषक पशुपालनमा संलग्न भएकोले यस्तो तालिमको आयोजना गरिएको हो । तालिमामा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यसायिक रुपमा अगाडि बड्नु वडाबासीको निम्ति हितकर हुन्छ ।’

सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख एकनाथ दाहालले भने, ‘भौतिक पूर्वाधारमा भएको विकासजस्तो तालिमको उपलब्धी तुरन्तै देखिँदैन । तालिम भनेको सफ्टवेयरजस्तो हो, यसको उपलब्धी बिस्तारै देखिने भएकोले तालिका सहभागीहरुले ध्यानपूर्वक सिकेर त्यसलाई व्यवहारिक बनाउनु पर्नेछ ।’

घरेलु तथा साना उद्योग कार्यालय इलामका कर्मचारी निरज राईले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा सहभागी र अतिथिलाई कार्यलय कै अर्का कर्मचारी किरण कार्कीले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर